सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

कुतियाकवरका बासिन्दालाई सधैँ बाढीको त्रास : 'सीमाका रक्षक भयौँ तर वास्ता कहीँबाट भएन'

आइतबार, साउन ३ २०८३
कुतियाकवरका बासिन्दालाई सधैँ बाढीको त्रास : 'सीमाका रक्षक भयौँ तर वास्ता कहीँबाट भएन'

महेन्द्रनगर- खड्के बुढा दोधाराचादँनी नगरपालिका-१० कुतियाकवरमा बस्न थालेको २०२४ सालदेखि हो। भारतसँग सिमाना जोडिएको कुतियाकवर गाउँका तत्कालीन समयमा १०० भन्दा बढी परिवार बस्थे। तर अहिले ३२ वटा परिवारमात्रै गाउँमा छन्।

भौगोलिकरुपले जिल्लाकै विकट बस्तीमा पर्ने कुतियाकवरमा स्थानीयले लामो समयदेखि बाढी, कटानको समस्या खेप्दै आउनुपरेको बुढाको भनाइ छ। 'विसं २०२४ मा बस्ती बस्दा रहरले भन्दा पनि सीमाको हेरचाह गर्ने मनसायले बसेको थियो, विगतको अन्धकारबाट उज्यालोतर्फ आए पनि बस्तीमा बाढी र कटानको त्रास ठूलो छ, यसै कारणले यहाँबाट बसाइँ सर्नेको सङ्ख्या बढ्दो छ', उनले भने।

कञ्चनपुरको महाकाली नदी र जोगबुढा नदीको दोसाधा नजिकै पर्ने उक्त बस्तीमा हरेक वर्ष बर्सातका बेला नदी कटानले प्रताडित हुने गरेको बुढाको भनाइ छ। 'दुई नदीको दोसाँधमा ५०/६० मिटर तटबन्ध बनाएर बस्ती जोगाउनुपर्ने थियो', उनले भने, 'दुई साताअघि आएको बाढीले आठ वटा जाली भत्काउनुका साथै दुई स्पर बगाएर क्षति गरे पनि गाउँलेले श्रमदानबाट अस्थायी तटबन्ध बनाएका छौँ।'

विसं २०७५ अघिसम्म कुतियाकवरवासी बस्ती आवातजावत गर्ने जोगबुढा नदीमा डुंगाको सहारा लिन्थे। आठ वर्षअघि जोगबुढा नदीमा झोलुंगे पुल बनेपछि डुंगा विस्थापित भयो। 'डुंगाको कठिन यात्राबाट झोलुंगे पुल बनेपछि सहज भयो, गाउँमा बिजुली बत्तीलगायतका विकास पनि भयो', उनले भने, 'तर विसं २०३९ यता बाढी र कटानको त्रासदीबाट मुक्त हुन सकेनौँ।'

कुतियाकवर विपद् व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर सुनारका अनुसार बस्तीमा बाढीका बेला उद्धारका लागि नेपाली सेना र दातृ निकायले गरी दुईवटा सेफ हाउस निर्माण गरेका छन्।

'दुई नदीले यहाँ सयौँ बिघा जमिन काटिसक्यो, अनुगमनका लागि नेतादेखि प्रशासक आउँछन्', उनले भने, 'हामी सुख र रहरले सीमामा बसेका होइनौँ, बस्तीसँगै माटो जोगाउन बसेका हौँ। सीमाका रक्षक भयौँ तर वास्ता कहीँबाट भएन।'

पछिल्लो समय जंगली जनावर र छाडा पशुचौपायाले गाउँमा निकै नोक्सानी पुर्‍याइरहेको सुनारको भनाइ छ। 'तटबन्ध निर्माणको काम अझै ३५/४० मिटरमा बाँकी छ', उनले भने, 'भारतले दशगजा क्षेत्रबाट आफ्नोतर्फ अहिले पनि तटबन्ध बनाएर कटान जोगाउने काम गरिरहेको छ।'

दोधाराचादँनी नगरपालिका-१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले उक्त क्षेत्रमा ७०० मिटर तटबन्ध बनिसकेको बताए। 'बस्तीको पानीको निकास नहुँदा ३० मिटर तटबन्ध भत्किएको थियो, अहिले सबैको सहयोगले अस्थायी रुपमा तटबन्ध जोगाउने गरी काम गरिएको छ', उनले भने।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, महेन्द्रनगरका प्रमुख राजनराज भट्टराईले कुतियाकवरको पानी निकासको काम गरिने बताए। रासस


प्रकाशित : आइतबार, साउन ३ २०८३१६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend