काठमाडौं- नेपाल पत्रकार महासंघ ले विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटमै शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध तथा आतंक सिर्जना गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ती जारी गर्दै छानविनको माग गरेका हुन्।
महासंघले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालयको मूल गेटमै सवारीसाधन पार्किङ गरिएको पाइएको छ। यसका कारण पत्रकार तथा कर्मचारीको आवतजावतमा समस्या सिर्जना भएको महासंघले जनाएको छ।
महासंघले उक्त घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न तथा अवरोध तत्काल हटाउन सम्बन्धित निकायसँग माग गरेको छ।
साथै घटनाको तत्काल छानबिन गरी संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गर्न पनि महासंघले सरकार तथा सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ।
महासंघका अनुसार अवरोध हटाउन सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको छ।