काठमाडौं- चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल आएको छ। चीनमा ‘उच्च सम्मान र मायालु’ कार ब्रान्डका रुपमा स्थापित भएको उक्त ब्रान्ड नेपाल आएको हो।
नेपाली बजारमा विद्युतीय सवारीको माग तथा बिक्री उल्लेख्य रुपमा बढ्दै गएसँगै नयाँ ब्रान्ड आउने क्रममा अर्को उत्कृष्ट ब्रान्ड आएको हो। चिनियाँ भाषामा हङसीको शाब्दिक अर्थ रातो झण्डा भन्ने हुन्छ। चिनियाँ राष्ट्रपतिले चढ्ने कार ब्रान्ड हङसी ब्रान्डका विद्युतीय एसयूभी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा औपचारिक रुपमा आउने र प्रदर्शनीमा राखिने छ।
चिनियाँ सवारी उत्पादक कम्पनी एफएडब्लू ग्रुपअन्तर्गतको लक्जरी कार ब्रान्ड हङसी एडभान्स्ड अटोमोबाइल प्रालिले नेपाल ल्याएको हो। सरकारी स्वामित्वमा रहेको एफएडब्लू ग्रुपले ठूला कमर्सियल सवारी उत्पादन गर्दै आएको छ भने हङसी ब्रान्डमार्फत प्रिमियम कार उत्पादन हुँदै आएको छ।
एडभान्स्ड अटोमोबाइलले केही समयअघि हङसी ब्रान्डसँग आधिकारिक बिक्रेताको सम्झौता गरेको थियो। सम्झौतासँगै एडभान्स्ड अटोमोबाइलले नाइमामा राख्नका लागि हङसीका विद्युतीय कार आयात प्रक्रियासमेत सुरु गरिसकेको छ।
एडभान्स्ड अटोमोबाइलले हङसीका विद्युतीय एसयूभी नेपाली बजारमा ल्याउने छ। हङसीले आईसी इन्जिन, हाइब्रिड र बीईभीगरी तीनवटै पावर ट्रेनका कार उत्पादन गर्दै आएको छ। एडमान्स्ड अटोमोबाइलले यसअघि फ्रेन्च ब्रान्ड रेनोका सवारी भित्र्याएर बिक्री गर्दै आएको छ।
कम्पनीले सुरुवाती चरणमा हङसी ब्रान्डका एक वा दुई मोडलका विद्युतीय कार ल्याउने तयारी गरेको छ। हङसीको विद्युतीय एसयूभीमा कुन क्षमताको ब्याट्री र मोटरमा आउने भन्ने कुरा खुलेको छैन। नेपाल आउने हङसीको विद्युतीय एसयूभीको मूल्य भने ६० देखि ६५ लाख रुपैयाँबाट सुरु हुने अनुमान गरिएको छ।
हङसी ब्रान्डअन्तर्गत ४ वटा विद्युतीय सवारी मोडल उपलब्ध रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ। जसअनुसार ई एचएस ९ एसयूभी, ई क्यूएम ५ र ईएच७ सेडान तथा ई एचएस ७ एसयूभी रहेको छ। यी मध्य सुरुमा ई एचएस ९ र ई एचएस ४ मोडल नेपाल आउने भएका छन्।
हङसी ब्रान्डबारे : ‘कम्युनिष्ट विरासत’देखि ग्लोबल ईभी बजारसम्म
कुनै समय केवल चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता र विदेशी राष्ट्रप्रमुखको स्वागतमा मात्र सिमित रहने हङसी कार आज विश्वकै तीव्र गतिमा विस्तारित लक्जरी र इलेक्ट्रिक सवारी ब्रान्डमध्ये एक बनेको छ। चिनियाँ भाषामा रातो झण्डा अर्थ लाग्ने यो ब्रान्डले आफ्नो ६ दशक लामो इतिहासमा राजनीतिक शक्तिको प्रतीकदेखि व्यावसायिक बजारको नेतृत्वसम्मको यात्रा तय गरेको छ।
हङसीको स्थापना १ अगस्ट १९५८ मा चीनको पहिलो अटोमोबाइल उत्पादक कम्पनी (एफएडब्लू)द्वारा भएको हो। यसलाई चीनको सबैभन्दा पुरानो कार ब्रान्ड मध्यको एक मानिन्छ।
तत्कालिन चिनियाँ नेता माओत्सेतुङले चीनको आफ्नै अन्तर्राष्ट्रिय स्तरको लक्जरी कार हुनुपर्ने इच्छा व्यक्त गरेपछि यसको निर्माण सुरु भएको थियो। यसको पहिलो मोडेल ‘हङसी सीए७२’ थियो। यसको अगाडिको ग्रिल चिनियाँ परम्परागत हाते पंखाको बुट्टाबाट प्रेरित छ, त्यो हङसीको मुख्य पहिचान हो।
सन् १९६० र ७० को दशकमा यो गाडी विशिष्ट चिनियाँ अधिकारी र चीन भ्रमणमा आउने उच्च विदेशी अधिकारीहरु आउँदा प्रयोग हुने गरेको थियो। हङसी पूर्ण रूपमा चिनियाँ सरकारको स्वामित्व मा रहेको ब्रान्ड हो। यसको व्यवस्थापन रणनीतिलगायत बनाउने काम चीनको सरकारी स्वामित्वको अटोमोटिभ जायन्ट एफएडब्लू ग्रुपले गर्दै आएको छ। हङसीको सम्पूर्ण अनुसन्धान र विकास (आरएन्डडी) तथा प्रविधिमा एफएडब्लूले सिधै लगानी गर्छ।
सन् २०१८ भन्दा अघिसम्म हङसी मुख्य रूपमा सरकारी खरिदमा बढी निर्भर थियो। यसपछि भने कम्पनीले नयाँ हङसी रणनीति ल्याएपछि व्यावसायिक र निजी ग्राहकहरूलाई पनि गाडी सहज रुपमा बिक्री गर्दै आएको छ। २०२५ को तथ्यांक अनुसार हङसीले घरेलु र विश्व बजारमा ४ लाख ६० हजार वटाभन्दा बढी कार बिक्री गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा ११.७ प्रतिशतको वृद्धि हो।
आईसी इन्जिन कार बनाउँदै आएको हङसीले केही वर्षयता विद्युतीय कार उत्पादनमा केन्द्रित हुन थालेको छ। गत वर्षको हङसीको कुल बिक्रीमध्ये करिब १ लाख ४९ हजार कार न्यु इनर्जी भेहिकल रहेका छन्।
चीनको प्रिमियम र लक्जरी सेगमेन्टमा हङसीले जर्मन स्थापित ब्रान्डहरू बीएमडब्लू, मर्सिडिजलगायतसँग कडा प्रतिस्पर्धा गरिरहेको छ। सरकारी र कर्पाेरेट क्षेत्रमा भने हङसीको बजार हिस्सा निकै बलियो छ।
हङसीले आफ्ना कार चीनमा मात्र सीमित नराखेर विश्वव्यापी रूपमा प्रिमियम र विशेष गरी ‘लक्जरी इलेक्ट्रिक ब्रान्ड’का रूपमा स्थापित गरिरहेको छ। हालसम्म यो ब्रान्ड युरोप, मध्यपूर्व र दक्षिणपूर्वी एसियाका प्रमुख बजारहरूमा बलियो रूपमा निर्यात भइरहेको छ। हङसीले नर्वे, नेदरल्याण्ड्स, बेल्जियम र पोल्याण्डजस्ता देशहरूबाट युरोपमा आफ्नो यात्रा सुरु गरेको थियो।
हङसीको फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी हङसी ई एचएस९ युरोपमा निकै लोकप्रिय छ। यो कारलाई रोल्स रोयस जस्तै देखिने लुक्सका कारण ‘चिनियाँ रोल्स रोयस’ पनि भनिदै आएको छ।
सन् २०२८ सम्ममा युरोपका २५ वटा देशमा १५ वटा नयाँ इलेक्ट्रिक र हाइब्रिड मोडेलहरू सार्वजनिक गर्ने र २०० भन्दा बढी डिलर नेटवर्क बनाउने योजना अनुसार काम गरिरहेको जनाएको छ।