काठमाडौं- गएको भदौ २३ र २४ गते भएको जेनजीको विद्रोह र लामो समयदेखि पश्चिम एसियामा चलिरहेको द्वन्द्वका कारण नेपालबाट वैदेशिक रोजगारीका जाने युवाको संख्यामा कमी आएको छ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालबाट वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृती लिने कामदारको संख्या ७ लाख ९२ हजार १ सय ८७ रहेको छ। यो संख्या आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ५.६ प्रतिशतले कम हो। आर्थिक वर्ष २०८१/०८२ मा नेपालबाट वैदेशिक रोजगारीका जाने कामदारको संख्या ८ लाख ३९ हजार २ सय ६६ थियो।
२०८१/०८२ मा नै एकै वर्षमा सबैभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि गएका थिए। विभागका अनुसार आर्थिक वर्ष २०८१/०८२ तुलनामा गत आवमा उक्त संख्या ४७ हजार ७९ जनाले कम हो।
विभागका अनुसार गत आवमा वैदेशिक रोजगारीका जाने युवामध्ये महिला कामदारको संख्या ९५ हजार ९१ रहेको छ भने पुरुषको संख्या ६ लाख ९७ हजार ९६ रहेको छ।
विभागका अनुसार नयाँ कामका लागि म्यानपावरमार्फत जाने कामदारभन्दा बिदामा नेपाल आइ पुन: रोजगारीकै लागि फर्कने युवाको संख्या कम छ। म्यानपावरमार्फत नयाँ कामका लागि जाने युवाको संख्या २ लाख ६८ हजार ९ सय ९० रहेको छ भने बिदामा नेपाल आइ पुन: फर्कनेको संख्या ३ लाख ८५ हजार ७ सय ८३ रहेको छ।
विभागका अनुसार जीटूजी मार्फत रोजगारीका लागि जाने कामदारको संख्या ८ हजार १ सय ९७ जना रहेको छ भने व्यक्तिगत नयाँ भिसामा जाने कामदारको संख्या १ लाख २८ हजार ५ सय २० रहेको छ। यसैगरी विभिन्न माध्यमबाट रोजगारीका लागि विदेश पुगेर वैधानीकरण गर्ने कामदारको संख्या ६ सय ९७ रहेको छ।
पहिलो गन्तव्य बन्यो यूएई
गत आवमा सबैभन्दा बढी कामदार यूएई गएका छन्। विभागका अनुसार यूएई रोजगारीका लागि जाने कामदारको संख्या १ लाख ८३ हजार ५ सय ८० रहेको छ।
दोस्रो बढी कामदार जाने देश मलेसिया रहेको छ। मलेसियाको रोजगारीमा जाने कामदारको संख्या १ लाख ३२ हजार ६ सय ४६ रहेको छ। यसैगरी तेस्रो बढी कामदार जाने देश कतार रहेको छ।
कतारको रोजगारीका जाने कामदारको संख्या १ लाख ३२ हजार ५१ रहेको छ भने साउदी अरब जाने कामदारको संख्या १ लाख २४ हजार ५ सय ८३ रहेको छ।
विभागका अनुसार कुवेतको रोजगारीका जाने कामदारको संख्या ४३ हजार ३ सय ६० जना रहेको छ।
सबैभन्दा बढी कामदार धनुषाबाट
विभागका अनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी कामदार धनुषाका रहेका छन्। एक वर्षमा धनुषाका ३८ हजार ५ सय ५३ जना वैदेशिक रोजगारीमा गएका छन्।
यसैगरी झापाका ३५ हजार १ सय २४, मोरङका ३१ हजार ९ सय ९० जना रहेका छन्। सिराहका ३० हजार २ सय ११ जना रहेका छन्। महोत्तरीका २८ हजार २ सय २९ र रुपन्देहीका २३ हजार ३ सय ९१ जना रहेका छन्।

.jpeg)