शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

शनिबार, साउन २ २०८३
प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

पहिले यहाँ सातवटा छुट्टाछुट्टै तालहरू थिए, जसलाई अहिले मिलाएर एउटै विशाल तालको स्वरूप दिइएको छ।

दाङ- तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभाव हुँदा यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन नसकेको हो।

तुलसीपुर बजारबाट दक्षिणतर्फ नजिकैको दूरीमा रहे पनि उचित प्रचारप्रसार र प्रवर्द्धनको अभावले गर्दा यो स्थल ओझेलमा परेको स्थानीय बताउँछन्। करिब आठ बिघा क्षेत्रफलमा फैलिएको यो तालको आफ्नै ऐतिहासिक विशेषता छ। पहिले यहाँ सातवटा छुट्टाछुट्टै तालहरू थिए, जसलाई अहिले मिलाएर एउटै विशाल तालको स्वरूप दिइएको छ।

तालको बीच भागमा करिब एक करोड रूपैयाँको लागतमा एउटा शिवमन्दिर निर्माण गरिएको छ। उक्त मन्दिरमा शिव, गणेश, सूर्य, देवी र विष्णु गरी पाँचवटा मूर्तिहरू स्थापना गरिएका छन्।

आकर्षण तालको बीचमा रहेको मन्दिरसम्म पुग्नका लागि करिब ४५ मिटर लामो पुल निर्माण गरिएको स्थानीय रमेश बुढाथोकीले बताए। वर्षायामको पानी संकलन हुने यस तालमा वर्षैभरि पानी रहिरहने र यहाँ व्यावसायिक रूपमा माछापालनसमेत गर्ने गरिएको उनको भनाइ छ।

स्थानीय बुढाथोकीका अनुसार यो बाटो भएर हिँड्ने यात्रुले फाट्टफुट्ट तस्बिर खिच्ने गरे पनि तालकै अवलोकनका लागि आउनेको सङ्ख्या भने कम छ। सडक सञ्जालको सहज पहुँच र बजारबाट नजिकै रहेकाले यस ताललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना रहेको उनले बताए। दुर्गम क्षेत्रका साना पोखरीहरू समेत पर्यटकीय केन्द्र बनिरहेको अवस्थामा, बजार नजिकैको यति ठूलो ताल भने उपेक्षित हुनु दुःखद रहेको स्थानीय बताउँछन्।

यो ताललाई व्यवस्थित गरी उचित प्रचारप्रसार गर्न सके दाङ जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय उत्तम चौधरीले बताए।

उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउनेतर्फ पहल थालिएको तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले बताए। उनले यहाँ थप भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध पहल थालिएको भन्दै सोही अनुरुप बजेटको व्यवस्था गरिने उनले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, साउन २ २०८३१७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend