चितवन- चितवनमा रोप्नका लागि तयार भएको धानको बीउमा मरुवा (व्लाष्ट) रोगको समस्या देखिएको छ।
भरतपुर महानगरपालिका क्षेत्रमा रोप्नका लागि तयार भएको बीउको ब्याडमा मरुवाको समस्या देखिएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको हो।
कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार भरतपुर महानगरपालिका-२७ र २८ मा रोप्नका लागि तयार भएको धानको ब्याडमा मरुवाको समस्या देखिन थालेको हो। उनले बिरुवाका पातमा साना खैरो, कालो दागजस्तो देखिएको बताए।
सूचना अधिकारी पौडेलले भने, 'यो रोग बढ्दै जाँदा ठूला काला थोप्ला, बीचमा सेतो आकार भएको डुङ्गा आकृतिका दागहरू प्रष्ट देख्न सकिन्छ। यसले बाली उत्पादनमा १० देखि २० प्रतिशतसम्म क्षति गर्नसक्ने जोखिम निम्त्याउँछ।'
उनका अनुसार यो रोग बीउ, सङ्क्रमित पानी, परालका ठूटा तथा झारपातबाट सर्ने गर्दछ। सङ्क्रमण न्यूनीकरणका लागि ओसिलो, न्यानो र २१ डिग्री सेल्सियस तापक्रमको अवस्था उत्तम वातावरण हुने जनाउँदै पौडेलले रोग देखिएका ब्याडका बीउको उपचार नगरी रोप्न नहुने बताए।
यसको सङ्क्रमण रोक्नका लागि निरोगी बीउको प्रयोग गर्ने, रोगबाट ग्रसित भएको खेतबाट बीउ छनोट नगर्ने, खेतबारी, आली तथा वरिपरि रहेका अन्नबाली जातको झारपात हटाइ खेतलाई सफा राख्नुपर्ने पौडेलले सुझाव दिए।
बीउ राख्दा सम्भव भएसम्म हिले ब्याडमा राख्ने र धानखेतीमा पानी जमाइराख्ने गर्नुपर्ने उनले बताए। रासस