मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

शंकर समूहका १३ कम्पनीको क्रेडिट रेटिङबाट १० दिनमै हट्यो ‘नेगेटिभ वाच’, यस्तो छ कारण

मंगलबार, असार १६ २०८३
शंकर समूहका १३ कम्पनीको क्रेडिट रेटिङबाट १० दिनमै हट्यो ‘नेगेटिभ वाच’, यस्तो छ कारण

अदालतमा विचाराधीन मुद्दाको प्रगति, व्यवस्थापनमा हुन सक्ने परिवर्तन, वित्तीय प्रदर्शन तथा व्यवसाय सञ्चालनको अवस्थालाई निरन्तर अनुगमन गरिनेछ र आवश्यक परे भविष्यमा रेटिङमा पुनः समीक्षा गरिनेछ।

काठमाडौं- शंकर समूहसँग सम्बद्ध १३ कम्पनीको क्रेडिट रेटिङबाट ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’ (नेगेटिभ वाच) हटेको छ।

समूहका प्रमुख प्रवर्द्धक तथा सञ्चालकमाथि धितोपत्र, बैंकिङ, बीमा तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि गत जुन महिनामा १८ कम्पनीलाई ‘नेगेटिभ वाच’मा राखिएको थियो। तर उक्त निर्णय गरेको करिब १० दिनमै रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले अधिकांश कम्पनीलाई निगरानी सूचीबाट हटाएको हो।

इन्फोमेरिक्सले सार्वजनिक गरेको अद्यावधिकअनुसार नेगेटिभ वाचमा राखिएका १८ कम्पनीमध्ये १३ कम्पनीलाई सूचीबाट हटाइएको छ। हटाइएका कम्पनीमा जगदम्बा स्टिल्स, जगदम्बा मोटर्स, जगदम्बा अटो ग्रुप, जगदम्बा मोबाइल्स, जगदम्बा हायर पर्चेज, जगदम्बा हस्पिटालिटी, टेलिटक, टेली डाइरेक्ट, लिट्मस इन्डस्ट्रिज, रिद्धि सिमेन्ट इन्डस्ट्रिज, गणपति वनस्पति, रामजानकी हाइड्रोपावर तथा हुलास फिनसर्भ हायर पर्चेज रहेका छन्।

गत जेठ २८ गते सरकारी वकिल कार्यालयले धितोपत्र, बैंकिङ, बीमा तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विभिन्न व्यावसायिक घरानासँग सम्बन्धित व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालत, पाटन उच्च अदालत र विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ती मुद्दामा कुल १६७ जनालाई प्रतिवादी बनाइएको छ। धितोपत्रसम्बन्धी कसुरमा ८१ जना, बीमा कसुरमा ४२ जना, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ३९ जना तथा बैंकिङ कसुरमा पाँच जना प्रतिवादी छन्।

यही मुद्दामा शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल, जगदम्बा समूहका अध्यक्ष साहिल अग्रवाललगायतविरुद्ध पनि अभियोजन दर्ता भएपछि इन्फोमेरिक्सले उनीहरूको लगानी रहेका कम्पनीको रेटिङलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’मा राखेको थियो। थुनछेक बहसपछि सुलभ अग्रवाल र दीपक भट्ट पुर्पक्षका लागि कारागार चलान भएका छन् भने अन्य प्रतिवादीको मुद्दा अदालतमा विचाराधीन छ।

एजेन्सीका अनुसार कम्पनीका प्रमुख प्रवर्द्धक वा सञ्चालकमाथि गम्भीर वित्तीय प्रकृतिका आरोप लागेर अनुसन्धान तथा अभियोजन अघि बढ्दा त्यसले कम्पनीको प्रतिष्ठा, व्यवस्थापकीय निरन्तरता, सञ्चालन क्षमता, वित्तीय अवस्था तथा ऋण भुक्तानी क्षमतामा पर्न सक्ने प्रभावबारे अनिश्चितता सिर्जना हुने भएकाले रेटिङलाई ‘नेगेटिभ वाच’मा राखिएको थियो। यस्तो व्यवस्था तत्काल रेटिङ घटाइएको भन्ने नभई भविष्यमा रेटिङ परिवर्तन हुन सक्ने सम्भावनालाई संकेत गर्ने निगरानी प्रणाली हो।

इन्फोमेरिक्सले पछिल्लो निर्णयमा भने कम्पनीहरूबाट प्राप्त थप विवरण, व्यवस्थापनको निरन्तरता, व्यवसाय सञ्चालनको अवस्था तथा प्रारम्भिक मूल्यांकनका आधारमा तत्काल रेटिङमा नकारात्मक परिवर्तन आवश्यक नदेखिएकाले १३ कम्पनीलाई ‘नेगेटिभ वाच’बाट हटाइएको जनाएको छ। एजेन्सीले कानूनी प्रक्रिया जारी रहे पनि कम्पनीहरूको सञ्चालन तथा वित्तीय अवस्थाको पुनः समीक्षा गर्दा तत्काल जोखिमको स्तर पहिले अनुमान गरिएजस्तो नरहेको निष्कर्ष निकालेको देखिन्छ।

यसअघि नेगेटिभ वाचमा परेका १८ कम्पनीमध्ये १५ कम्पनीले करिब १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको ऋण सुविधाका लागि क्रेडिट रेटिङ प्राप्त गरेका थिए भने बाँकी तीन कम्पनीको इस्युअर रेटिङलाई पनि ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’मा राखिएको थियो। सबैभन्दा ठूलो ऋण सुविधा भएको जगदम्बा स्टिल्सको ३३ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको बैंकिङ सुविधा निगरानीमा परेको थियो।

त्यसपछि शौर्य सिमेन्ट इन्डस्ट्रिजको १४ अर्ब ८७ करोड रुपैयाँ, रिद्धि सिमेन्ट इन्डस्ट्रिजको ११ अर्ब ९३ करोड रुपैयाँ, लिट्मस इन्डस्ट्रिजको ८ अर्ब ६७ करोड रुपैयाँ, गणपति वनस्पतिको ६ अर्ब ४८ करोड रुपैयाँ, जगदम्बा मोटर्सको ५ अर्ब ९८ करोड रुपैयाँ, जगदम्बा हस्पिटालिटीको ५ अर्ब ३० करोड रुपैयाँ र रामजानकी हाइड्रोपावरको ५ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋण सुविधा पनि निगरानी सूचीमा परेको थियो।

इन्फोमेरिक्सले ‘नेगेटिभ वाच’ हटाउनुको अर्थ सम्बन्धित कम्पनीमाथिको कानूनी विवाद समाप्त भएको वा प्रवर्द्धकमाथिका मुद्दा टुंगिएको भन्ने नभएको स्पष्ट पारेको छ। एजेन्सीका अनुसार अदालतमा विचाराधीन मुद्दाको प्रगति, व्यवस्थापनमा हुन सक्ने परिवर्तन, वित्तीय प्रदर्शन तथा व्यवसाय सञ्चालनको अवस्थालाई निरन्तर अनुगमन गरिनेछ र आवश्यक परे भविष्यमा रेटिङमा पुनः समीक्षा गरिनेछ।

वित्तीय अनियमितता मुद्दाको प्रभाव : शंकर समूहसँग जोडिएका १८ कम्पनीको १ खर्बभन्दा बढी ऋण निगरानीमा वित्तीय अनियमितता मुद्दाको प्रभाव : शंकर समूहसँग जोडिएका १८ कम्पनीको १ खर्बभन्दा बढी ऋण निगरानीमा


प्रकाशित : मंगलबार, असार १६ २०८३१६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend