शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

२५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १९ २०८३
२५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

बैंकले असार १९ गते मध्याह्न सम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत यस ऋणपत्रको बोलकबोल तथा निष्कासन प्रक्रिया अगाडि बढाएको हो।

काठमाडौं- नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले २५ अर्ब रुपैयाँ बराबरको 'नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ग' जारी गर्ने भएको छ। 

बैंकले असार १९ गते अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत यस ऋणपत्रको बोलकबोल तथा निष्कासन प्रक्रिया अगाडि बढाएको हो। जसका लागि मध्याह्न ३ बजे बोलकबोल हुनेछ।

१ वर्षको अवधिको लागि निष्कासन गरिने यो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ भने साँवा भुक्तानी २०८४ असार १९ गते हुने र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने छ। 

बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू अर्थात् काउण्टरपार्टी मात्र सहभागी हुन पाउने छन्। 

इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोल गर्न सक्नेछन्। काउण्टरपार्टीले बोलकबोल गर्दा आफूले चाहेको रकम र ब्याजदर दशमलव पछिको ४ अंकसम्म उल्लेख गर्नुपर्ने र यसलाई बहुब्याजदरमा पनि पेश गर्न सकिने प्रावधान राखिएको छ। यो ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा समेत प्रयोग गर्न सकिने सुविधा रहेको छ।  

ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोल गरिएको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखेर एकल ब्याजदर कायम गरिनेछ र सो दर वा सोभन्दा कम बोल गर्नेहरूलाई मात्र ऋणपत्र बिक्री गरिने छ। यदि समान ब्याजदर भएका बोलवालाहरूको रकम कुल निष्कासित रकमभन्दा बढी हुन गएमा समानुपातिक अर्थात् प्रो-राटा बेसिसमा बाँडफाँट गरिने व्यवस्था छ।

यस आह्वान गरिएको बोल रकममध्ये सम्पूर्ण वा आंशिक रकम स्वीकार वा अस्वीकार गर्ने सम्पूर्ण अधिकार भने खुला बजार कारोबार सञ्चालन समितिमा सुरक्षित रहनेछ। स्वीकृत भएको बोल रकम निष्कासनकै मितिमा सम्बन्धित काउण्टरपार्टीको केन्द्रीय बैंकमा रहेको खाता खर्च गरी जम्मा गरिने छ। 

यदि निष्कासन मितिमा खातामा पर्याप्त मौज्दात नभएमा स्वीकृत बोल रकम रद्द गरी २.५० प्रतिशतका दरले हर्जाना लगाइने र ६ महिनासम्म खुला बजार कारोबार तथा व्याजदर करिडोरका कुनै पनि बोलकबोलमा सहभागी हुन प्रतिबन्ध लगाइने छ। ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियो हुने भएकाले यसलाई अनिवार्य नगद मौज्दात अर्थात् सीआरआरमा गणना गर्न पाइने छैन, तर वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न पाइने छ।  

ऋणपत्रको परिपक्व मिति अगावै यसबापतको रकम फिर्ता नहुने र परिपक्व अवधि पूरा भएपछि निर्धारित ब्याज तथा साँवा रकम बैंकले सम्बन्धित संस्थाको खातामा जम्मा गरिदिनेछ। स्वीकृत बोलपत्रअनुसार ऋणपत्र खरिद गर्ने संस्थाहरूलाई नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि बमोजिमको प्रमाणपत्र प्रदान गरिनेछ र परिपक्व मितिमा भुक्तानी भएपछि उक्त प्रमाणपत्र स्वतः रद्द हुनेछ। 


प्रकाशित : शुक्रबार, असार १९ २०८३११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend