काठमाडौं- सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि विशेष स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
शिक्षा, स्वास्थ्य, मानवीय हित र वित्तीय साक्षरता जस्ता जनसरोकारका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको बैंकले समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो।
गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता र अन्य विभिन्न स्वास्थ्य जटिलताहरूबाट आमा तथा नवजात शिशुहरूलाई जोगाउने र यसको न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यका साथ यो कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ। यस अभियानका क्रममा बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयहरूसँग समन्वय गरी करीब १ हजार ५० जना गर्भवती तथा सुत्केरी महिलाहरूलाई प्रत्यक्ष सेवा प्रदान गरेको छ।
शिविरमा सहभागी भएका महिलाहरूको स्वास्थ्यकर्मीहरूद्वारा आवश्यक स्वास्थ्य जाँच गरिनुका साथै उनीहरूलाई ३ महिनाका लागि पुग्ने स्वास्थ्यप्रवर्द्धक पौष्टिक खाद्य सामग्रीहरू समेत वितरण गरिएको थियो।
बैंकले भविष्यमा पनि समाजका लक्षित वर्गमा सकारात्मक प्रभाव पार्ने यस्ता किसिमका कल्याणकारी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। हाल सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३४ वटा कार्यालयहरू र १ सय २७ वटा एटीएम सञ्चालनमा रहेका छन्।