झापा- झापाको शिवसताक्षी नगरपालिका-६ स्थित जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु भएको छ।
विद्यालय भवन निर्माण हेतु आज आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेश सभा सदस्य माननीय राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव गरिमा नौटियालद्वारा संयुक्त रुपमा भवनको शिलान्यास गरिएको हो।
भारत सरकारको आर्थिक सहयोग अन्तर्गत करिब ३ करोड रुपैयाँको लागतमा यस विद्यालय भवनको निर्माण हुन लागेको हो। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना झापाको शिवसताक्षी नगरपालिकामार्फत प्रत्यक्ष रुपमा कार्यान्वयन गरिने जनाइएको छ।
शिलान्यास समारोहमा बोल्दै शिवसताक्षी नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले नेपालको शिक्षा क्षेत्रमा भारत सरकारद्वारा प्रदान गरिँदै आएको निरन्तर विकास सहयोगको उच्च प्रशंसा गरे।
साथै, पूर्वाधारको निर्माणले शिवसताक्षी नगरपालिकाका विद्यार्थी तथा शिक्षकहरुका लागि सिकाइ वातावरण थप सुदृढ र प्रभावकारी बनाउन ठूलो मद्दत पुर्याउने विश्वास समेत व्यक्त गरिएको छ।
नजिकका छिमेकीको रुपमा भारत र नेपालबीच लामो समयदेखि व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। नेपालका प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै यहाँको समग्र विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको छ।