शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

सम्पत्ति गुणस्तर सुधार्न राष्ट्रिय वाणिज्य बैंकलाई चुनौती, खराब कर्जा फेरि उकालो

शुक्रबार, असार १९ २०८३
सम्पत्ति गुणस्तर सुधार्न राष्ट्रिय वाणिज्य बैंकलाई चुनौती, खराब कर्जा फेरि उकालो

गत आर्थिक वर्षको अन्त्यसम्म केही घटेको खराब कर्जा चालु आर्थिक वर्षको नौ महिनापछि पुनः बढ्न थालेपछि बैंकको सम्पत्ति व्यवस्थापनमा दबाब बढेको छ।

काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई सम्पत्ति गुणस्तर सुधार्नु फेरि चुनौतीपूर्ण बनेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म केही घटेको खराब कर्जा चालु आर्थिक वर्षको नौ महिनापछि पुनः बढ्न थालेपछि बैंकको सम्पत्ति व्यवस्थापनमा दबाब बढेको छ।

यही अवस्थालाई औँल्याउँदै क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले बैंकको जारीकर्ता (इश्यूअर) रेटिङ ‘केयर-एनपी ए प्लस’ यथावत् राखेको छ। बैंकले जारी गरेको २ अर्ब ५० करोड रुपैयाँ बराबरको अधीनस्थ ऋणपत्र को रेटिङ पनि ‘केयर-एनपी ए प्लस’ मै कायम गरिएको छ।

केयर रेटिङ्स नेपालको प्रतिवेदनअनुसार राष्ट्रिय वाणिज्य बैंकले समयमै वित्तीय दायित्व पूरा गर्ने पर्याप्त क्षमता राख्छ र यसको कर्जा जोखिम न्यून छ। बैंकको ६ दशकभन्दा लामो सञ्चालन अनुभव, नेपाल सरकारको स्वामित्व, देशव्यापी शाखा सञ्जाल, बलियो निक्षेप आधार, पर्याप्त तरलता तथा अनुभवी व्यवस्थापनका कारण रेटिङलाई यथावत् राखिएको हो। तर सम्पत्ति गुणस्तरमा आएको पुनः दबाब, ब्याज आम्दानीमा देखिएको संकुचन र बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धालाई भने रेटिङका मुख्य चुनौतीका रूपमा उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निष्क्रिय कर्जा (ग्रस एनपीएल) ३.७९ प्रतिशत मा झरेको थियो। तर २०८३ वैशाख मध्यसम्म यो पुनः बढेर ४.४८ प्रतिशत पुगेको छ। यद्यपि यो वाणिज्य बैंकहरूको औसत ५.४१ प्रतिशत भन्दा कम हो, तर खराब कर्जा फेरि बढ्न थालेको प्रवृत्तिले बैंकको सम्पत्ति गुणस्तरमा पुनः दबाब सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ।

केयर रेटिङ्स नेपालका अनुसार पछिल्ला वर्षहरूमा नेपालको आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्नु, सरकारी पूँजीगत खर्च कमजोर रहनु, निजी क्षेत्रको लगानी सुस्त हुनु तथा ऋणीहरूको नगद प्रवाह कमजोर बन्दा ऋण भुक्तानी क्षमता खस्किएको छ। त्यसको प्रत्यक्ष असर बैंकिङ प्रणालीमा खराब कर्जा बढ्ने रूपमा देखिएको छ। राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा उद्योगको औसतभन्दा कम रहे पनि पछिल्ला महिनामा पुनः बढेको अवस्थाले सम्पत्ति व्यवस्थापनमा थप सावधानी आवश्यक भएको प्रतिवेदनले औंल्याएको छ।

प्रतिवेदनमा बैंकको ३० दिनभन्दा बढी समयदेखि भुक्तानी हुन नसकेका कर्जा को अनुपात अझै उच्च रहेको उल्लेख गर्दै नयाँ खराब कर्जा रोक्नु, पुराना कर्जाको प्रभावकारी असुली गर्नु तथा सम्पत्ति गुणस्तरमा दिगो सुधार ल्याउनु आगामी दिनका सबैभन्दा महत्वपूर्ण चुनौती हुने उल्लेख गरिएको छ। बैंकले प्रभावकारी कर्जा असुलीमार्फत सम्पत्ति गुणस्तर सुधार गर्न सके मात्रै वित्तीय अवस्था थप सुदृढ हुने केयर रेटिङ्स नेपालको निष्कर्ष छ।

यद्यपि सम्पत्ति गुणस्तरमा देखिएको दबाबबीच बैंकको पुँजी अवस्था भने क्रमिक रूपमा सुधारिएको छ। २०८३ बैशाख मध्यसम्म बैंकको पुँजी पर्याप्तता अनुपात (सीएआर) ११.६० प्रतिशत पुगेको छ, जुन एक वर्षअघि ११.०१ प्रतिशत थियो। त्यस्तै सामान्य सेयर प्राथमिक पुँजी (सीईटी–१) अनुपात ९.२१ प्रतिशत पुगेको छ, जुन नियामकीय न्यूनतम सीमाभन्दा माथि हो। बैंकले २०८२ वैशाखमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको अधीनस्थ ऋणपत्र जारी गरी दोस्रो तहको पूँजी वृद्धि गरेपछि पुँजी आधार थप मजबुत बनेको प्रतिवेदनमा उल्लेख छ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत राष्ट्रिय वाणिज्य बैंकको पुँजी आधार थप वृद्धि गर्ने घोषणा गरेको विषयलाई पनि केयर रेटिङ्स नेपालले सकारात्मक रूपमा लिएको छ। सरकारबाट थप इक्विटी लगानी भएपछि बैंकको नोक्सानी वहन गर्ने क्षमता बढ्ने, पुँजी पर्याप्तता थप सुदृढ हुने तथा भविष्यमा व्यवसाय विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ। यद्यपि उक्त पुँजी कहिले र कति परिमाणमा प्राप्त हुन्छ भन्ने विषय आगामी रेटिङ मूल्यांकनको महत्वपूर्ण आधार हुने प्रतिवेदनमा उल्लेख छ।

राष्ट्रिय वाणिज्य बैंकको अर्को बलियो पक्ष यसको निक्षेप संरचना रहेको प्रतिवेदनले जनाएको छ। २०८३ वैशाख मध्यसम्म बैंकको चालु तथा बचत निक्षेप (कासा) अनुपात ५८.७४ प्रतिशत पुगेको छ, जुन वाणिज्य बैंकहरूको औसत ५२.३३ प्रतिशत भन्दा माथि हो। कम लागतको निक्षेपका कारण बैंकले उद्योगकै सबैभन्दा कम आधारदर कायम राख्न सफल भएको र यसले प्रतिस्पर्धात्मक क्षमता बलियो बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

तरलता व्यवस्थापनतर्फ पनि बैंक सहज अवस्थामा रहेको देखिएको छ। वैधानिक तरलता अनुपात (एसएलआर) ४४.५० प्रतिशत तथा खुद तरलता अनुपात ४७.०१ प्रतिशत रहेको छ, जुन दुवै नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा धेरै माथि छन्। सम्पत्ति र दायित्वको अवधि सन्तुलित रहेकाले बैंकको तरलता जोखिम न्यून रहेको प्रतिवेदनमा उल्लेख छ।

बैंकको कर्जा पोर्टफोलियो पनि विविधीकृत रहेको छ। कुल कर्जामध्ये उपभोग कर्जाको हिस्सा ३१.२४ प्रतिशत, थोक तथा खुद्रा व्यापार २२.९८ प्रतिशत, कृषि १२.४४ प्रतिशत, ऊर्जा ८.१५ प्रतिशत तथा साना तथा मझौला उद्यम १५.१४ प्रतिशत रहेको छ। बैंकले कृषि, ऊर्जा, साना तथा मझौला उद्यम तथा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने अनिवार्य कर्जा लक्ष्यसमेत पूरा गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

वित्तीय प्रदर्शनतर्फ आर्थिक वर्ष २०८२/८३ मा बैंकले ३० अर्ब ६५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ भने २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। २०८३ वैशाख मध्यसम्म बैंकको खुद नाफा १ अर्ब २० करोड ४० लाख रुपैयाँ पुगेको छ। ब्याज आम्दानीमा दबाब रहे पनि गैरब्याज आम्दानीमा वृद्धि तथा कर्जा नोक्सानी व्यवस्थापन खर्च अपेक्षाकृत कम भएकाले नाफामा सुधार आएको प्रतिवेदनमा उल्लेख छ।


प्रकाशित : शुक्रबार, असार १९ २०८३०७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend