बागलुङ- राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा-बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्रीलाई समस्या भएको छ।
करिडोरको बागलुङ खण्डमा पर्ने ३४ किलोमिटरमध्ये २४ किलोमिटर कालोपत्र भए पनि बाँकी १० किलोमिटर अझै कालोपत्र भएको छैन।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक स्तरोन्नति नहुँदा दक्षिण बागलुङसहित मुक्तिनाथ जाने पर्यटक प्रभावित भएका छन्।
उक्त सडक दुई वर्षभित्र कालोपत्र गर्न पाँच वर्षअघि निर्माण कम्पनीसँग सम्झौता भएको थियो। गत जेठमा पुनः समयावधि थपिए पनि काम नभकामा सर्वसाधारण रुष्ट छन्।
चालु आर्थिक वर्षभित्र काम पूरा नगरे कारबाही हुने कालीगण्डकी करिडोर आयोजना कार्यालयका इन्जिनियर होमनाथ पौडेलले चेतावनी दिए। उक्त खण्ड कालोपत्र गर्न ४८ करोड १२ लाख ५६ हजार ५ सय २३ रुपैयाँमा सम्झौता भएको हो।
निर्माण व्यवसायी दिनबन्धु काफ्लेले बजेट नहुँदा कामले गति नलिएको स्वीकार गरे। पर्याप्त कामदार र उपकरण परिचालन गरेर निर्धारित समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। रासस
