काठमाडौं- बजेटमा कर बढ्ने सूचना पाएर साइमेक्स इंकले कागजमा मात्र जाँचपास गराएका र शंकास्पद गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। मुस्ताङको कोरला नाकाबाट नेपाल भित्रिएका ७ सय ७४ वटा चिनियाँ कम्पनी बीवाईडीका विद्युतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा लिएको हो।
गलत कागज बनाएर भित्र्याएको सूचनाका आधारमा गाडीहरू नियन्त्रणमा लिएकाे र अहिले भन्सारका कर्मचारीले परीक्षण गरिरहेकाे सशस्त्र प्रहरीले जनाएको छ।
मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।
गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन भएका थिए।
मुस्ताङ भन्सारदेखि विभिन्न गन्तव्यमा साइमेक्सले लैजाँदै गरेको गाडी प्रहरीले जहाँ पुगेको छ त्यहीँबाट बुधबार राति नियन्त्रणमा लिएको छ।
नेपालमा बीवाईडीका गाडी ल्याएर बिक्री गर्ने साइमेक्स इंकले बजेटमा करका दर हेरफेर हुने सूचना पहिले प्राप्त गर्दा कर छल्नका लागि ठूलो संख्यामा बजेटअघि गाडी भित्र्याएको हो।
साइमेक्सले बजेटअघिको एक महिनामा सबैभन्दा बढी ८ सय ४० वटा एटो टू नेपाल भित्र्याएको छ। यसैगरी साइमेक्सले सिलायन सेभेन १ सय ४५, एटो वान ४ सय ९ र एटो थ्री २ वटा गरी एक महिनामै १ हजार ३ सय ९६ वटा सवारी जाँचपास गरेको थियो।
साइमेक्सले कर बढ्ने सूचना पाएर बजेटअघिको एक महिनामा १ हजार ३ सय ९६ वटा वीवाईडी कार भन्सार छुटाएको हो। जसमा सरकारलाई आउने १ अर्ब २ करोड ७१ लाख ८२ हजार ५५ रुपैयाँ कर गुमेको छ।
साइमेक्सले बजेटअघिको मे महिनामा मात्रै १ हजार ३ सय ९६ वटा विद्युतीय सवारी मुस्ताङ र रसुवा नाकाबाट जाँच पास गराएको थियो। साइमेक्सले नेपालमा सवारी बिक्री गर्न थालेपछि एकै महिनामा भित्र्याएको सवारीको संख्या अहिलेसम्मकै बढी हो। बजेटअघि साइमेक्सले भित्र्याएको गाडीबाट राज्यले पाउने कर कम थियो।
बजेटअघि र बजेटपछि करको दरमा निकै बदलाव आएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारीमा मोटर पिक पावरका आधारमा कर लाग्ने व्यवस्था थियो भने यही जेठ १५ गते अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटमा पिक पावर हटाएर मूल्यका आधारमा कर लाग्ने व्यवस्था आयो।
अर्थ प्रशासनबाट कर बढ्ने र नयाँ शीर्षकमा कर लाग्ने कुरा कुनै न कुनै रूपमा साइमेक्सले पाएरै उक्त संख्यामा विद्युतीय कार छुटाएको देखिन्छ। यसैले साइमेक्सले भन्सार नाकामा गाडी नै नआउँदै कागजका भरमा गाडी जाँचपाससमेत गरेको छ। कर बढ्ने कुराले उनीहरूले रसुवा भन्सारलाई प्रभावमा पारेर गाडी नै नआइपुग्दै १ सय ५० भन्दा बढी गाडी कागजका भरमा छुटाएका हुन्।
साइमेक्सले २०२५ को १२ महिनामा ३ हजार २ सय २० वटा गाडी आयात गरेको थियो। उक्त संख्यामध्ये स्टक आउट नै भएको हो भने पनि साइमेक्सले एक वर्षमा बिक्री गर्ने ३२ सय विद्युतीय कार हो। त्यसमा वार्षिक २० प्रतिशत नै बिक्री बढ्दा पनि करिब ४ हजार गाडी २०२६ मा बिक्री गर्नसक्ने अनुमान गर्न सकिन्छ। तर एक महिनामै वर्षभरी बिक्री हुने कुल गाडीको एक तिहाइ आयात गर्नुले बजेटबाट हुने कर वृद्धिबाट बच्नु रहेको देखिन्छ। यसबाट साइमेक्सलाई अर्थ प्रशासनबाट कुनै न कुनै रुपमा बजेटमा कर वृद्धि हुने सूचना पुगेको अनुमान गर्न कठिन छैन।
२०२६ को जनवरीदेखि अप्रिलसम्मको मासिक आयात तथ्यांक हेर्ने हो भने पनि साइमेक्सले एकै महिना यति धेरै कार आयात गर्ने आधार देखिँदैन। बजेटमा कर बढ्ने सूचना पाएपछि नै साइमेक्सले १३ सय ९६ वटा बीवाईडीका कार जाँचपास गराएको देखिन्छ। साइमेक्सले २०२६ को जनवरीमा १ सय १७ वटा, फेब्रअरीमा शून्य, मार्चमा ३ सय ४ वटा र अप्रिलमा १ सय ५० वटा बीवाईडीका कार भन्सार जाँचपास गराएको थियो।
बजेटअघिको एक महिना (२०२६ मे) मा १ हजार ३ सय ९६ वटा गाडी भन्सार जाँचपास गराउनुले अर्थ प्रशासनबाट साइमेक्स इंकलाई बजेटमा कर बढ्ने सूचना लिक भएको प्रष्ट हुन्छ। यसअघिका कुनै पनि महिनामा साइमेक्सले यति धेरै संख्यामा गाडी आयात गरेको छैन।
बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर
बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास
बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास
कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।
