काठमाडौं- भारतमा टियागो ईभीको फेसलिफ्ट भर्सन सार्वजनिक गर्नुअघि टाटा मोटर्सका एक शीर्ष कार्यकारीले लगातार बढिरहेको इन्धनको मूल्यका कारण खरिदकर्ताहरूको रोजाइ पेट्रोलबाट चल्ने त्योपनि विशेष गरी साना कार किन्नेहरु ईभीतर्फ मोडिएको बताएका छन्। कम्पनीका अनुसार ईभीको बुकिङ दुई महिना अघिको तुलनामा करिब २.५ गुणाले बढेको छ।
भारतमा मात्र होइन इन्धनको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको छ। भारतको तुलनामा नेपाल विद्युतीय कार एसेप्टेन्समा निक्कै अघि रहेको छ। यसकाबीच नेपालमा पेट्रोलियम कारको पनि बिक्री भइरहेको थियो। तर जब पेट्रोलियम पदार्थको मूल्य ब्यापकर रुपमा बढ्यो त्यसयता अघिल्लो बजेटअघि ल्याएर स्टकमा बसेका विद्युतीय कार बिक्री भएर सकिएका छन्।
यसको प्रमुख कारण पहिलो कार त्यो पनि साना ह्याचब्याक कार किन्नेहरु इन्धनको मूल्य बढेकाले विद्युतीय कारमा आकर्षित हुनु नै हो। यही मेसोमा टाटा मोटर्सले सेगमेन्टमै पहिलो पटक ब्याट्रीमा लाइफटाइम वारेन्टी घोषणा गरेको छ। टियागो ईभीले ४ देखि ५ वर्षभित्रै आफ्नो लगानी आफैं उठाउने दाबी पनि कम्पनीले गरेको छ।
टाटा मोटर्स प्यासेन्जर भेहिकल र टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेश चन्द्रले बुधबार गाडी सार्वजनिक गर्नुअघिको ब्रिफिङका क्रममा ईभीप्रतिको चासोमा नाटकीय र द्रुत वृद्धि भएको बताएका थिए। 'पछिल्लो १५ दिनमा परिस्थिति पूर्ण रूपमा बदलिएको छ,' उनले भने 'मैले दुई-तीन साताअघि देखिरहेको चासोको तुलनामा यो अझ तीव्र वृद्धि हो।' हाल अटोमोबाइल उद्योगमा ईभीको हिस्सा करिब ५.५ प्रतिशत भए तापनि चन्द्रका अनुसार टाटा मोटर्सको वास्तविक मागले यस महिना झन्डै तीनमध्ये एक बुकिङ विद्युतीय गाडीका लागि भइरहेको छ। यदि आपूर्तिले मागलाई धान्न सक्ने हो भने यसले समग्र अटोमोबाइल उद्योगमा ईभी हिस्सा ८ प्रतिशत वा सोभन्दा माथि पुर्याउनेछ। नेपालमा भने कार बजारमा ईभीको हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको छ।
यसको मुख्य कारण इन्धनको मूल्य रहेको चन्द्रले बताए। ११ दिनमा चार पटक पेट्रोलको मूल्य बढेका कारण मासिक खर्चप्रति संवेदनशील हुने इन्ट्री र ह्याचब्याक सेगमेन्टका ग्राहकहरूले खरिद प्रक्रियालाई पछि सार्नुको सट्टा इन्धनको विकल्प सीएनजी वा ईभी बारे भारतीय कार उपभोक्ताले पुनर्विचार गरिरहेका छन्।
'यदि पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो भने महिनामा १ सय लिटर इन्धन हाल्ने सामान्य ग्राहकको मासिक खर्च १ हजार भारतीय रुपैयाँले बढ्छ। यसले उनको आर्थिक सन्तुलन बिगार्छ' चन्द्रले भनेका छन्। उनले ग्राहकहरू सीएनजी र इलेक्ट्रिकतर्फ स्पष्ट रूपमा मोडिने अपेक्षा गरेका छन्, जसले गर्दा १५ लाख भारु भन्दा तलका पेट्रोल मोडलहरूलाई सबैभन्दा बढी दबाब पर्ने देखिन्छ।
यस अवसरको फाइदा उठाउन टाटा मोटर्सले नयाँ टियागो ईभीलाई केवल एउटा रहर वा आकंक्षाको रूपमा मात्र नभइ एक वित्तीय माध्यमको रूपमा प्रस्तुत गरिरहेको छ। हालसम्म दुई अर्ब किलोमिटर गुडिसकेका ७५ हजार टियागो ईभी प्रयोगकर्ताहरूको डेटाका आधारमा चन्द्रले भने कि महिनामा औसत १५ सय किलोमिटर गाडी कुदाउने ग्राहकले इन्धनको बचतबाटै ४ देखि ५ वर्षभित्र गाडीको सम्पूर्ण लागत उठाउन सक्नेछन्। 'यस बिन्दुपछि कारले तपाईंलाई कमाइदिन थाल्छ,' बिहीबार टियागोको सार्वजनिक कार्यक्रममा कम्पनीले प्रयोग गरेको स्लोगानलाई उद्धृत गर्दै उनले भने, 'अब लगानी गर्न म्युचुअल फन्ड मात्र होइन, टियागो ईभी पनि छ।' स्वामित्वको यस बलियो आधारलाई थप मजबुत बनाउन सेगमेन्टमै पहिलो पटक ब्याट्रीमा लाइफटाइम वारेन्टी दिइएको छ। चन्द्रले यसलाई क्रान्तिकारी कदम र ईभी स्वामित्वको बहसमा अहिलेसम्म खट्किएको सबैभन्दा ठूलो अभाव पूरा हुने अवस्थाको रूपमा वर्णन गरे।
आपूर्तिको सन्दर्भमा चन्द्रले हालको प्रतिमहिना ९ देखि १० हजार वटाको उत्पादन क्षमता नै मुख्य बाधक बनेको छ। माग यो क्षमताभन्दा २ देखि २.५ गुणा बढी भए तापनि समस्या कम्पनीको आन्तरिक उत्पादनमा नभइ सप्लायर (आपूर्तिकर्ता) हरूको सीमाका कारण भएको उनले बताए। कम्पनीले आगामी ३ देखि ४ महिनाभित्र क्षमता ५० प्रतिशतले बढाउने लक्ष्य राखेको छ। सो लक्ष पूरा भएमा मासिक उत्पादनलाई करिब १५ हजार वटा पुर्याउनेछ।
नयाँ टियागो केवल एउटा 'फेसलिफ्ट'मात्र नभएको चन्द्रले जोड दिए। एक्स-अल्फा प्लेटफर्ममा निर्मित यस कारको तल्लो भागलाई पेट्रोल, सीएनजी र इलेक्ट्रिक गरी तीनवटै प्रकारका इन्जिनहरू फिट हुन सक्ने गरी परिमार्जन गरिएको छ। यसमा नयाँ बाहिरी डिजाइन, नेक्सन अल्फा रेन्जबाट प्रेरित नयाँ भित्री डिजाइन र यसअघि माथिल्ला महँगा सेगमेन्टहरूमा मात्र पाइने ३६० डिग्री क्यामेरा र वायरलेस चार्जिङ जस्ता सुविधाहरू उपलब्ध छन्। सीएनजी भेरियन्टमा 'ट्विन-सिलिन्डर' प्रविधि र एएमटी विकल्प दिइएको छ, जसले सीएनजी गाडीहरूमा लामो समयदेखि देखिँदै आएको बुट स्पेसको अभाव र कमजोर कार्यक्षमताको गुनासोलाई प्रत्यक्ष रूपमा सम्बोधन गरेको छ।
लामो समयको गिरावटपछि ह्याचब्याक सेगमेन्ट हाल कुल उद्योगको करिब २१-२२ प्रतिशतमा स्थिर रहेको छ। यसमा चन्द्रको दाबी एकदमै सरल छ बेवास्ताका कारण यो सेगमेन्ट ओरालो लागेको थियो र उचित ध्यान दिएर यसलाई पुनः राम्रो लयमा फर्काउन सकिन्छ।
नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धिले राम्रो रहेको ईभी पेनिट्रेसनलाई अझ बलियो बनाएको छ। यो वर्ष आजै आउन लागेको बजेटमा विद्युतीय कारमा कर लाग्ने आधार बदलिएपछि करमा धेरै वृद्धि नुहुने अपेक्षा आयातकर्ता तथा उपभोक्ताले राखेका छन्। सोही कारण अघिल्ला वर्षहरुमा जस्तो आयातकर्ताले बजेट अघि सयौँको संख्यामा कार ल्याएर थुपार्ने झन्झट गरेका छैनन्। पेट्रोलिय पदार्थमा भएको मूल्य वृद्धिका कारण बरु केही स्टकमा रहेका विद्युतीय कारहरु पनि आयातकर्ताहरुले सोल्ड आउट गरेर बजेटपछि फ्रेस कार बिक्री गर्ने मुडमा बसेका छन्।