आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

एमएडब्लू समूहले भन्यो - आफूहरूविरुद्धका सम्पूर्ण आरोप तथ्यहीन, भ्रामक र दुर्भावनापूर्ण

'एमएडब्लू समूह : कानून, कर र राष्ट्रसेवाप्रति प्रतिबद्ध'

मंगलबार, वैशाख २९ २०८३
एमएडब्लू समूहले भन्यो - आफूहरूविरुद्धका सम्पूर्ण आरोप तथ्यहीन, भ्रामक र दुर्भावनापूर्ण

समूहले उक्त पत्र प्रधानमन्त्रीको सचिवालय र उनको टिमलाई दिग्भ्रमित पार्न तथा कम्पनीको व्यापार-व्यवसायलाई जानाजानी क्षति पुर्‍याउने दुर्भावनापूर्ण उद्देश्यले लेखिएको दाबी गरेको छ।

काठमाडौं- बैशाख २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता नं. ६३८४ मार्फत एमएडब्लू समूहविरुद्ध भन्सार छली, भ्याट छली र कर छलीका आरोपहरू ठोस तथ्य, प्रमाण वा कानूनी आधारविहीन भएको समूहले जनाएको छ। 

समूहले उक्त पत्र प्रधानमन्त्रीको सचिवालय र उनको टिमलाई दिग्भ्रमित पार्न तथा कम्पनीको व्यापार-व्यवसायलाई जानाजानी क्षति पुर्‍याउने दुर्भावनापूर्ण उद्देश्यले लेखिएको दाबी गरेको छ। 

‘उजुरीको भरमा उद्योगी र व्यवसायीलाई दोषी ठहर गरी मिडिया ट्रायल गर्नु मनासिब छैन र यसबाट व्यवसायीहरू हतोत्साहित हुन्छन्, मनोबल घट्छ र व्यवसाय गर्ने वातावरणमा दूरगामी नकारात्मक प्रभाव पर्छ,’ एमएडब्लू समूहले भनेको छ।  

भन्सार छलीको आरोप तथ्यहीन 

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले फोटोन ब्रान्डका ईभी सवारीसाधनहरू अन्तर्राष्ट्रिय मान्यताअनुसार सही एचएस कोडमा घोषणा गरी भन्सार कार्यालयबाट आवश्यक जाँचपास गराएको र भन्सार कार्यालयले निर्धारण गरेको सम्पूर्ण महसुल तिरेर पूर्णतः नियमानुसार आयात गर्दैआएको कम्पनीले जनाएको छ। 

आर्थिक वर्ष २०८०/०८१ मा यसरी नियमानुसार आयात गरिएका ईभीहरूलाई महालेखापरीक्षकको कार्यालयले अन्य एचएस कोडमा वर्गीकरण गरी बेरुजु उठान गरेको थियो। यो भन्सार छली नभइ प्रशासनिक बेरुजु भएको एमएडब्लू समूहले उल्लेख गरेको छ। ‘बेरुजुलाई फौजदारी अपराधजस्तो गरी प्रस्तुत गर्नु सर्वथा अनुचित र भ्रामक हो,’ समूहले भनेको छ। 

उक्त बेरुजुको सम्बन्धमा कम्पनीले सर्वोच्च अदालतमा रिट निवेदन दिइसकेको छ। अदालतले मिति २०८२ भदौ ८ मा भन्सार कार्यालयको पत्राचार कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ, जुन हाल पनि कायमै रहेको छ। न्यायालयमा मुद्दा विचाराधीन रहेकै अवस्थामा भन्सार छलीजस्तो गम्भीर फौजदारी आरोप लगाउनु र यसलाई अतिरञ्जित तरिकाले प्रसारण गर्नु न्यायिक प्रक्रियामाथिको प्रत्यक्ष हस्तक्षेप भएको समूहले जिकिर गरेको छ। 

‘उल्लेखनीय छ कि यस प्रकारका बेरुजुको समस्या केवल हाम्रो कम्पनीमा मात्र सीमित नभइ यस्ता सवारीसाधन आयात गरी बिक्री गर्ने समग्र आयातकर्ता उद्योगले भोगिरहेको साझा समस्या हो’ समूहले भनेको छ। 

मोरङ अटो वर्क्सका सम्बन्धमा सत्यतथ्य जानकारी

२०६७ को प्रतिवेदनसँग जोडिएको भ्याट छलीको आरोपका सम्बन्धमा मोरङ अटो वक्र्सले आफू पीडित हुँदाहुँदै पनि आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले आव २०६७/०६८ मा निर्धारण गरेको अन्तिम र संशोधित कर निर्धारण आदेश बमोजिम सम्पूर्ण कर, ब्याज र जरिवानासमेत तिरी फछ्र्यौट गरिसकेको छ र कुनै पनि आर्थिक दायित्व बाँकी नरहेको समूहले जनाएको छ। 

साथै आरोप पत्रमा ‘कम्पनी बन्द रहेको’ भन्ने दाबी सर्वथा असत्य र भ्रामक छ। मोरङ अटो वर्क्स बन्द नभइ हाल पनि अस्तित्वमै रहेको छ।

एमएडब्लू समूह : कानून, कर र राष्ट्रसेवाप्रति प्रतिबद्ध

एमएडब्लू समूहका सम्पूर्ण कम्पनीहरू नेपालको प्रचलित कानून र साधिकार नियामक निकायको नियमनमा रही आर्थिक कारोबार गर्दैआएका छन्। भ्याट, आयकर लगायत सम्पूर्ण कर दायित्व समयमै तिर्दैआएको छ र कुनै पनि फौजदारी दायित्व आकर्षित हुने कार्यमा कम्पनी संलग्न छैन।

एमएडब्लू समूह नेपालमा सर्वाधिक कर तिर्ने कम्पनीहरूमध्येको एक हो र विभिन्न सरकारी निकायबाट पटकपटक सम्मानित तथा पुरस्कृत भइआएको छ। आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा लगातार दुई वर्ष सेवा व्यवसायतर्फ सर्वाधिक आयकर दाखिला गर्ने कम्पनीको रूपमा एमएडब्लू हायर पर्चेज प्रालिलाई आन्तरिक राजस्व कार्यालय, बिराटनगरबाट विशेष सम्मान प्राप्त भएको थियो। 

कम्पनीले स्थापनाकालदेखि हालसम्म नेपालको यातायात क्षेत्रलाई आधुनिकीकरण गर्न विश्वस्तरीय नवीन प्रविधियुक्त सवारीसाधनहरूको विक्री गर्दै स्वदेशी बजारको माग पूरा गर्नुका साथसाथै स्वदेशी लगानी र उत्पादन क्षमता बढाउन उल्लेखनीय योगदान गर्दैआएको छ।

देशभर ५ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी प्रदान गर्दै र राज्यलाई आव २०८१/८२ मा साढे ११ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउँदै राष्ट्रिय अर्थतन्त्रलाई गतिशील राख्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

एमएडब्लू समूह नेपालको अग्रणी अटोमोबाइल तथा व्यापारिक समूह हो, जसले स्थापनाकालदेखि नेपालको यातायात क्षेत्रमा विश्वस्तरीय सवारीसाधनहरूको आयात, बिक्री तथा वितरण गर्दैआएको छ। समूहले संस्थागत उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न क्षेत्रमा योगदानसमेत गर्दै आएको छ।  


प्रकाशित : मंगलबार, वैशाख २९ २०८३१८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend