काठमाडौं- २ अर्ब ४३ करोडको लागतमा विराटनगरमा होटल किङसवरी विराटनगर निर्माण हुने भएको छ।
विराटनगर महानगरपालिका वडा नम्बर ११ मा १ सय ६५ कोठामा ३४ सय १० वेड र दश वटा भिल्लामा ४० कोठामा ४० वेड क्षमता गरी ३ सय ५० बेडको किङसवरी विराटनगर होटल निर्माण हुन लागेको हो।
होटल किङसवरी विराटनगरले २०५ कोठाको होटलसँगै क्यासिनो, व्याङ्क्वेट, स्विमिङ पुल, सेमिनार तथा सम्मेलन हल सञ्चालन गर्ने लक्ष्य राखेको छ। करिब ११ सय जनाको क्षमतायुक्त विशाल व्याङ्क्वेट हल र क्यासिनोले होटल सेवामा विविधता रहने छ।
होटलको मुख्य भवन १२ तल्लाको हुनेछ। जहाँ ३१० शय्या रहने छ भने दश वटा भिल्लामा ४० कोठासहित कुल ३५० शय्या रहने छन्।
होटलमा ८० वटा चारपाङ्ग्रे र एक सय वटा दुई पाङ्ग्रे सवारी साधनका लागि पार्किङ क्षेत्र छुट्याएको छ। होटल भवनको अधिकतम उचाई ३५ मिटर रहने र आगलागीजन्य विपद्को लागि वाटर हाईड्रेन्ट, फायर एक्सटिंग्विशर र पानी स्प्रिंकलर एवं आपतकालिनद्वारहरु रहने उल्लेख गरिएको छ।
झापाको किङसवरी होटल बिक्री गरेको प्रकाश गौतम समूहले विराटनगरमा किङसवरी विराटनगर प्रालि मार्फत सुविधासम्मपन्न पाँच तारे डिलक्स होटल निर्माण गर्न लागेको हो। गौतम समूहले झापाको किङसवरी २ अर्ब रुपैयाँ रवि धिताल समूहलाई बिक्री गरेको थियो।
गौतम समूहले झापा विर्तामोडको होटल बिक्री गर्दै विराटनगरमा होटल निर्माण थालेका थिए।