आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

चौधरी ग्रुपले नेपाल ल्याउँदै विश्वप्रसिद्ध चेन होटल ‘द रिट्ज-कार्लटन’

शुक्रबार, चैत १३ २०८२
चौधरी ग्रुपले नेपाल ल्याउँदै विश्वप्रसिद्ध चेन होटल ‘द रिट्ज-कार्लटन’

काठमाडौं- नेपालको अग्रणी व्यावसायिक घराना चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल समूह म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज-कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको छ। यो नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो लगानीमध्ये एक हो।

सन् १९८३ मा स्थापित रिट्ज-कार्लटन ब्रान्ड हाल ३० देशमा १०८ भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ।

चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलले यस ऐतिहासिक लगानीमा रविन्द्र श्रेष्ठ (आईजे ग्रुप), सौरव शर्मा (शर्मा एन्ड कम्पनी), अमृत शाक्य र सञ्चित श्रेष्ठसँग साझेदारी गरेको छ।

रिट्ज-कार्लटन काठमाडौंको भूमिपुजन कार्यक्रम शुक्रबार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा सम्पन्न भएको छ। यस परियोजनामा १५० रुम क्षमता भएको अल्ट्रा लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यवसायिक कम्प्लेक्स र क्यासिनोसमेत रहनेछ।

rahul cg 2.jpeg

दरबारमार्गनजिक ठमेलमा ९ रोपनी जग्गामा विकास भइरहेको यो परियोजनाको अनुमानित लागत करिब १०० मिलियन अमेरिकी डलर छ। परियोजना २०२९ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सम्पन्न भएपछि होटलको एक रातको रुम रेट १,००० अमेरिकी डलरभन्दा बढी रहने अपेक्षा गरिएको छ, जसले नेपाललाई उच्च गुणस्तरीय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नेछ।

सीजी हस्पिटालिटी र साझेदारहरूले यो परियोजनामार्फत नयाँ सरकारको निजी क्षेत्रप्रतिको विश्वास र लगानी प्रवर्द्धनका लक्ष्यप्रति प्रतिबद्धता देखाएका छन्। परियोजना ले रोजगारी सिर्जना, लगानी आकर्षण र नेपालको समग्र विकासलाई नयाँ स्तरमा लैजान भूमिका खेल्ने लगानीकर्ताहरूको अपेक्षा छ।

सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीले भने, 'रिट्ज-कार्लटनको प्रवेशले चौधरी ग्रुपको नेपालको पर्यटन क्षेत्रमा विश्वस्तरीय योगदान पुर्‍याउने प्रतिबद्धता पुष्टि गर्छ। यो परियोजना केवल उद्घाटनका लागि होइन; यो युवा सोच र युवा उद्यमीहरूको पहल हो जसले विश्वस्तरीय पर्यटन नेपालमा स्थापित गर्न चाहन्छन्। नयाँ प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति हाम्रो समर्थन र विश्वासको प्रतीक पनि हो।'

सीजी हस्पिटालिटी ग्लोबल हाल प्रमुख अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूसँग साझेदारी गर्दै आफ्नो विश्वव्यापी पहुँच विस्तार गर्दै आएको छ। यसको पोर्टफोलियोमा १२ देशका १३० गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट र १५,००० भन्दा बढी रुम क्षमता छ।

चौधरी ग्रुप नेपालको सबैभन्दा ठूलो व्यापारिक घराना, सबैभन्दा ठूलो करदाता र रोजगार सृजनामा अग्रणी संस्था हो। चौधरी ग्रुपको राजस्व योगदान सरकारको वार्षिक राजस्वको करिब २ प्रतिशत बराबर छ। आर्थिक वर्ष २०८१/८२ मा यसले २५.५९ अर्ब रुपैयाँ सरकारको राजस्वमा योगदान गरेको थियो। पछिल्ला पाँच वर्षमा समूहले कुल ९२.२६ अर्ब रुपैयाँ राजस्व योगदान पुर्‍याइसकेको छ।


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend