काठमाडौं- ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत अटोमोबाइल विधातर्फको अवार्डबाट विष्णुकुमार अग्रवाल सम्मानित भएका छन्।
अटोमोबाइल क्षेत्रमार्फत हरित ऊर्जा प्रवर्द्धन, पूर्वाधार विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पुर्याएको दीर्घकालीन योगदानको कदर गर्दै अग्रवाललाई ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत अटोमोबाइल विधातर्फको अवार्ड प्रदान गरिएको नयन मिडिया फाउन्डेसनले जनाएको छ।
विराटनगरबाट व्यावसायिक यात्रा सुरु गरेका अग्रवाल अटोमोबाइल क्षेत्रमा नेपालकै अग्रणी उद्यमीका रूपमा स्थापित छन्।
एमएडब्लु समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशकका रूपमा कार्यरत अग्रवालको नेतृत्वमा उक्त समूह नेपालकै एक अग्रणी अटोमोबाइल समूहका रूपमा स्थापित भएको छ।
स्कोडा, चाङ्गान, जेसीबी जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई नेपालमा विस्तार गर्नुका साथै उनले ‘हरित ऊर्जा’ अभियानमार्फत विद्युतीय सवारी प्रवर्द्धनमा योगदान पुर्याएका छन्। दिपल, सेरेस, फोटोन, सोकन र डोंगफेंग जस्ता अत्याधुनिक विद्युतीय सवारी ब्रान्डमार्फत नेपालमा हरित सवारीको प्रयोग विस्तार हुँदै गएको छ।
देशभर एक सयभन्दा बढी चार्जिङ स्टेशन र १० भन्दा बढी सेवा केन्द्र स्थापना गर्दै उनले विद्युतीय सवारीको पूर्वाधार विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
नेपाल उद्योग परिसंघका अध्यक्ष (२०२१–२०२३) का रूपमा उनले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान अघि बढाउँदै स्वदेशी उत्पादन प्रवर्द्धन, आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनामा योगदान दिएका छन्।
सन् २०१० देखि चेक गणतन्त्रका अवैतनिक महावाणिज्य दूतका रूपमा कार्यरत अग्रवालले सन् २०१९ मा उत्कृष्ट वाणिज्य दूत अवार्ड प्राप्त गरेका थिए।