काठमाडौं- सरकारले खाडी क्षेत्रका केही मुलुक तथा टर्कीमा कार्यरत नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ। बिदामा नेपाल आएका श्रमिकहरूलाई कार्यथलोमा फर्किन सहज बनाउने उद्देश्यसहित उक्त निर्णय गरिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूले अब पुनः श्रम स्वीकृति पाउने भएका छन्।
मन्त्रालयका अनुसार ती देशहरूमा कार्यरत श्रमिकहरू बिदामा नेपाल आएका बेला श्रम स्वीकृतिको अवधि समाप्त भइ पुनः फर्किन समस्या भएको भन्दै विभिन्न माध्यमबाट माग आएपछि सरकारले यस्तो निर्णय गरेको हो। परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको रायका आधारमा चैत ३ गते निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
बदलिँदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले केही मुलुकमा भने श्रम स्वीकृतिमा लगाएको रोकलाई निरन्तरता दिएको छ। मन्त्रालयका अनुसार इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबननका लागि व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति हाललाई प्रदान नगरिने जनाइएको छ।
यसअघि २०८२ फागुन १७ गते सरकारले पश्चिम एशियामा उत्पन्न विषम परिस्थितिका कारण श्रमिकहरूको सुरक्षालाई ध्यानमा राख्दै श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो। पछिल्लो अवस्थाको मूल्यांकन गर्दै केही मुलुकका लागि मात्र पुनः स्वीकृति खुला गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए।