आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

अघि बढ्यो विश्वकै लामो मुक्तिनाथ केबलकार निर्माण प्रक्रिया, ५५ अर्ब रुपैयाँ लाग्ने

शुक्रबार, फागुन १ २०८२
अघि बढ्यो विश्वकै लामो मुक्तिनाथ केबलकार निर्माण प्रक्रिया, ५५ अर्ब रुपैयाँ लाग्ने

२० स्टेशन, ८ सय ७१ गोन्डोला, ४ सय ४२ टावरसहित ८१.०४१ किलोमिटर लामो केबलकार आयोजना विश्वकै सबैभन्दा लामो परियोजनाको रुपमा कल्पना र डिजाइन गरिएको छ।

काठमाडौं- नेपालमा विश्वकै सबैभन्दा लामो केबलकार बन्ने प्रक्रिया अघि बढेको छ। ८१.०४१ किलोमिटर लामो मुक्तिनाथ केबलकारको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएसँगै थप प्रक्रिया अघि बढेको हो।

बैंकको ब्याजसहित परियोजना निर्माणको लागत ५५ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ। मुक्तिनाथ दर्शन प्रालिले पर्वतको शेराफादेखि मुस्ताङको मुक्तिनाथसम्मको महत्वकांक्षी आयोजना निर्माणका लागि प्रस्ताव गरेको हो।

कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीका अनुसार ईआईए स्वीकृति भएसँगै अब परियोजना निर्माणको ठोस चरणमा प्रवेश गर्नेछ। ‘यो उक्त क्षेत्रमात्रै नभएर नेपालको पर्यटनकै चित्र बदलिने परियोजना हुनेछ,’ सुवेदीले भने।

परियोजनामा २० वटा स्टेशन हुने छ। केबलबारबाट ३ घण्टा ३६ मिनेटको यात्रामा मुक्तिनाथ पुग्न सकिने छ।

यो केबलकार परियोजना निर्माणको परिकल्पना २५ वर्ष पुरानो हो। परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोरेट इन्भाइरोमेन्ट एण्ड साइन्टिफिक सर्भिसज प्रालिले तयार पारेको हो।

परियोजना पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर १, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ र ९, म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका ३, ४, ५ र ६ र मुस्ताङ जिल्ला घरापझोंग गाउँपालिका १, २, ३, ४ र ५ , थासाङ गाउँपालिका १, २, ३, ४ र ५ र बारागुंङ मुक्तिनाथ क्षेत्र गाउँपालिका १, ४ र ५ मा प्रस्ताव गरिएको छ।

कालीगण्डकी नदी र मोदी नदीको जलाधार क्षेत्र हुँदै जाने यस आयोजना पर्वत जिल्लाको शेराफाँटबाट सुरु भएर भुकबेशी, उल्लेरी, घोडेपानी, सिख, घार, नारच्यांग, काब्रे, पहिरोथाप्लो, घासा, लेते, कोबाङ, टुकुचे, चोखोपानी, मार्फा, ठिनी जोमसोम/थिनी, एक्लेभट्टी, कागबेनी, खिंगा भएर मुक्तिनाथ मन्दिर नपुग्दै तल चेंगरिसी नजिकै गएर अन्त्य हुने छ।

२० स्टेशन, ८ सय ७१ गोन्डोला, ४ सय ४२ टावरसहित ८१.०४१ किलोमिटर लामो केबलकार आयोजना विश्वकै सबैभन्दा लामो परियोजनाको रुपमा कल्पना र डिजाइन गरिएको छ।

आयोजनाका क्रियाकलापहरु पूर्व-निर्माण चरण, निर्माण चरण र सञ्चालन चरण गरेर तीन चरणमा वर्गीकरण गरिएको छ।

पूर्व-निर्माण चरणमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार, वातावरणीय अध्ययन, जग्गा अधिग्रहण, आयोजनाको लागि आवश्यक रुख फडानीजस्ता क्रियाकलाप पर्ने रिपोर्टमा उल्लेख छ।

निर्माण चरणका क्रियाकलापमा स्टेसन र टावर निर्माण गरेर तार टाँग्ने र आयोजना संचालनको लागि आवश्यक पर्ने उपकरण जडान र परीक्षण गर्ने क्रियाकलाप पर्छन्। यसैगरी सञ्चालन चरणमा आयोजनाले लक्षित पर्यटकलाई सेवा सुविधा दिने क्रियाकलाप रिपोर्टमा समावेश गरिएको छ।


प्रकाशित : शुक्रबार, फागुन १ २०८२११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend