आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

नेपालीलाई बेलायतमा 'वर्क परमिट' दिलाइदिने भन्दै बढ्यो ठगी, सचेत रहन दूतावासको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २१ २०८२
नेपालीलाई बेलायतमा 'वर्क परमिट' दिलाइदिने भन्दै बढ्यो ठगी, सचेत रहन दूतावासको आग्रह

कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ।

बेलायत- बेलायतमा 'वर्क परमिट' दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरू ठगीमा परेको गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो। ठगीमा परेको गुनासो गर्नेहरूमा नेपालबाट बेलायत आउन चाहनेहरूको संख्या धेरै रहेको दूतावासले जनाएको छ। 

कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ। 'ठगी गर्नेहरू कतिपय नेपाली मूलका व्यक्तिहरू नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरूमार्फत तेस्रो मुलुकका व्यक्तिहरूसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरूको गुनासो पनि आएको छ,' विज्ञप्तिमा उल्लेख छ। 

यस्ता अपराधहरू नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरू तथा बेलायतमा रहेका स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्शन फ्रड) मा उजुरी गर्न समेत दूतावासको सुझाव छ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायका लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताए। समस्यामा परेका नेपालीलाई दूतावासको ईमेल वा +४४-७४०४९३९२७४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ। रासस


प्रकाशित : सोमबार, पुस २१ २०८२१०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend