काठमाडौं- विश्वभर विद्युतीय सवारीको माग बढ्दै गएकाले त्यसको सबैभन्दा महत्वपूर्ण पक्ष ब्याट्री उत्पादनमा हुने लगानी उल्लेख्य रुपमा वृद्धि भइरहेको छ। शक्तिशाली र उन्नत ब्याट्री उत्पादन हुँदै जाँदा विद्युतीय कारको मूल्यसमेत विगतको रुपमा कम हुँदै गइरहेको छ।
२०२६ को अन्त्यसम्म आईसी इन्जिन कार र विद्युतीय कारको मूल्य समान हुने अनुमान गरिएको छ। यो सम्भव हुनुमा देशहरु तथा सवारी उत्पादकहरुले ब्याट्री उत्पादनमा गरेको लगानी नै मुख्य आधार हो। उत्पादन प्रविधिसहित त्यसको केमेस्ट्रिमा लगानी हुँदा कम मूल्यमा धेरै ऊर्जा सञ्चय गर्न सक्ने ब्याट्रीहरु बजारमा आइरहेका छन्।
देशगत रुपमा हेर्दा विद्युतीय सवारीको ब्याट्री उत्पादनमा सबैभन्दा धेरै लगानी चीनले गरिरहेको छ। अहिलेको समयमा चीन विश्वको सबैभन्दा धेरै विद्युतीय कार बिक्री हुने बजारमा पनि हो। ब्याट्री उत्पादनमा धेरै लगानी गर्ने देशबारे भिजुअल क्यापिटालिस्टले तथ्यांक सार्वजनिक गरेको थियो। उक्त तथ्यांक क्लाइमेट पोलिसी इनिसिएटिभ एन्ड बीएनईएफबाट उपलब्ध भएको हो।
विद्युतीय कारसँगै उर्जा सञ्चयका लागि ग्रिडमा प्रयोग हुँदा पनि ब्याट्रीको माग, उत्पादन र यसमा लगानी बढेको हो। उत्पादन बढी भएकाले बेला ग्रिडमा सञ्चय गर्ने र कम भएकाले बेला त्यहाँबाट सप्लाई गर्नेगरिएको छ।
२०२५-२६ मा चीनमा ब्याट्री उत्पादनमा सबैभन्दा धेरै लगानी हुने प्रक्षेपण गरिएको छ। यो अवधिमा चीनमा १ खर्ब ३० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी हुने अनुमान गरिएको छ। विश्वमा हुने कुल लगानीको ७१ प्रतिशत चीनमै हुनेछ।
यी हुने ब्याट्री उत्पादनमा धेरै लगानी गर्ने देश तथा क्षेत्रहरु :
१ चीन- चीनमा २०२५-२६ मा १ खर्ब ३० अर्ब ६० करोड डलर लगानी हुने छ। यो कुल लगानीको ७१ प्रतिशत हो। २०२३-२४ मा चीनमा ब्याट्री उत्पादनमा ९२ अर्ब ४० करोड डलर लगानी भएको थियो।
२. युरोप- युरोपमा २०२५-२६ मा २० अर्ब २० करोड डलर लगानी हुने छ। यो कुल लगानीको ११ प्रतिशत हो। २०२३-२४ मा युरोपमा ब्याट्री उत्पादनमा ९ अर्ब ४० करोड डलर लगानी भएको थियो।
३. अमेरिका- अमेरिकामा २०२५-२६ मा १८ अर्ब ४० करोड डलर लगानी हुने छ। यो कुल लगानीको १० प्रतिशत हो। २०२३-२४ मा अमेरिकामा ब्याट्री उत्पादनमा ५ अर्ब ५० करोड डलर लगानी भएको थियो।
४. दक्षिणपूर्वि एसिया- दक्षिणपूर्वि एसियामा २०२५-२६ मा १ अर्ब ८० करोड डलर लगानी हुने छ। यो कुल लगानीको १ प्रतिशत हो। २०२३-२४ मा दक्षिणपूर्वि एसियामा ब्याट्री उत्पादनमा ४० करोड डलर लगानी भएको थियो।
५. भारत- ब्याट्री उत्पादनमा भारतमा २०२५-२६ मा १ अर्ब ७० करोड डलर लगानी हुने छ। यो कुल लगानीको ०.९ प्रतिशत हो। २०२३-२४ मा भारतमा ब्याट्री उत्पादनमा १० करोड डलर लगानी भएको थियो।
६. बाँकी विश्व- यी बाहेक विश्वका बाँकी देशमा ब्याट्री उत्पादनमा २०२५-२६ मा ११ अर्ब डलर लगानी हुने छ। यो कुल लगानीको ६ प्रतिशत हो। २०२३-२४ मा बाँकी विश्वमा ब्याट्री उत्पादनमा २ अर्ब २० करोड डलर लगानी भएको थियो।
समग्र विश्वभर २०२५-२६ मा ब्याट्री उत्पादनमा १ खर्ब ८४ अर्ब डलर लगानी हुनेछ। २०२३-२४ मा यस्तो लगानी १ खर्ब १० अर्ब डलर रहेको थियो।
