काठमाडौं- भारत विद्युतीय सवारीमा पछिल्लो पटक आक्रमक देखिए पनि आईसी इन्जिन कारको तुलनामा ईभीको बिक्री न्यून छ। यही कम बिक्रीमा टाटा मोटर्सले लिड लिइरहेको छ। भारतमा धेरै वटा ईभी मोडल ल्याएको टाटाले २ लाख ५० हजार ईभी बिक्री गर्न सफल भएको छ।
टाटा मोटर्सले भारतमा ईभी सार्वजनिक भएयता बक्री संख्या २ लाख ५० हजार नाघेको तथ्यांक सार्वजनिक गरेको हो। ‘टाटा मोटर्सले भारतको ईभी बजारलाई नेतृत्व प्रदान गरिरहेको छ। यही प्रयासले बजारमा टाटाका ईभी सर्वाधिक सफल भएका हुन्’ टाटा मोटर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
२०२० मा पहिलो पटक विद्युतीय कार बजारमा ल्याएको टाटा मोटर्सले त्यसको पाँच वर्षमा २ लाख ५० हजार वटा बिक्री पूरा गरेको जनाएको छ। कम्पनीले भारतमा पहिलो विद्युतीय सवारीका रुपमा नेक्सन ईभीले ल्याएको थियो। भारतमा टाटाले सबैभन्दा धेरै १ लाख वटा नेक्सन ईभी बिक्री गर्न सफल भएको हो।
अहिलेसम्मको बिक्रीका आधारमा भारतको विद्युतीय कार बजारमा टाटाको बजार हिस्सा ६६ प्रतिशत रहेको छ। टाटा मोटर्सले अहिले भारतीय बजारमा नेक्सन ईभी, टियागो ईभी, टिगोर ईभी, पन्च ईभी र ह्यारीयर ईभी बिक्रीका लागि ल्याइसकेको छ। हालै बिक्रीमा ल्याएको सियरा एसयूभीको विद्युतीय भर्सन छिट्टै बजारमा ल्याउने जनाएको छ।
२ लाख ५० हजार ईभी बिक्री भएको अवसरमा टाटा मोटर्स प्यासेन्जर भेहिकल डिभिजनका एमडी तथा सीईओ शैलेश चन्द्रले नयाँ उचाइ भेट्टाउन सकेकोमा कम्पनी उत्साहित रहेको बताए। सीईओ चन्द्रका अनुसार २०२६ मा सियरा ईभीसँगै प्रिमियम लक्जरी मोडल अभिन्या ईभी पनि बजारमा आउनेछ।
टाटा मोटर्सले २०३० सम्ममा भारतीय बजारमा थप ५ वटा नयाँ ईभी मोडल ल्याउने जनाएको छ। टाटा मोटर्सले भारतमा ‘नेक्स्ट जेन चार्जिङ’मा पनि काम सुरु गर्न लागेको उल्लेख छ। २०२७ को अन्तिमसम्ममा ४ लाख चार्जिङ प्वइन्ट बनाइसक्ने योजना टाटा मोटर्सले अगाडि सारेको हो। जस मध्ये ३० हजार डीसी फास्ट चार्जर हुनेछ।
भारतसँगै नेपाली बजारमा पनि टाटाका ईभीको बलियो उपस्थिति रहेको छ। भारतमा सार्वजनिक भएको केही समयपछि टाटा नेक्सन ईभी नेपाली बजारमा सार्वजनिक भएको थियो। नेक्सन ईभी प्राइम, म्याक्स तथा डार्क एडिसनसमेत गरेर २ हजार वटाभन्दा बढी बिक्री भएको थियो।
नेक्सन ईभीपछि टाटाको टिगोर ईभी नेपाली बजारमा आएको थियो। त्यसपछि टियागो ईभी, एक्सप्रेस टी ईभी र कर्भ ईभी आएको हो। पछिल्लो पटक टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेक्सन केथ्री ईभी ल्याएको हो। सुरुमा आएको नेक्सन गाडी अनुसार सानो क्षमताको ब्याट्री हुँदा लामो दुरीमा जाँदा रेन्ज कम हुने गरेको गुनासो आएको हो। तर नयाँ नेक्सन केथ्री ईभी ४५ किलोवाट आवरको ब्याट्रीसहित धेरैवटा अत्याधुनिक विशेषताहरु थपिएर आएका छन्।
सिप्रदीले टाटाका ईभी नेपाल ल्याएको ५ वर्षमा ९ हजार ३ सय वटाभन्दा बढी विद्युतीय कार बिक्री सफल भएको छ। नेपाली बजारमा टाटाका नेक्सन केथ्री ईभी, एक्सप्रेस टी ईभी, टियागो ईभी, पन्च ईभी र कर्भ ईभी बिक्री हुँदै आएको छ।
पहिलो कार किन्नेहरुको रोजाइमा टियागो ईभी पर्ने गरेको छ भने क्रसओभर ईभी रोज्नेहरुका लागि पन्च ईभी उपयुक्त विकल्प हुने गरेको छ। नेक्सन केथ्री ईभी पनि अहिले फेरि उपभोक्ताहरु आकर्षित हुन थालेको कम्पनीले जनाएको छ।
टाटा मोटर्सका विद्युतीय कार नेपाली बजारमा लोकप्रिय हुनु र खरिदका लागि उपभोक्तमा कन्फिडेन्स हुनुको मुख्य कारण सिप्रदीले देशभर विस्तार गरेरको सर्भिस तथा स्पेयस पार्टसको नेटवर्क हो।
सिप्रदीले बागमती प्रदेश सरकारले ल्याएको विद्युतीय ट्याक्सी दर्ताको मापदण्डअनुसार टाटा एक्सप्रेस टी ईभी ट्याक्सी बिक्री गर्दै आएको छ। ईभी ट्याक्सीकै लागि सिप्रदीले पर्याप्त चार्जिङ नेटवर्क र २ वटा डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
त्यस्तै विद्युतीय कारका लागि पनि सिप्रदीले डेडिकेटेड सर्भिस सेन्टरसहित ब्याट्री डाइगोस्टिक सेन्टरसमेत सञ्चालनमा ल्याएको छ। देशभर सिप्रदीले विद्युतीय कारका लागि आवश्यक चार्जिङ नेटवर्क बनाएको छ। विद्युतीय सवारीको इकोसिस्टममा सिप्रदीले ठूलो लगानी गरेको छ।
