काठमाडौं- चेरी अटोमोबाइलको सबब्रान्ड आईकार केही महिनाअघि नेपाली बजारमा सार्वजनिक भएको थियो। सार्वजनिक भएसँगै यसको बुकिङ खुलाइएको थियो।
आईकारको लाइफस्टाइल विद्युतीय एसयूभी भी २३ बिक्रीका लागि नेपाल भित्रिएसँगै कम्पनीले बुधबारबाट बुकिङ गरेका उपभोक्तालाई कार दिने भएको हो।
चेरी अटोमोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले भी २३ टप भेरियन्टको सुरुवाती मूल्य ४७ लाख रुपैयाँ तोकेको थियो। बुकिङ गरेका उपभोक्ताले सोही मूल्यमा भी २३ विद्युतीय एसयूभी पाउने छन्।
आईकार भी२३ मा १ सय किलोवाट मोटरसहित रेयर ह्वील ड्राइभ अप्सनमा नेपाल आएको हो। भी २३ मोडलमा ५९.९ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ। यो कारले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
आईकार भी२३ सहर तथा अफरोडका लागि उपयुक्त हुने साइजमा बनेको छ। यसको लम्बाइ ४२ सय २० एमएम, चौडाइ १९ सय १५ एमएम र उचाइ १८ सय ४५ एमएम छ। आईकार भी २३ मा २७ सय ३५ एमएम लामो ह्वीलबेस रहेको छ। गाडीमा २ सय १० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ। यसको डिपार्चर एंगल ४० र अप्रोच एंगल ४२ डिग्री छ।
अगाडिका दुवै सिट इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने कारमा ७ वटा स्पीकर रहेको छ। चेरीले आईकार भी २३ मा स्क्वायर सेपमा एयरभेन्ट दिएको छ। ड्यासबोर्डको बीचमा १५.४ इन्चको स्क्रीन र २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रीन यो कारमा छ।

एडास विशेषता उपलब्ध कारमा होराइजन रोबटिक जे ३ चीप प्रयोग भएको छ। कम्पनीले यसको अगाडि ८ मेगापिक्सल र ३ मेगापिक्सलको सराउन्ड भ्यू क्यामेरा जडान गरेको छ। फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार, हाइ स्पीड नेभिगेसन, इमर्जेन्सी लेन किपिङ, ट्राफिक जाम एसिस्ट, अटोमेटीक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता विशेषता यो कारमा छन्।
स्क्वायर बक्स सेपमा तयार भएको अफरोड एसयूभीको अगाडि स्मोक्ड फ्रन्ट ग्रिल, राउन्ड हेडल्याम्प, रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल दिइएको छ। यसले नेपालसहित विश्वभर रगेड देखिने विदयुतीय सवारीसाधनप्रति बट्दो उपभोक्ता चासोलाई प्रतिविम्बित गर्दछ।
भी२३ विभिन्न ६ रंग विकल्पमा उपलब्ध छ। यसको क्याबिनले आराम र व्यावहारिकतालाई प्राथमिकता दिएको छ। अगाडिको प्रशस्त स्पेस छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ। यो एसयूभीको ७४ प्रतिशतभन्दा बढी भाग हाइस्ट्रेन्य स्टिलको प्रयोग गरी हाइ रिजिडिटी बडीमा निर्मित रहेको छ।
