काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणबापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ। साविककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते शुल्क वृद्धि गरी ९ हजार ५ सय रुपैयाँ पुर्याएको थियो। त्यसअघि ६ हजार ५ सय रुपैयाँ मात्र लिने गरिएको थियो। सो निर्णयविरुद्ध व्यवसायीहरूले विरोध जनाएका थिए। श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले सो शुल्क खारेज गरिएको बताए।
मन्त्रालयले ३४ वटा स्वास्थ्य परीक्षण आवश्यक भएको जनाउँदै शुल्क वृद्धि गरेकोमा सो आवश्यक नरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए।
'सरकारले अनावश्यक रूपमा श्रमिकको खर्च बढाउने काम गरेको थियो,' उनले भने, 'अहिले सो शुल्क खारेज गरी श्रमिकको हितमा निर्णय गर्नु प्रशंसनीय छ।' रासस