विराटनगर- उद्यमशीलतामा लगानीभन्दा पनि लक्ष्यको अभाव देखेका पवित्र गौतम विद्यालयलाई नवीन सोचको केन्द्र बनाउने ध्याउन्नमा छन्।
विज्ञान र प्रविधिमार्फत उद्यमशीलताको विकास गर्न सकिने बुझाइलाई 'कारखाना'मार्फत गौतमले प्रयोगमा ल्याएका छन्। विद्यालय शिक्षा कक्षा उत्तीर्णका लागि मात्र नभएर नयाँ सोच र सिर्जनशीलता सिक्ने कारखाना भएको पवित्र बताउँछन्।
मंसिरको अन्तिम साता इटहरीको सोल्टी वेस्टेण्डमा बालबालिकामा नवीनताको सोच कसरी विकास गर्ने भनेर शिक्षकलाई सिकाउन पुगेका थिए गौतम। प्याब्सन कोशी प्रदेश समितिले विद्यालयका प्रिन्सिपललाई पढाउने तरिका सिकाउन गौतमलाई बोलाएको हो।
उद्यमशीलतामा स्रोतको भन्दा सोचको कमी देखेका उनले इनोभेसनको क्षेत्रमा लगानी गर्नुपर्ने बताए। बिजनेस न्युजसँगको संवादमा गौतमले भने, 'हामीसँग इनोभेटिभ कल्चरको अभाव हो। हात चलाउने मान्छेलाई दिमाग चलाउन आउँदैन, दिमाग चलाउनेलाई हात चलाउन आउँदैन। सानैदेखि हामीमा हात चलाउने बानी परेको भए हातले गर्ने कामलाई सानो र दिमागले कामलाई ठूलो मान्दैनथ्यौँ होला।'
विज्ञान विषयलाई व्यवहारमा उतार्ने ध्याउन्नमा उनले सन् २०१२ मा 'कारखाना'को स्थापना गरे। कारखाना नयाँ उद्यम मात्र हैन नवप्रवर्तनमा नै नयाँपन हो। विद्यालयमा सिकाइको तरिका बदल्ने नयाँ अभ्यास हो कारखाना। यो प्रयोगात्मक शिक्षाको नाममा औपचारिकता मात्र पूरा गर्ने विद्यालयलाई नै सुधार गर्ने प्रयास हो।
आइडियाको कारखानाको रूपमा सुरु भएको कारखाना अहिले उत्पादन र बिक्रीमा समेटिएको छ। विज्ञानलाई प्रयोग गरेर मात्र सिक्न सकिने आशयका साथ कारखानाले प्रयोगात्मक किट (सामग्री भरिएको झोला) उत्पादन गरेर बक्री गर्ने गर्छ। सामान बिक्री गरेर मात्र विद्यार्थीले नसिक्ने भएपछि पढाउने शिक्षकलाई नै थप तालिम दिन कारखाना लागिपरेको छ। शिक्षकहरू दक्ष भएपछि मात्र विद्यार्थीले नयाँ कुरा सिक्ने बुझेको कारखाना टिमले सोहीअनुसार रूपान्तरण गरिरहेको छ।
नयाँ कुरा सृजना गर्ने संस्कार विकास गर्नमा लाग्नुपर्ने बुझेका पवित्रले इनोभेसनको इकोसिस्टम बनाउन ध्यान दिएको बताए। शिक्षकलाई सिकाउनुअगाडि आफूहरूले सिक्न धेरै समय लागेको उनको अनुभव छ।
माध्यमिक तहमै कम्प्युटर वा विज्ञानको विषय बुझाइसक्नुपर्नेमा पवित्रको जोड छ। जुन उमेरमा सबैभन्दा धेरै सिक्न सक्ने क्षमता हुन्छ त्यही समयलाई अधिकतम उपयोग गर्नुपर्ने बताउँछन् गौतम। शिक्षण सिकाइको बारेमा बुझ्ने क्रममा एकवर्षे बीएड अध्ययन गरेका उनले कक्षा सञ्चालन गर्दा सबै विद्यार्थीलाई समेट्न नसकिने बुझेर विद्यालयमै कारखाना पुर्याएको बताए।
विद्यालय तहमा उत्सुकता बढाउनुपर्ने बुझेका उनले विज्ञानलाई प्रयोग गरेर इनोभेसनको सुरुआत गर्न सकिने बताए। 'विज्ञानले बनाउने संस्कार विकास गर्छ। बनाउनका लागि बिगार्नुपर्छ। बिगार्नु भनेको असफल हुनु हो। असफल भएको व्यक्तिले मात्र सफलताको आनन्द लिन सक्छ। त्यसैले विद्यालयमै असफलताको अनुभूति गराउन सक्नुपर्छ,' उनले भने।
शिक्षालाई सामाजिक उद्यमशीलताको रूपमा लिनुपर्नेमा उनको जोड छ। कुनै पनि संस्था शिक्षासँग सम्बन्धित छ भने त्यसले नाफा मात्र हैन समाज परिवर्तनको हुटहुटी राख्नुपर्ने बताउँछन् उनी। पाठ्यक्रम धेरै परिष्कृत बन्दै गएको तर पढाउने तरिका नबदलिएसम्म खास सिकाइ नहुने उनको बुझाइ छ।
विद्यार्थीसँग सही उत्तर खोज्दाखोज्दै सिर्जनशीलताको कुरा छुटेको उनले बताए। छिटो र सजिलो मात्र पढाएर इनोभेसनको कल्चर हराएको उनी बताउँछन्। उनले भने, 'सिकाइ भन्ने कुरा गाह्रो हुन्छ तर समय लाग्छ। बढ्नको लागि समय लाग्छ। यो सिकाइको पाटो बिर्सिएका हौँ कि भन्ने लाग्छ।'
विद्यार्थीलाई अनुशासित बनाउने तर जिम्मेवारी बोध नगराउने यो परम्पराले हाम्रो सिकाइको संस्कार भत्किएको उनले बुझेका छन्। प्रेसरमा हैन प्रोत्साहनमा विद्यार्थीलाई सिकाउन सक्नुपर्नेमा उनको जोड छ।
इन्जिनियरिङ अध्ययन गरेका उनी विद्यार्थी आफैँले महसुस गरेपछि मात्र सिकाइ प्रभावकारी हुने दाबी गर्छन्। विज्ञान भनेकै बनाएर, भत्काएर, छोएर नै पढ्नुपर्ने विषय भएको उनी बताउँछन्। कारखानाले सोहीअनुसारका सामग्रीको उत्पादनमा ध्यान दिएको उनले बताए। शिक्षक कक्षाको लिडर भएकाले सुरुमा लिडरले बुझेपछि मात्र विद्यार्थीलाई सही तरिकाले नेतृत्व गर्न सक्ने पवित्रको भनाइ छ।
पछिल्लो समय पाठ्यक्रममा व्यापक सुधार देखिएकाले प्रयोगात्मक गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने उनले सुझाए। पाठ्यक्रमअनुसारको सामग्री कारखानामा तयार हुने गरेको छ। कारखानाको प्रयोगात्मक किट विद्यालय, विद्यार्थी र कतिपय अवस्थामा स्थानीय तहले नै खरिद गरेर विद्यालयमा पठाउने गरेको छ। बिस्तारै सिकाइका अभ्यासमा परिवर्तन आउन थालेको उनले अनुभूति गरेका छन्।
विद्यालयमा विद्यार्थी सिकाइ कमजोर भएकाले कारखानाले यसको समाधानमा काम गरिरहेको छ। हालसम्म ३५ जिल्लाका २५० बढी विद्यालयमा कारखाना पुगेको छ। त्यसमध्ये पनि ८० वटा सरकारी विद्यालयका विद्यार्थीले कारखानाको उपकरण प्रयोग गरिरहेका छन्।
देशव्यापी बन्दै गएको कारखानाको सिकाइ अभ्यासलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्य रहेको गौतमले बताए। प्रत्यक्ष रूपमा ७० जनाको टिमले कारखाना चलाएपनि पाँच सय बढी युवाले रोजगारी पाइरहेका छन्। मुख्यतः उद्यमशीलताको सोच विद्यालय तहबाटै विकास गर्ने उद्देश्य राखेको गौतमले बताए।
बालबालिकालाई व्यावसायिक र वैज्ञानिक सोचको विकास गराउन सके मात्र चासो अर्थमा उद्यमशीलताको प्रवर्द्धन हुने उनको बुझाइ छ। असफलता बाट बालबालिकालाई डर देखाएर सन्तानको सफलता देख्न नसकिने पवित्र बताउँछन्। पुनः दोहोर्याएर उनले भने, 'असफल भएको व्यक्तिलाई मात्र सफलताको भोक लाग्दछ।'

.jpeg)