आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

विदेशमा सिकेको सीपले स्वरोजगारसँगै दर्जनौँलाई रोजगारी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ६ २०८२
विदेशमा सिकेको सीपले स्वरोजगारसँगै दर्जनौँलाई रोजगारी

काठमाडौं- रोजगारीका क्रममा विदेशका धेरै संघर्षपूर्ण भोगाइ र अनुभव सँगालेका बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङका कृष्ण खनालको संघर्ष र सफलताका कथा यतिखेर अरूका लागि पनि अनुकरणीय बनेको छ।

खनाल आफ्नो निरन्तरको संघर्षले अहिले आफू स्वरोजगार छन् र अन्य धेरै जनालाई प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी दिँदै आएका छन्। श्रीमती विष्णुसहित छोराछोरीको साथ र सहयोगसँगै आफ्नो निरन्तरको संघर्षकै कारण उनले बुर्तिबाङमा वर्तमानमा एकसाथ टाइगर होटेल रेष्टुरेन्ट एण्ड लज, ढोरपाटन क्याटरिङ तथा टेन्ट हाउस, कृष्ण डेरी उद्योग, मिष्ठान्न भण्डार एण्ड बेकरी उद्योग सञ्चालन गरिरहेका छन्।

यी सबै व्यवसायमा प्रत्यक्ष रूपमा २० जनाले र व्यवसायलाई आवश्यक पर्ने दूध, मासु आदिका कारण अप्रत्यक्ष रूपमा ५० जनाले रोजगारी पाइरहेका उनले बताए। पैँतालीस वर्षीय  खनालसँग रोजगारीको खोजीमा भौतारिएका र भोगेका धेरै अनुभव छन्। आमाबुबाका एक्लो छोरा उनी बाल्यकालमा नै टुुहुरो बनेका थिए।

जन्मेको एक वर्षमा बुबा र दुई वर्षमा आमा गुमाएका उनलाई हजुरबुबा र हजुरआमाले नै दुुःखकष्ट गरी पालेका थिए। दुई छोरी जन्मिसकेपछि भएको श्रीमतीको निधनको धेरै पीडाका बीच पनि आफूलाई सम्हाल्दै संघर्ष गर्दा वर्तमानमा यी सफलता हासिल भएको उनले बताए।

पहिलो श्रीमतीको निधनपछि दोस्रो विवाह गरेका उनका पहिलो श्रीमतीबाट दुई छोरी र पछिल्लो श्रमितीबाट दुई छोरा छन्। छोराछोरी आफ्नो नियमित अध्ययन सकी सेवा, पेसा र व्यवसाय सम्हाल्न सक्ने भइसकेको उनले बताए।

विदेशमा रोजगारीका क्रममा पाएका हण्डर तथा ठक्करले पनि स्वदेशमा नै केही व्यवसाय गर्नुपर्छ भन्ने उनमा सोच आएको थियो। वि.सं. २०५७ मा चैतमा रोजगारीकै क्रममा दुबई गएका खनाल तीन वर्ष त्यहाँ रोजगारी गरी फर्किए। त्यसपछि केही समय भैँसीपालन र खेतीकिसानी गरेका उनी २०६२ सालमा भने इराक जाने इच्छाले दलालको माध्यमबाट दुबई पुगेका थिए। तर, दलालले इराक लान नसकेपछि उनले दुबईमै पाँच वर्ष बेलाली कम्पनीको पावर प्लान्टमा काम गरे।

त्यस समयमा अत्यधिक गर्मीमा आफूले काम गरेको अनुभव सुनाउँदै उनले त्यही काम गर्ने मानिसले साउदी लैजान्छ भनेर अन्तर्वार्ता दिँदा अन्तर्वार्तामा उत्तीर्ण भएको बताए। 'अन्तवार्तामा पास त भइयो, भिसा र टिकट कम्पनीले दिने कुरा भयो,' उनले भने, 'उता जाने भएपछि दुबईको खाइरहेको जागिर छाडेर २०६७ सालमा म मेडिकल गर्न नेपाल आएँ, तर मेडिकलका क्रममा समस्या देखिएसँगै मेरो त्यहाँ जाने सपना पनि चकनाचुर भयो।'

एकातिर छँदाछँदैको जागिर गएको अवस्था, अर्कोतिर अन्य जागिरमा जान मेडिकलमा समस्या भएपछि त्यस समयमा आफू निकै बेचैन जस्तो बनेको उनले अनुभव सुनाए।

विदेश जानमा लागेको त्यो ठक्कर नै अन्तत: आफ्ना लागि व्यावसायिक सफलताको राम्रो माध्यमजस्तै बनेको उनले बताए।

खनालले त्यसपछि कुखुरापालन गर्न थाले। कुखुरापालनमा पनि उनले सोचेजस्तो भएन। २५ लाख रुपैयाँ ऋण लाग्यो। ऋण लागेर आफूसँग पैसा नहुँदा त्यस क्रममा आफन्तले गरेको व्यवहार, ऋण नपत्याइएको अवस्था आदि अहिले पनि झल्झली सम्झना आउने गरेको उनले सुनाए।

त्यसपछि उनले गाईपालन सुरु गरे। गाई पालेर बजारमा दूध बिक्री गर्न थाल्दा समेत दूध बिक्री नभएको भन्दै दिउँसो १२ बजे फिर्ता आउने धेरै समस्या त्यस क्रममा भोग्नुपरेको उनले बताए।

बजारमा पठाएको दूध फर्कन थालेसँगै उक्त दूधलाई दही बनाएर सिठ्ठी फुक्दै कुनै लाज नमानी बजारमा बिक्री गरेको बताउँदै उनले त्यस क्रममा डेरी खोलेर पनि पाँच लाख रुपैयाँसम्म घाटा व्यहोर्नुपरेको दुखेसो सुनाए।

त्यसपछि दूधबाट मिठाई, कुराउनी, छुर्पी आदि बनाएर बिक्री गर्दै आफ्नो आय बढाउँदै गएकामा त्यसै जगमा बेकरी, क्याटरिङ, टेन्ट हाउस हुँदै होटेलसम्मको व्यवसायमा सफलता हासिल भएको उनले बताए।

व्यवसायमा परिवारको साथ र सहयोग पनि आवश्यक हुने बताउँदै खनालले सुरुमा पाँच वर्षसम्म बेकरी, क्याटरिङ, टेन्ट हाउस सञ्चालन गर्दा कुनै कर्मचारी नराखी घरपरिवारकै सदस्य मिलेर व्यवसाय धानेको जानकारी दिए। 

'अहिले भने मेरा यी सबै व्यवसायमा घर परिवारका सदस्यबाहेक अन्य २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्,' उनले भने, 'मेरा व्यवसायमा चाहिने दूध, माछामासु आदिका लागि झण्डै ५० जनाले अप्रत्यक्ष रोजगारी पाएका छन्।'

निरन्तरको संघर्ष र इमानदार प्रयास भएमा रोजगारीका लागि विदेश नै जानुपर्ने अवस्था नरहेको बताउँदै उनले यहीँ बसेर धेरै गर्न सकिन्छ भन्ने आफू स्वयम् उदाहरण भएको बताए। हामीले गर्ने सबै कुरामा सफलता नमिले पनि निरन्तर लागिरहेमा अन्ततः सफलता हासिल हुने उल्लेख गर्दै उनले भने, 'दुःख र संघर्ष हरेक मानिसको जीवनमा हुन्छ। आत्तिनु हुँदैन। आफूमा रहेकोे आँटलाई विश्वास र मेहनत गर्नुपर्छ, सफल पक्कै भइन्छ।' वासुदेव पौडेल/रासस


प्रकाशित : आइतबार, पुस ६ २०८२१४:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend