यहाँ बाटोले शरीरलाई मात्र होइन मनको पनि परीक्षा लिँदोरहेछ। पहाडी उकालो चढ्दै गर्दा मानिसको अनुहारभन्दा फरक व्यवहारले आत्मियताको भ्रम चर्किन थाल्यो। बाटो मौन थियो। त्यो मौनताभित्र अनगिन्ती कथाहरूले एकैपटक सास फेरे। निकै लामो। कुनै पुरानो स्मृतिको पहरेदार आँखाअघि टक्क अडिरह्यो।
क्या गज्जवका मानिस छन् कुलुपोङ्खो भञ्ज्याङका ती शेर्पा दाइ। उनीसँग पहिल्यै माफी मागेँ। सामान्य विश्वासभन्दा बिलकुल फरक अन्थौरोमा उनी अपवाद हुन्। बाँकीले त यी किन आइरहेछन् भनेझैँ गरिदिए। साह्रै खल्लो। त्यति बिरसिलो व्यवहार कतै भोगिएकै थिएन। अझ पर्यटकका लागि अहो! अकल्पनीय!
विलक्षण अनुभूतिको सयौँ याद सँगाल्न उल्लासमा चालिएका पाइलाहरू शितमुनि छोपिएको झारझैँ ओसिलो भयो। वातावरणमात्र होइन उनीहरू पनि चिसमिरो नै थिए। पहाडका कथाबीच मन, बाटो र मौसमको बग्रेल्तीमा 'मुन्धुम'का डामहरू सोचेजस्तो देखिएनन्। कागजका ज्ञान र जमिनको व्यवहार फरक रहेछ।
'मनुष्यले जहाँ पुगिने भए पनि हिँडेको हुनुपर्छ, को पुगेको ठाउँ कसले देखेको छ र!' गहन जीवन दर्शन यो सन्दर्भअनुसार होइन तर उनीहरू जीवनको गोरेटो हिँड्न चाहेकै छैनन्। बसिरहनु नै उनीहरूको ध्येय छ।
उनीहरूलाई हेर्नु, चिन्नु, जान्नु, बुझ्नुमा खास रुची छैन। यसैयसै झिँजो मानिरहेका छन्। आगन्तुकको अनुहारको थकान र शिथिल मुस्कानसम्म नहेरी 'हुँदैन', 'छैन', 'पाइँदैन', 'मिल्दैन'को ओठे जवाफ दिइरहेका ती किन त्यहाँ छन्। कस्तो स्वागत गरिरहेछन् पर्यटकको।
किराँत सभ्यतासँग जोडिएको सम्पदा मुन्धुम क्षेत्रका जीवन्त उकालीओरालीमा पाइला चाल्ने योजनाले कात्तिक महिनामा हो त्यसतर्फ लागिएको। पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, सोलुखुम्बू तथा संखुवासभा सीमामा पर्ने मुन्धुम पदमार्ग किराँत समुदायको ऐतिहासिकतासँग पनि सम्बन्धित छ।
धरान बजारबाट बिहान ११ बजे गाडी चढेर रातले स्वागत गर्ने बेला भोजपुर पुगियो। अँध्यारोले छोपेर सुनसान बनेको बजारमा 'आउँदै छौँ है' भनेर खबर गरेको होटल खोज्नै सकस भयो। मोबाइलले इन्टरनेटमा अझै पनि 'ई' र 'एच' को संकेत देखाएर हाम्रो झमेलाको परीक्षा लिइरहेको थियो। बल्लतल्ल भेटिएको होटलमा ढोका ढ्यामढुम बन्द थिए। जसोतसो फोन सम्पर्कपछि बास मिल्यो।
बिहान उठेर लागियो चखेवातिर। मध्यपहाडी लोकमार्गमा पर्ने चखेवाको हरिया फाँटबाट उक्लिएसँगै मुन्धुम पदयात्रा सुरु हुन्छ। २ हजार ३ सय ५१ मिटर उचाइको चखेवा भञ्ज्याङदेखि ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी तथा ४ हजार १ सय ५३ मिटर उचाइमा रहेको सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ।
चखेवामा भात खाएरै उकालो लागौँ भन्ने योजना सफल भएन। 'भात पाइँदैन।' 'भात छैन।' 'माथिल्लो होटलमा होला।' 'उता सोध्नु त।' त्यहाँ तीन/चार होटल चहारेर फरक-फरक जवाफ पाएपछि एउटा होटलमा थुक्पा भेटियो। एक-एक कचौरा थुक्पा सकेर लागियो उकालो।
चखेवामा भिराला हरियो चौरमा डाँडाडाँडै बढ्दा प्रकृतिले 'अहो आयौ' भनेझैँ उज्यालिएर स्वागत गरिरहेको थियो। सन् २०१८ मा सुरु गरिएको मुन्धुम पदमार्गमा हरिया घाँसे मैदानदेखि जंगल र निर्जन उकाली ओराली पार गर्नुपर्ने रहेछ। पदमार्गमा कतै घरबास त कतै गोठबास रहेछन्। साल्पालगायतका केही स्थानमा होटलहरू पनि सञ्चालनमा छन्।
बिहान चखेवामा खाएको थुक्पाले धानिनेजति हिँडिसकेका थियौँ। मालुवापोखरीबाट उक्लिएर अघि बढिरहँदा अब धोद्रे धेरै पर पनि थिएन। धोद्रे पुगेर पनि भात खाने योजना भने सफल भएन। त्यहाँ धमाधम भात बाँडिरहेका होटलवालाहरूले हाम्रो अनुहारमा सिधा हेर्दा पनि नहेरी 'भात पाइँदैन', 'छैन छैन' भनिदिए। 'बसौँ न' भन्नु त धेरै परको कुरा भयो।
होटलबाहिर लहरै बसेर भात खाइरहेका यात्रुहरू देख्दा हाम्रो पेटले अझै भोक बढायो। हुन त अघाउन भातै खानुपर्ने होइन। त्यहाँ त भातबाहेकको विकल्प दिन पनि होटलवालाले मन गरेनन्। बिहान फोन गर्नेलाई मात्र भात दिइएको रहेछ। हामीले त्यसरी भातै नपाइएला भन्ने सोच्दै सोचेनौँ।
भात खान पाइएन भन्दा पनि त्यहाँ होटलवालाको निरस व्यवहारले साथी शिव बोहरासँगै मलाई पनि साह्रै बेमज्जा लाग्यो। हामी दुई हरेक वर्ष यसैगरी हिँड्छौँ। दर्जनौँ गन्तव्यमा पुगिसक्दा आजसम्म भात पाइँदैन भनेको हामीलाई थाहा थिएन। कर्णाली र सुदूरपश्चिम पूरै छिचोल्दा धान नफल्ने डाँडाहरूमा पनि भातै खान नपाएको अनुभव कहिल्यै भएन। 'एकछिन बस्नुस् पकाइदिन्छौँ है' भन्ने जवाफ नै पाउँथ्यौँ। यसपटक भने पूर्वले साह्रै निरस व्यवहार गर्दा पत्याउन मुस्किल भयो।
'दाल भात पावर, ट्वान्टी फोर आवर' को शैलीमा हिँड्ने यात्रुका लागि पहाडमा पनि त्यसबाहेक टन्न अघाउने खाना चाउचाउ नै बनिरहेको छ। हामी भने बोकेर लगेका कोदोको बिस्कुट र चकलेट खाएर उकालो लाग्यौँ।
पदयात्रीलाई सहज होस् भनेर प्राय बाटोमा ढुंगा छापिएका छन्। फूल फुल्ने याममा जाने हो भने दर्जनौँ प्रजातिका गुराँस हेर्न सकिने पदमार्गमा चाँप, कटुसका घना जंगल र विभिन्न जडीबुटीहरू पनि देखिन्छन्। बाँसका पोथ्रा प्रशस्त भेटिने बाटोमा हिँडिरहँदा रेडपाण्डासँगको जम्काभेट सामान्य भइदिन सक्छ।
मुन्धुम पदमार्गमा ८,८४८.८६ मिटरको सगरमाथा, ८,५१६ मिटरको ल्होत्से, ८,३८२ मिटरको ल्होत्से शार, ८,४६३ मिटरको मकालु, ८,१८८ मिटरको चोयु र ८,५८६ मिटर अग्लो कञ्चनजंघा जस्ता हिमाल परपर देखिन्छ। यात्रामा कतैकतै कर्योलुङ, नुम्बर, अमादम्ब्लम, थामसेर्कु, काङतेङ, बरुत्सेजस्ता हिमाल पनि झुल्किन्छन्।
किराँतको प्रागऐतिहासिक थलो साल्पापोखरी र सिलिचुङ पवित्र तीर्थस्थल भएकाले मुन्धुममा वर्णित सांस्कृतिक पात्रहरू, मूल्य मान्यता र जनविश्वास प्रतिविम्बित हुने गरी विकासका केही काम भइरहेका रहेछन्। स्थानीयहरू साल्पापोखरीलाई देवीहरूले बसोबास गरेको ठाउँ मान्छन्। किराँत मिथकका मुख्य दुई पात्र सुम्निमा र पारुहाङका कथा साल्पापोखरीसँग जोडिएका छन्।
यस्तो वृहत धार्मिक सांस्कृतिक इतिहाससँगै प्रकृतिको सुन्दरताले सिन्चिए पनि यहाँ पर्यटनको विकासमा चाहिने पहिलो विषय 'आत्मियता'को कमी रहेछ। पर्यटकलाई कसरी स्वागत गर्नुपर्छ भन्ने ज्ञान यहाँ 'जाल थापेर बसेका'हरूलाई फिटिक्कै रहेनछ। त्यही भातको गफबाट सुरु भएर विगतका अनुभव सम्झँदै हिँडिरहँदा साँझले आउने संकेत गरिसकेको थियो।
मैयुङ डाँडानजिक हाँसपोखरीबाट अघि बढ्ने कि नबढ्ने हामीलाई दोधार भयो। पदयात्री हिँड्ने बाटोमा चाहिने संकेत चिन्हहरू पनि थिएनन्। यो ठाउँ आइपुग्यो, यो ठाउँ आइपुग्न अब यति किलोमिटर बाँकी छ, यो ठाउँ यति उचाइमा छ भन्ने सामान्य विषयहरू लेखेर राखिएका भए हामीलाई त्यति दोधार हुने थिएन।
कोशी प्रदेश सरकारले ठूलो तामझाम गरेर घोषणा गरेको 'भ्रमण वर्ष' कस्तो चलिरहेको रहेछ आफैले भोग्यौँ। कोशी प्रदेश पर्यटन वर्ष २०८२ को नारा 'कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान' राखिए पनि आवश्यक तयारी भने एकरत्ति देखिएन।
हाँसपोखरीबाट अघि बढेर सातदोबाटो वा बलौटे भञ्ज्याङ पुग्ने समय बाँकी छ कि छैन भन्ने ज्ञान हामीलाई भएन। मोबाइलमा टावर आउन छाडेको निकै तलदेखि हो।
धेरै यात्रुहरूको गन्तव्य मैयुङ डाँडासम्म मात्र हुने रहेछ। अघि बढेर साल्पातिर लाग्नेलाई भेटिनेहरूले नै खुब आँटिलो मानिरहेका थिए। भोजपुरमा भेटिनेहरूले पनि हामीलाई साल्पातिर जान सकिँदैन मैयुङसम्म मात्र जानु भन्ने सल्लाह दिइरहेका थिए। हिँड्न सकिँदैन र बास पाइँदैन भन्ने उनीहरूको तर्क थियो।
हामीलाई भने साल्पातिर नै लाग्नु थियो। रात हाँसपोखरीमै बसेर बिहानमात्रै साल्पातिर बढ्ने भयौँ। हाँसपोखरी निकै मनमोहक छ। हरिया चौरको तल्लो किनार एउटा होमस्टे रहेछ। हामी त्यो रात त्यहीँ बस्यौँ।
बिहान उठेर चौरबाट थोरै उकालो, जंगलको केही ओरालो लागेर सातदोबाटो हुँदै खोटाङ बलौटे भञ्ज्याङ पुग्यौँ। यता अब यात्रुको संख्या निकै कम भइसकेको छ। फाट्टफुट्ट फर्कने र उक्लनेहरू भेटिए। बलौटे भञ्ज्याङमा एउटा गोठमा भात पाकिरहेकै बेला हामी पुग्यौँ। गाडेका दुईथरी अचारसहितको त्यो भातले वर्षौँदेखिको भोक मेटाएजस्तो अथाह सन्तुष्टि दियो। अघाउँजी भात खान पाएको प्रसन्नता त्यस्तो पो हुने रहेछ। तमाम जीन्दगी भातदेखि भातसम्म किन बढिरहेका छन् बल्ल बुझे झैँ लाग्यो।
बाटोको व्यापकता नाप्दै हामी फेरि उकालै लाग्यौँ। जंगलको थोरै उकालोपछि केही तेर्सो बाटो हुँदै लाग्यौ लौरेको उकालोतिर। लौरेको कठिन उकालोले भने विकासको बाटो भेटेको छैन। छेउछाउका बुट्यान समाउँदै जति उक्लियो उकालो उति बढिरहेको थियो। गन्तव्य थप पर।
शरीर थाकेझैँ भयो। सास छोट्टियो। पाइला अनिश्चित बने। त्यो थकानले आफूलाई चिनाउने अवसर दियो। जब शरीर कमजोर हुँदै जान्छ मनको उन्माद पनि बिस्तारै ओरालो लाग्न थाल्छ। यहीँ कतै मानिस आफूभन्दा ठूलो शक्तिको अस्तित्व स्वीकार गर्न थाल्छ। अब भित्री संसारको सम्पर्क टुट्न थाल्यो। जंगल गहिरिँदै जाँदा शब्दहरू अनावश्यक लाग्न थाले। मौनता डरलाग्दो थियो।
अब सकिएला, अब सकिएला, अब त यो अन्तिम गौँडा हो भन्दै हिँडिरहँदा ३ हजार ६ सय २६ मिटर उचाइको लौरेको उकालो साँच्चै सकिएर थोरै झरेपछि आँखाअघि एकैचोटी आइपुग्यो ३ हजार ४ सय २६ मिटर उचाइको रावाधाप।
रावाधापमा केही गोठहरू छन्। यात्री हिँड्ने समय भएकाले गोठबासको व्यवस्था मिलाइएको छ। एकैछिन शरीर यहीँ बिसाउने भइयो। बाटोबारे सोधखोज गरियो। पेटलाई धेरै भोक अनुभव गर्न नदिइ यहाँ नै केही खाने सल्लाह भयो। आलुमा झोल हालेर भात जुर्यो। मीठो गफगाफसहित भात खुवाएकी साउनीले अन्तिममा पैसा मागिन् एक थालको ९ सय रुपैयाँ।
आलुमा झोल हालेर खाएको भातको ९ सय रुपैयाँ? मनैमा प्रश्न गर्दै पैसा तिर्यौँ र मनैले मात्र भन्यौँ, 'हिमालमै बसेर खाँदा पनि तिरेका थिएनौँ यति त! यो यति दुर्गम ठाउँ हो त? खानुअघि मोल सोध्नुपर्ने रहेछ। हत्तेरिका!' तीनले हामीमा त्यत्रो के सम्पन्नता देखिन् र एकैपटक धनी हुन चाहिन्, खै!
यात्रा केवल गन्तव्यतर्फ होइन आफैँभित्र पनि मोडिँदै थियो। मानिसहरूको अनुहार र मनबीचको गहिराइ नाप्न थालेका थियौँ। अघि बढिरहँदा मानिसका पाइला कम थिए तर प्रकृतिको उपस्थिति बाक्लिँदै थियो। तीमात्र हाम्रो सहृदयी बने।
जति अघि बढ्यो परका अनुभवहरू मनभित्र गाँसिदै गए। ती यात्राले दिन खोजेको एउटा सन्देश जस्तो पनि लाग्न थाल्यो। यो बाटोले परीक्षण गर्छ- मान्छेको, धैर्यताको, स्वीकार्यताको र अपेक्षा त्याग्ने क्षमताको। यहाँ कोही पाहुना छैनन्, जसले सहन सक्छ उसैका लागि बाटो खुल्छ। बाँकीका लागि यो नक्सामा देखिने रेखा मात्र हो।
प्रश्न, सल्लाह र अन्तर्मनको वादविवादमा ओरालो झर्दै अघि बढिरहँदा पुगियो निकास गाउँ। अब यहाँबाट हामीले बेलुका बास बस्ने सोचेको कुलुपोङ्खो पुग्न ठाडै उकालो चढ्नुपर्ने छ। साँझको चकमन्नता नजिक हुन खोजिसक्यो। हामीले 'पुगिन्छ त नि' भनेर पाइला बढायौँ।
उकालो चढ्दै गर्दा घाम ओझेल पर्दै गयो। थकान बढ्यो। गोडाले साथ नदेलाझैँ गर्यो। समय थामिएजस्तो लाग्यो। हामी हतारमा त थिएनौँ तर पुग्नुपर्ने बाध्यता थियो। कुलुपोङ्खोअघि टाउको ओत लाउन मिल्ने कुनै ठाउँ थिएन। तर घुँडाले दोब्रिन मान्न छाड्यो। गोडा लतारेर बढ्नु पर्ने भयो। साँझ बढ्दै रात नजिक भइरहेको थियो। जसोतसो पुगियो कुलुपोङ्खो।
कुलुपोङ्खोको पहिलो होटलको सानो चारपाटे झ्यालबाट भित्रतिर हेरेर भन्यौँ, बास दिनुपर्ने भयो है साउजी, पाइएला नि?
'हुन्छ बस्नुस न। ठाउँ त धेरै छैन मिलेर बसौँला नि।'
क्या अमृत बचन सुनियो। यस्तो आत्मिय स्वर सुन्न नपाएको वर्षौँ बितिसकेको जस्तो लागिरहेको थियो। क्या गज्जवका मानिस रहेछन् ती होटलका शेर्पा दाइ। तातोपानी खुवाए। तातो चिया खुवाए। अमलेटसहित बनाएर भात खुवाए। जसोतसो कोचिएर भए पनि ओड्नेसहित सुत्ने व्यवस्था मिलाए। मीठो बोले। त्यो भेगमा उनी बिलकुल फरक थिए। मान्छेजस्ता मान्छे।
बिहान तातोपानी र चिया खाइओरी हामी साल्पातिर लाग्यौँ। बिहानैदेखि झरी पर्यो। बादलले पहाड सबै ढाकेको छ। हिमाली दृश्य हेर्न सिलिचुङ पहाड चढ्न मौसमले रोकिदियो। हिजोको हिँडाइले घाइते बनाइदिएको गोडा पनि ठीक भइसकेको छैन। हुन पनि चखेवाबाट हिँडेको १९ घण्टामा हामी साल्पा पुगेका थियौँ। त्यो समयमा त्यहाँ पुग्नु त्यो भेगमा पर्यटकका लागि अविश्वसनीय रहेछ।
साल्पा पोखरीतिर बढ्दै गर्दा मुन्धुमका कथा अब मिथक जस्तामात्र लागेनन्। ती यही जंगल, यही ढुंगा र यही हावामा घुलिएका जीवनदर्शन जस्ता बने। सुम्निमा र पारुहाङका कथाहरू प्रकृति र मानिसबीचको सन्तुलनका रूपक जस्ता लाग्न थाले। यो पदमार्गमा सुविधा कम छन् तर संकेत प्रशस्त छन्। ती संकेत लेखोटमा छैनन्, थकानमा, मौनतामा र असहजतामा लुकेका छन्।
हामीलाई अब आएकै बाटो फर्कनु थिएन। त्यो कहालीलाग्दो भइसकेको थियो। होटलका शेर्पा दाइसँग नयाँ बाटोबारे बुझ्यौँ। उनले हामीलाई राम्ररी अर्थ्याइदिए। दुई जनाले दुई छाक भात, पटक-पटक तातोपानी र चिया खाएको साथै बास बसेकोसमेत गरेर उनले १५ सय रुपैयाँ लिए। हामीले फेरि रावाधापको आलुमा झोल हालेको भातको ९ सय रुपैयाँ सम्झियौँ र हाँस्यौँ।
कुलुपोङ्खोबाट ओरालो झरेर फेदी बजार पुग्न सकिने रहेछ। जसोतसो गोडा लतार्दै आदि बाटो हिँड्यौँ। आदिजसो बाटो ट्रयाक्टर चढ्यौँ। फेदी बजार पुगेर बास बसियो। त्यहाँबाट बिहान गाडी चढेर लागियो संखुवासभा र त्यहाँबाट फेरि धरान।
शरीरको थकान उस्तै भए पनि अब मन हलुको थियो। ती अनावश्यक भार बाटैमा झरिसकेका थिए। अब मनका प्रश्नहरूको उत्तर खोज्नुपर्ने बाध्यता पनि थिएन। त्यही स्वतन्त्रता सबैभन्दा ठूलो उत्तर बनिरहेको थियो। हुन पनि समय घडीमा होइन सासमा गनेर फर्किएका थियौँ हामी।
यो पनि पढ्नुहोस् -