काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले बहुप्रतिक्षित नयाँ एसयूभी सियराले भारतमा एकैदिन ७० हजार वटाभन्दा बढी बुकिङ पाएको छ। एक महिनाअघि सफ्ट लन्च गरेको टाटा मोटर्सले नोभेम्बर २५ मा मूल्यसहित अन्य विशेषताहरु सार्वजनिक गरेको थियो।
पहिलो चरणमा कम्पनीले भारतीय बजारमा नयाँ सियरा एसयूभीको पेट्रोल भर्सन सार्वजनिक भएको हो। अल न्यु टाटा सियरा एयसूभी सार्वजनिक भएसँगै भारतमा औपचारिक रुपमा बुकिङ खुलेको २४ घण्टामै ७० हजार वटा कार बुकिङ भएको कम्पनीले जनाएको छ।
टाटा मोटर्सले भारतमा सुरुमा सियराको आईसीई भर्सन सार्वजनिक गरेको हो भने २०२६ को मध्यसम्ममा ईभी भर्सन समेत सार्वजनिक गर्ने बताएको छ।
सियरा टाटाको नयाँ प्लेटफर्म, नयाँ टेक्नोलोजी र मोर्डन डिजाइनमा बनेको एसयूभी हो। यसको अगाडिको भाग पुरानो मोडेलभन्दा पूर्ण रूपमा फरक देखिएको छ। बक्सी तथा मस्कुलर बडी डिजाइन भएको टाटा सियराको अगाडि एलईडी डीआरएल, स्प्लीट हेडल्याम्प र पछाडि कनेक्टेड एलईडी टेललाइट दिइएको छ।
टाटा मोटर्सका अनुसार थप १ लाख ३५ हजार जनाले सियरा एसयूभी बुकिङको प्रक्रियामा रहेको जनाएको छ। ती उपभोक्ताले बुकिङ प्रक्रिया थालेको र औपचारिक प्रक्रिया पूरा हुने क्रममा रहेको बताएको छ।
टाटा मोटर्सले सियरामा ठूलो १९ इन्चको अलोय ह्वील, फ्लस डोर ह्यान्डल, सिल्हूट कर्नरिङ फग लाइट जडान गरेर यो एसयूभीलाई आकर्षक बनाएको छ। टाटाले सियरा एसयूभी कम्पनीकै सबैभन्दा धेरै टेक फिचर भएको एसयूभी मोडलका रुपमा सार्वजनिक गरेको हो। यसमा ट्रिपल स्क्रीन ड्यासबोर्ड रहेको छ। यो टाटा मोटर्सले उत्पादन गरेको कारमा भएका मध्येको सबैभन्दा युनिक विशेषता हो। १२.३ इन्चको दुइटा र १०.२५ इन्चको एउटा टचस्क्रीन राखिएको छ।
सियरामा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले स्टेरिङ–माउन्ट, डुअल जोन क्लाइमेट कन्ट्रोल, चंकी स्टीयरिङ ह्वील लेदरेट, भेन्टिलेटेड फ्रन्ट सिट, प्रिमियम अडियो सिस्टम, प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ अगाडि र पछाडिको आर्मरेस्ट, पछाडिको एसी भेन्टहरू, आईआरभीएमसमेत उपलब्ध रहेको छ।
नयाँ सियराको इन्जिन पहिलाको भन्दा पावर फुल छ। यसमा १.५ लिटर क्षमताको डाइरेक्ट इन्जेक्सन टर्बाे चाज्र्ड पेट्रोल इन्जिन छ। उक्त इन्जिनले १ सय ७० हर्सपावर र २ सय ८० न्यूटन मिटर टर्क उत्पन्न गर्छ। यसमा ६ स्पीडको म्यानुअल र ७ स्पीडको अटोमेटिक गियरबक्स रहेको छ।
त्यस्तै सियरा १.५ लिटर डिजेल इन्जिनमा पनि उपलब्ध छ। यसले १ सय १८ हर्सपावर र २ सय ६० न्युटन मिटर टर्क दिन्छ। यसमा सुरक्षाका लागि ६ वटा एयरब्याग, ईबीडीसहितको एबीएस, ईएससी, ३६० डिग्री क्यामेरा, लेभल २ एडास, क्रुज कट्रो, स्वचालित इमरजेन्सी ब्रेकिङ, लेन किप असिस्ट, लेन डिपाचर अलर्टलगायत विशेषताहरु उपलब्ध छ।
टाटा मोटर्सले सियरा एसयूभी बुकिङ गर्नेहरुले जनवरी १५ बाट डेलिभरी दिने जनाएको छ। भारतीय बजारमा सियरा एसयूभीको मूल्य ११ लाख ४९ हजारदेखि २१ लाख ४९ हजार भारुसम्म तोकिएको छ।
भारतमा बुकिङ सुरु भएको टाटाको नयाँ सियरा एसयूभी २०२६ को फेब्रुअरी वा मार्चसम्ममा नेपाली बजारमा आउनेछ। भारतमा आईसी इन्जिनयुक्त सियरा पहिला सार्वजनिक भएपनि नेपालमा पनि पहिलो चरणमा आईसी इन्जिन नै आउनेछ।
