आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

यसकारण असफल भयो 'कोशी प्रदेश पर्यटन वर्ष'

सोमबार, मंसिर २९ २०८२
यसकारण असफल भयो 'कोशी प्रदेश पर्यटन वर्ष'

पोखराका पर्यटन व्यवसायीले सडक महोत्सवमा प्रचारलाई प्राथमिकता दिइरहेको बेला पर्यटन वर्ष मनाएको कोशी प्रदेश सरकार भने एमाले महाधिवेशनमा केन्द्रित छ। मुख्यमन्त्री तथा 'कोशी प्रदेश पर्यटन वर्ष २०८२' मूल आयोजक समितिका संयोजक हिक्मतकुमार कार्की सचिवको उम्मेदवार बनेका छन्।

विराटनगर- पोखराका पर्यटनकर्मीको टोली पूर्वका सहरहरूमा भ्रमण सकेर चितवन हुँदै पोखरा फर्किएको छ।

पर्यटनकर्मीहरूले पूर्वको विराटनगर, धरान र इटहरी हुँदै जनकपुर र चितवनका पर्यटन उद्यमी तथा पत्रकारसँग संवाद गरे। स्थानीय तहका जनप्रतिनिधिलाई र पर्यटनकर्मीलाई पोखरा भ्रमणको निम्तो बाँड्दै कोशी प्रदेशको पर्यटनका सम्भावना बारे अनुभव सुनाए। 

पर्यटनकर्मीहरू पुस १३ गतेदेखि १७ गतेसम्म अंग्रेजी नयाँ वर्ष सन् २०२६ को स्वागतमा हुन लागेको पोखरा प्रवर्द्धन कार्यक्रमअन्तर्गत 'पोखरा सडक महोत्सव'को प्रचारमा लागेका हुन्। २७औँ पोखरा सडक महोत्सवमा पोखरा पर्यटकको लागि सुरक्षित रहेको सन्देश प्रवाह गर्न लागिएको छ। 

जेनजी आन्दोलनपछि पोखराको सुरक्षालाई लिएर चासो बढेकाले देशैभर प्रचार अभियान चलाइएको भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका अध्यक्ष गोपीचन्द्र भट्टराईले बताए। विभिन्न डिजिटल प्लेटफर्ममार्फत सन्देश प्रवाह गरिरहेको भए पनि भेटेरै निमन्त्रणा दिन खोजिएको उनको भनाइ छ। 

रेष्टुरेन्ट एण्ड बार एसोसिएशन नेपाल (रेबान) पोखराको आयोजनामा फेवातालको किनार लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा पोखरा सडक महोत्सव हुन लागेको हो। २७ वर्षदेखि आयोजना हुँदै आएकाले सो कार्यक्रममा निम्ता बाँड्न देशभरि हिँडेको रेबान पोखराका उपाध्यक्ष वसन्त गौतमले बताए।

यसरी असफल भयो 'कोशी प्रदेश पर्यटन वर्ष' 

पोखराका पर्यटन व्यवसायीले सडक महोत्सवमा प्रचारलाई प्राथमिकता दिइरहेको बेला पर्यटन वर्ष मनाएको कोशी प्रदेश सरकार भने एमाले महाधिवेशनमा केन्द्रित छ। मुख्यमन्त्री तथा 'कोशी प्रदेश पर्यटन वर्ष २०८२' मूल आयोजक समितिका संयोजक हिक्मतकुमार कार्की सचिवको उम्मेदवार बनेका छन्। 

लामो समय सचिवविहीन भएको पर्यटन, वन तथा वातावरण मन्त्रालय पनि थप काम गर्ने मनस्थितिमा छैन। विभागीय मन्त्री नै पर्यटन वर्ष असफल भएको स्वीकार गर्छन्। जेनजी आन्दोलनलाई दोष लगाउँदै उनले आगामी वर्षहरूमा थप मेहनत गर्ने बताए। 

यहीबेला जेनजी आन्दोलनको कारण पर्यटन आवागमनमा असर पर्न सक्ने अनुमान गरेर पोखराका पर्यटनकर्मी पूर्वका सहरमा छन्। विभिन्न देशबाट आएका पर्यटकलाई डिजिटल प्लेटफर्ममार्फत पोखरा सुरक्षित रहेको सन्देश प्रवाह गरिरहेका छन्।

ईमेलमार्फत पनि पर्यटकहरूसँग संवाद गर्ने र निमन्त्रणा पठाउने काममा व्यस्त छन्, पोखराका पर्यटन उद्यमी। उनीहरूले जेनजी आन्दोलनको भन्दा पनि अन्य कारणले नै कोशीको पर्यटन वर्ष असफल भएको संकेत गरेका छन्। 

आपसी समन्वय 

पर्यटकको आगमन बढाउन एउटा मात्र क्षेत्र सक्रिय भएर सम्भव नहुने बताउँदै उनीहरूले सरकार, समुदाय र निजी क्षेत्र सबैले समान पहल गर्नुपर्ने बताएका छन्। सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्ने र समुदायमा पर्यटकीय चेतना विकासका लागि लगानी गर्नुपर्ने उनीहरूको सुझाव छ।

पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईका अनुसार समन्वयले मात्र सहअस्तित्व निर्माण हुन्छ। सबैको अस्तित्व भएको परियोजना मात्र सफल हुन्छ। 

कोशी प्रदेशको हकमा भने पर्यटन वर्षका लागि विभिन्न समिति र उपसमिति गठन भए। उपसमितिका सदस्यहरूबीचमै बोलचाल बन्दको अवस्थासम्म पुगेको छ। समिति र उपसमितिको संयुक्त बैठकसमेत नभई पर्यटन वर्ष समाप्त भएको छ।

निजी क्षेत्रले सरकारको लगानी मात्र खोज्ने र सरकारले आफ्नो निकटका व्यवसायीमार्फत लगानी गर्ने अभ्यासले कोशी पर्यटन वर्ष असफल भएको देखिन्छ। 

पर्यटकीय प्याकेज

पोखरा पुगेका पर्यटकलाई प्याकेजमा अन्नपूर्णदेखि मनास्लु बेसक्याम्पसम्म पुर्‍याएको अनुभव भट्टराईले सुनाए। साना-ठूला प्याकेज तयार पारेर पर्यटकको समय र मौसमअनुसार बेच्न सकिने उनको भनाइ छ।

घान्द्रुक र अन्नपूर्णका लागि फरक पर्यटक हुन्छन् भन्ने आफूहरूले बुझेको उनी बताउँछन्। आसपासका व्यवसायीसँगको समन्वयमा यो सम्भव हुने उनले स्पष्ट पारे। 

कोशी प्रदेशमा हलेसीदेखि पाथीभरासम्म ठूलो प्याकेज र बुढासुब्बादेखि इलामको सानो पाथीभरासम्म सानो प्याकेज बनाएर काम गर्न सकिने उनको बुझाइ छ। मकालु र कञ्चनजंघा हिमालका लागि झनै धेरै सम्भावना उनले देखेका छन्। 

पर्यटकीय क्षेत्रको सन्दर्भ सामग्री 

गत वर्ष कञ्चनजंघा बेसक्याम्पसम्म जाने तयारीमा आएका सुमन भट्टराईले सन्दर्भ सामग्री नपाएको गुनासो गरे। पोखरामा डुलुवा समूहमार्फत देशैभर घुमिरहेका उनी विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्दै त्यसको प्रचार गर्ने काम गर्छन्।

कञ्चनजंघाको यात्रामा निस्किएका उनले कुनै पनि निकायले भरपर्दो जानकारी नदिएका कारण धेरै समस्या भएको बताए। कोशी प्रदेशमा कञ्चनजंघा र मकालु भर्जिन गन्तव्य भएको भन्दै सन्दर्भ सामग्रीसहितको प्रचार गर्न सक्नुपर्ने उनले बताए।

पर्यटन क्यालेन्डर

कोशी प्रदेशमा बजेट धेरै भएको तर एकता नभएको उद्योग वाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष सूर्यबहादुर भुजेलले बताए। 'कोशीको सनसेटदेखि कोशीमै बोटिङको सम्भावनालाई कोशीले चिन्न सक्नुपर्छ। पोखरामा जस्तै धेरै सम्भावना कोशीमा छ। त्यसलाई उजागर कसरी गर्ने र बजारमा कसरी बेच्ने भन्नेमा पर्यटनकर्मीबीचमा एकता जरुरी छ। सरकारले क्यालेन्डर बनाउने र पर्यटनकर्मीसँग समन्वय गरेर काम गर्दा कति धेरै काम गर्न सकिन्छ,' उनले भने। 

खानाको परिकार र संस्कार 

डुलुवाको २१ जनाको टोलीसहित कोशी प्रदेश डुलिसकेका सुमन भट्टराईले राई-लिम्बूको संस्कृतिको प्रशंसा गरे। स्थानीय आदिवासीले बनाएको परिकार र उनीहरूको आतिथ्य कोशी प्रदेशको सम्पत्ति भएको उनको बुझाइ छ।

सरकारले स्थानीय आदिवासीमा पर्यटकीय चेतना बढाउन सक्दा स्थानीय परिकार बेचेरै धनी हुने अवसर उनले देखेका छन्। त्यसका लागि सरकारी पहल र समन्वय नै महत्त्वपूर्ण रहेको उनले बताए। 

डिजिटल प्रचार

पोखरा भ्रमण वर्ष २०२५ का संयोजक भट्टराईले युट्युब र भ्लगरहरूबीचमा प्रतिस्पर्धा चलाउनुपर्ने बताएका छन्। कोशीका महत्त्वपूर्ण पर्यटकीय गतिविधिको छनाेट गर्ने र त्यसको प्रचारका लागि भ्लगर र युट्युब च्यानलको प्रयोग गर्न सकिने उनको भनाइ छ। 

पछिल्लो वर्ष मनास्लु बेसक्याम्प पुग्ने पर्यटकको संख्यामा देखिएको उत्साह त्यही भ्लगरहरूका कारण सम्भव भएको उनले बताए।

'यो समयमा डिजिटल प्रचारको माध्यमबाट एकैपटक लाखौँ पर्यटकसमक्ष पुग्न सकिन्छ। समयको मागलाई बुझेर लक्षित वर्गमा पुग्ने गरी प्रचार गर्नुपर्छ। तत्काल नभए पनि केही समयमा त्यसको फाइदा देखिन थालिहाल्छ,' उनले भने ।  


प्रकाशित : सोमबार, मंसिर २९ २०८२१४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend