काठमाडौं- कृषि विकास बैंक लिमिटेडले केटीएम सिटी ब्राण्ड उत्पादन गर्ने शेर्पा आउटडुअर्स प्रालिलाई प्रवाह गरेको ठूलो रकमको ऋण उठ्न नसक्दा बैंक स्वयं गम्भीर वित्तीय जोखिममा परेको छ।
कमजोर वित्तीय अवस्थाबाट गुज्रिरहेको कम्पनीलाई जोखिमपूर्ण रहेको भन्दै रेटिङ एजेन्सीले चेतावनी दिँदा पनि तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायको दबाबमा झन्डै ८० करोड रुपैयाँ ऋण प्रवाह गरिएको थियो। त्यसयता नयाँ सीईओको रुपमा आएका गोविन्द गुरुङ पनि उक्त ऋण उठाउन असफल भएका छन्।
अघिल्लो सीईओ उपाध्यायले दबाबमा ऋण प्रवाह गराएपनि नयाँ सीईओ गुरुङले न ऋण उठाउन सकेका छन् न त तत्कालीन सीईओलाई कारबाही नै गर्न सकेका छन्।
यस्तै ऋणका कारण बैंकको खराब कर्जाको ग्राफ बढ्दो छ। गत असोजसम्म बैंकको खराब कर्जा ४.७८ प्रतिशत पुगेको छ।
२०७८ सालमा प्रवाह गरिएको उक्त ऋणको पाँच वर्ष पुग्न लाग्दा पनि न साँवाको किस्ता उठेको छ न ब्याज नै। ऋण असुल हुन नसक्दा ब्याजसहित बैंकको जोखिम दायित्व हाल बढेर करिब १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। यसले सार्वजनिक स्वामित्वको कृषि विकास बैंकलाई थप दबाबमा पारेको छ।
पछिल्ला चार वर्षमा कम्पनीको खुद नाफा औसत १ प्रतिशतमात्रै रहेको अवस्थामा तीन शीर्षकमा ७९ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरिएको थियो। शेर्पा आउटडुअर्सअन्तर्गतका दुई कम्पनीलाई बैंकको ठमेल शाखाबाट ऋण दिइएको थियो। शेर्पा आउटडुअर्स प्रालिका लागि १८ करोड ८० लाख रुपैयाँ व्यावसायिक ऋण दिइएको थियो भने शेर्पा आउटडुअर्स स्पोर्ट्स गुड्स इन्डस्ट्रिजका लागि ९ करोड ६० लाख रुपैयाँ व्यावसायिक ऋण र ५२ करोड ९० लाख रुपैयाँ आवधिक कर्जा प्रवाह गरिएको थियो।
उक्त ऋण प्रवाह हुँदा कम्पनीको वित्तीय अवस्था कमजोर र अस्थिर रहेको इक्रा नेपालले गरेको रेटिङ प्रतिवेदनमै उल्लेख थियो। कम्पनीले १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणको रेटिङ गराएकोमा ‘रेटिङ इक्रा एनपी एलबी प्लस’ दिइएको थियो, जसले उच्च जोखिम संकेत गरेको थियो। प्रतिवेदनमा कमजोर तरलता, उच्च प्रतिस्पर्धा र अस्थिर बजारका कारण कम्पनीको अवस्था दिगो नरहेको उल्लेख गरिएको थियो।
झापामा करिब २ अर्ब २७ करोड रुपैयाँ लगानीमा नयाँ प्लान्ट सञ्चालन गर्ने योजनाअन्तर्गत जग्गा खरिदलगायत प्रारम्भिक तयारीमै ठूलो खर्च भएको र त्यसका लागि थप ऋण लिँदा साँवा-ब्याज भुक्तानी चुनौतीपूर्ण हुने चेतावनी पनि रेटिङमै दिइएको थियो।
कम्पनीले नेपाल स्काउट र अखिल नेपाल फुटबल संघ (एन्फा) सँग पोशाक आपूर्तिको सम्झौता गरेको भए पनि ती सम्झौता टुटेमा कम्पनीको सम्भावित आम्दानी गम्भीर रूपमा प्रभावित हुने उल्लेख गरिएको थियो। नेपाल स्काउटसँग २० वर्षे आपूर्ति सम्झौता भएको दाबी गरिए पनि स्काउट आफै ठूलो ग्राहक नभएको र सदस्यहरूलाई किट खरिदमा स्वतन्त्रता रहेकाले आम्दानी दिगो नहुने विश्लेषण प्रतिवेदनमा समेटिएको थियो।
यति गम्भीर चेतावनीका बाबजुद कृषि विकास बैंकले ऋण प्रवाह गरेको देखिन्छ। अझ विवादास्पद पक्ष के छ भने ऋण प्रवाह गर्ने बेला बैंकका सीईओ रहेका उपाध्याय बैंकबाट बाहिरिएपछि सोही शेर्पा आउटडुअर्स कम्पनीको सीईओ बनेका थिए। पछि विवादमा परेपछि उनले राजीनामा दिएका थिए।
बैंक उच्च स्रोतका अनुसार यस घटनाले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व देखाउँछ। 'वित्तीय रूपमा कमजोर कम्पनीमा उच्च जोखिमसहित ऋण लगानी गर्नु र बैंकबाट अवकाश पाउनेबित्तिकै त्यही कम्पनीको प्रमुख कार्यकारी बन्न पुग्नुले गलत नियत र निर्णयको आशंका जन्माएको छ,' उच्च स्रोतले भन्यो, 'यसले सार्वजनिक बैंकको ठूलो रकम डुब्ने जोखिम बढाएको छ।'
कमजोर अवस्था थाहा हुँदाहुँदै गार्मेन्ट उद्योगमा ऋण प्रवाह गर्नु र पछि आफैं त्यही कम्पनीको नेतृत्व लिनु सार्वजनिक संस्थालाई जोखिममा धकेल्ने निर्णय भएको उनीहरूको निष्कर्ष छ। अहिले उक्त ऋणको भारी कृषि विकास बैंकमाथि परिरहेको छ तर जिम्मेवारी र जवाफदेहिता भने अझै स्पष्ट भएको छैन।
बैंकका अधिकांश वित्तीय सूचक नकारात्मक
कृषि विकास बैंक लिमिटेडको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा झन्डै शतप्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको खुद नाफा ९६.९९ प्रतिशतले घटेर ५७ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यही अवधिमा बैंकले १९ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको खुद ब्याज आम्दानीमा भने उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ५४ करोड रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बढेर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। तर बढ्दो लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) ले नाफामा प्रत्यक्ष नकारात्मक असर पारेको देखिन्छ। यस शीर्षकमा बैंकले अघिल्लो वर्ष ९० करोड रुपैयाँ छुट्याएकोमा यस वर्ष १ अर्ब ४६ करोड रुपैयाँ प्रोभिजन गरेको छ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी ०.१७ रुपैयाँमा सीमित रहेको छ भने प्रतिसेयर नेटवर्थ २३९ रुपैयाँ ५२ पैसा छ। निष्क्रिय कर्जा अनुपातमा भने खासै सुधार देखिएको छैन। कुल कर्जामा निष्क्रिय कर्जाको हिस्सा अघिल्लो वर्ष ४.७८ प्रतिशत रहेकोमा यस वर्ष पनि उही स्तरमा कायम छ।
विवादमा परेका कृषि विकास बैंकका पूर्वसीईओ उपाध्यायमाथि राष्ट्र बैंक र अर्थ मन्त्रालयले थाल्यो छानबीन
कृषि विकास बैंकमा अनिलकुमार उपाध्यायको बदमासी : १ प्रतिशत खुद नाफा निश्चित नभएको कम्पनीलाई ८० करोड ऋण लगानी
कृषि विकास बैंकमा हुँदा ८० करोड ऋण दिलाएर केटीएम सिटीको सीईओ बनेका उपाध्यायले दिए राजीनामा
कृषि विकास बैंकमा खराब सूचकको भारी बोकाएर गए पूर्वसीईओ उपाध्याय, सूचक पाँच वर्षअघिकै अवस्थामा
कृषि विकास बैंकको सीईओ हुँदा जसलाई ८० करोड ऋण दिए, त्यही कम्पनीको सीईओ बने उपाध्याय