आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

महिन्द्रा ब्रान्डको सवारी बेच्ने अग्नि इन्कर्पोरेटेडले एक वर्षमै गर्‍यो ७ अर्ब १३ करोडको व्यापार

बुधबार, मंसिर २४ २०८२
महिन्द्रा ब्रान्डको सवारी बेच्ने अग्नि इन्कर्पोरेटेडले एक वर्षमै गर्‍यो ७ अर्ब १३ करोडको व्यापार

अग्नि इन्कर्पोरेटेड सन् १९९१ देखि महिन्द्राको नेपाली बजारमा एकल आधिकारिक वितरकका रूपमा सक्रिय छ। कम्पनीको देशभर १७ शोरूम र १६ क्षेत्रीय डिलरशिप शाखाहरू छन्।

काठमाडौं- नेपालमा महिन्द्रा ब्रान्डका सवारी साधन बिक्री-वितरण गर्दै आएको अग्नि इन्कर्पोरेटेड प्रालिको क्रेडिट रेटिङ यथावत राखिएको छ। इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो मूल्यांकन प्रतिवेदनले कम्पनीको वित्तीय स्थिति स्थिर रहेको र आय तथा सञ्चालन नाफा दुवै सुधारोन्मुख देखाएकाे हाे।

अघिल्ला दुई वर्षको आर्थिक सुस्तताबीच कमजोर बनेको कारोबार सन् २०२५ मा उल्लेख्य रूपमा बढेको छ। कम्पनीको व्यापार ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको ५ अर्ब ५५ करोड ९० लाख रुपैयाँभन्दा २८ प्रतिशतले बढी हो। पिकअप र ट्र्याक्टर सेग्मेन्टको बिक्री एकै वर्षमा करिब ६५ प्रतिशतले बढेकाले कुल आय वृद्धि भएको प्रतिवेदनमा देखाइएको छ। सञ्चालन नाफासमेत गत वर्षको ६.५ प्रतिशतबाट बढेर ९ प्रतिशत पुगेको उल्लेख छ।

वित्तीय संरचना र तरलता सूचक भने अझै पनि मजबुत रहेको इक्रा नेपालको आकलन छ। कम्पनीले कर्जा सुविधाको ठूलो भाग प्रयोग नगरी नै राखेको छ। जसले नजिकैको अवधिमा तरलता जोखिम देखिँदैन भन्ने मूल्यांकनलाई पुष्टि गरेको छ। सञ्चालन नाफासँग तुलना गर्दा ऋणभार पनि नियन्त्रित अवस्थामा रहेको उल्लेख गरिएको छ।

अग्नि इन्कर्पोरेटेड सन् १९९१ देखि महिन्द्राको नेपाली बजारमा एकल आधिकारिक वितरकका रूपमा सक्रिय छ। कम्पनीको देशभर १७ शोरूम र १६ क्षेत्रीय डिलरशिप शाखाहरू छन्। नेपाली भूगोलका लागि उपयुक्त डिजाइन, टिकाउपन र मूल्य प्रतिस्पर्धाका कारण महिन्द्रा मोडेलप्रतिको बजार माग वर्षौंदेखि बलियो रहँदै आएको कम्पनीको मूल्यांकनमा उल्लेख छ।

तर, कम्पनीको कारोबार अझै पनि दुई मोडेल स्कार्पियो र बोलेरोमै अत्यधिक निर्भर रहेको तथ्य प्रतिवेदनले देखाएको छ। सन् २०२५ मा मात्र यी दुई मोडेलबाटै करिब ९० प्रतिशत कारोबार भएको पाइएको छ। यस्तो मोडेलले निर्भरता आर्थिक उतारचढावसँगै जोखिम बढाउने भएकाले कम्पनीका लागि चुनौतीपूर्ण पक्ष मानिएको छ। व्यावसायिक प्रयोजनमा बढी प्रयोग हुने मोडेल भएकाले मागमा चक्रगत असर पर्न सक्ने उल्लेख गरिएको छ। कम्पनीले विद्युतीय सवारी साधनको मोडेल विस्तार गर्दै गएकाले यसले दीर्घकालीन रूपमा जोखिम कम गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन ऋण सुविधाका लागि कुल ३ अर्ब २६ करोड ५० लाख रुपैयाँबराबरको रेटिङ गराएको छ। दीर्घकालीन ऋण सीमा ३५ करोड रुपैयाँ र अल्पकालीन कर्जा सीमा २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ कायम रहेको प्रतिवेदनमा उल्लेख छ। क्याबिनेट श्रेष्ठ, सुसन वैद्य र अर्जुनप्रसाद शर्माको स्वामित्व रहेको कम्पनीले यात्रुवाहक सवारी तथा ट्र्याक्टर सेग्मेन्टमा आफ्नो बजार उपस्थिति झनै सुदृढ पार्दै आएको छ।

इक्रा नेपालले आगामी वर्षहरूमा कम्पनीले आय वृद्धि दर कति कायम राख्छ, मोडेल विविधीकरण कति प्रभावकारी रूपमा अघि बढ्छ र विद्युतीय सवारी साधनको सेग्मेन्ट विस्तार कति सफल हुन्छ - यी पक्षहरू भविष्यका रेटिङ निर्धारणका मुख्य आधार हुने जनाएको छ।


प्रकाशित : बुधबार, मंसिर २४ २०८२१५:३५
  • सम्बन्धित विषय:

  • # महिन्द्रा
  • # अग्नि इन्कर्पोरेटेड


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend