विराटनगर- पूर्व-पश्चिम राजमार्ग (एसियन हाइवे) को काम धिमा गतिमा अगाडि बढिरहेको छ। २०८३ माघमा सम्पन्न गरिसक्नुपर्ने समयसीमा भए पनि हाल जम्मा ८ किलोमिटर मात्र (एकतर्फी) कालोपत्रे भएको छ। हाइवेको चार लेन सडक विस्तारका लागि झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म दुई खण्डमा निर्माणको काम भइरहेको छ।
म्याद सकिन एक वर्ष मात्र बाँकी रहँदा कामको गति भने झनै सुस्त हुँदै गएको छ। काँकडभिट्टादेखि लबीपुरसम्म दुवै खण्डको काम सम्पन्न गर्न जम्मा एक वर्ष दुई महिना बाँकी छ। दुई वर्षमा २९ प्रतिशत मात्र काम सम्पन्न भएको बताएको आयोजना कार्यालयले बाँकी अवधिभित्र ७१ प्रतिशत काम सम्पन्न गर्न असम्भव रहेको जानकारी दिएको छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण सुरु भएको आयोजनामा ६ वटा पुलसहित ९५ किलोमिटर सडक बन्दैछ। काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडक निर्माण गर्नुपर्ने भए पनि पहिलो चरणमा ९५ किलोमिटर क्षेत्रमा मात्र काम भइरहेको हो।
सप्तकोशीको पुल कहाँ निर्माण गर्ने भन्ने यकिन नभएपछि सुनसरीको पकलीदेखि उत्तर-पश्चिम हुँदै सप्तरीको कञ्चनरूप पुर्याउने तयारी भइरहेको छ। जसका लागि सिसौलीघाटमा ३ किलोमिटर लामो पुल निर्माण गर्ने तयारी भइरहेको छ।
सहरी क्षेत्र मानिएको विर्तामोड, दमक र इटहरीमा सर्भिस लेन निर्माणपछि मात्र मेन रोड निर्माण गर्न लागिएको हो। भारतबाट दक्ष कामदार झिकाएर काम लगाउनुपर्ने बाध्यता भएकाले समस्या भएको बताइएको छ। दक्ष जनशक्तिको अभावमा काम ढिला भएको र अस्पाल्ट पिच गर्नका लागि आवश्यक गिट्टीसमेत भएको आयोजना कार्यालयले जनाएको छ।
पूर्वी खण्डमा झापाको काँकडभिट्टादेखि कर्खासम्मको ४५ किलोमिटर सडकका लागि १६ अर्ब रुपैयाँको ठेक्का लागेको छ। काँकडभिट्टा-लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) का प्रमुख सुनिलबाबु पन्तका अनुसार कनकाई, बिरिङ र निन्दा खोलाको पुल निर्माणको काम धिमा गतिमा भइरहेको छ। कामको गति सुस्त हुनुमा जनशक्तिको अभाव प्रमुख कारण रहेको बताउँदै उनले निर्माण कम्पनीलाई बारम्बार ताकेता गरिरहेको जानकारी दिए।

पुलको काम हालसम्म जम्मा २१ प्रतिशत मात्र सम्पन्न भएको छ। पुल निर्माणका लागि चीनको कोभेक-सीआरईजीसी र नेपालको टुण्डी जेभीले काम गरिरहेका छन्। ५ अर्ब ९७ करोड रुपैयाँमा निर्माणको जिम्मा लिएका कम्पनीले हिउँदको सिजनमा कामलाई तीव्रता दिने प्रतिबद्धता जनाएको प्रमुख पन्तको भनाइ छ।
पूर्वी खण्डको ४५ किलोमिटर सडक निर्माणको लागि चीनकै एभरसकोन र नेपाली कम्पनी कालिका निर्माण सेवाले १० अर्ब ६ करोड रुपैयाँमा जिम्मा पाएका छन्। पूर्वी खण्डमा हालसम्म ३ किलोमिटर मात्र एकतर्फी बाटो कालोपत्रे भएको छ।
इटहरीमा भ्याकुलर अण्डरपास, १२४ घर भत्किने
झापाको केर्खादेखि पश्चिम सुनसरीको लबीपुरसम्मको ५०.७६ किलोमिटर सडक विस्तारका क्रममा पाँच किलोमिटर कालोपत्रे भइसकेको छ। काँकडभिट्टा-लौकही सडक योजना (पश्चिम खण्ड) का प्रमुख जगत् प्रजापतिका अनुसार सडक निर्माणमा सोचेजस्तो नतिजा हात पार्न सकिएको छैन।
केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक सीआरएफजी-टुण्डी जेभीले ९ अर्ब १३ करोड रुपैयाँमा ठेक्का लिएको छ । जसअन्तर्गत ३१ वटा पुलमध्ये ४ वटा निर्माण सम्पन्न भइसकेका छन्। ३ सय मिटरभन्दा बढी लम्बाइका रतुवा, लोहन्द्र र बक्राह खोलामा भने आर्क ब्रिज निर्माणको काम धमाधम भइरहेको छ।
गोठगाउँदेखि लबीपुरसम्मको कोभोक, सीआरईजीसी र टुण्डीले ठेक्का पाएको छ। ४ अर्ब ९ करोड रुपैयाँमा निर्माण हुन लागेको सो खण्डमा पूर्वको प्रमुख सहर इटहरी समेटिएको छ। इटहरीमा रानी-किमाथांका कोशी राजमार्ग पर्ने भएकाले भ्याकुलर अण्डरपास निर्माण गर्न लागिएको हो।

सहरको व्यस्ततालाई मध्यनजर गर्दै सुरुमा साइड रोड निर्माण गर्ने र पछि मेन रोड बनाउने प्रजापतिको भनाइ छ। इटहरीको मुख्य चोक (कोशी राजमार्ग) मा ४२ मिटर र दाँया-बाँया १३ मिटर चौडाइका अण्डरपास निर्माण हुने भएको छ। ६ सय मिटर लामो भ्याकुलर अण्डरपासले इटहरीको बजारलाई असर नगर्ने दाबी आयोजनाको छ।
हिउँदको समयमा मौसम अनुकूल हुने भएकाले कामको गति बढ्ने प्रजापतिले समेत दाबी गरेका छन्। निर्माण व्यवसायीसँग बारम्बार छलफलमै रहेकाले आगामी महिनादेखि कामले तीव्रता पाउने उनले बताए।
नेपाल विद्युत् प्राधिकरणले आवश्यक सहयोग नगरेका कारण आयोजनाको कामले तीव्रता नपाएको उनको भनाइ छ। प्राधिकरणले पोल हटाउने र प्रसारण लाइन सार्ने काममा ढिलाइ गर्दा समग्र आयोजनामा नै असर परेको छ। सडक निर्माणले तीव्रता पाइरहेका बेला बिजुलीका पोलहरू प्रमुख समस्याको रूपमा देखापरेको प्रजापतिको भनाइ छ।

.jpeg)