विराटनगर- गएको कात्तिक १७ गते विराटनगर भन्सार कार्यालय (आईसीपी) बाट बाहिरिएको ट्याक्टर सशस्त्र प्रहरीले चेक गर्यो। सशस्त्रको दाबीअनुसार को १ त २४१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएपछि भन्सार कार्यालयबाट बाहिरिँदै गरेको को १ त ९७१७ नम्बरको ट्याक्टर पुनः भित्र छिर्यो। सशस्त्रले सो सूचना भन्सार प्रमुख उमेश श्रेष्ठलाई जानकारी गराएपनि त्यस्तो कुनै सामान नभएको प्रतिक्रिया पाएपछि थप जनशक्ति परिचालन गरी खोजतलास गर्यो।
पुनः कार्यालयभित्र छिरेको ट्याक्टरमा सशस्त्र प्रहरीले छापा मार्यो। एउटै प्रज्ञापनमा आएका दुईवटा ट्याक्टर र थप एउटा गरी तीनवटा ट्याक्टरको खोजतलास भयो। दुईवटा ट्याक्टर नियन्त्रणमा लिएपनि एउटा ट्याक्टर भेटिएन। प्रज्ञापनमा उल्लेख भएभन्दा बढी मूल्यका सामान ट्याक्टरमा लोड भएको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको सशस्त्र प्रहरीको दाबी छ।
पुनः भित्र छिरेको ट्याक्टरका थप १५ पोका कपडा भन्सार कार्यालयभित्रै अनलोड गरी अन्य पुराना सवारी भित्र लुकाएर राखेको अवस्थामा भेटिएको सशस्त्रले बताएको छ। जफत भएका सामानहरू भन्सार प्रमुख श्रेष्ठले भन्सार छली भएको रुजु गर्ने क्रममा पुष्टि गरे।
थप सामान भन्सार छली भएको आशंकापछि सशस्त्रले विराटनगर-१५ को बुद्ध पूजा ढुवानी सेवामा खोजतलास गर्यो। ढुवानी सेवामा थप ३५ पोका भन्सार नतिरेको सामान फेला पर्यो। राजस्व अनुसन्धान केन्द्रीय कार्यालयमा समन्वय गरेर सशस्त्र प्रहरीले सवारी पत्ता नलागेपनि सामान जफत गरेको बताएको छ।
ढुवानी सेवामा जफत भएका सामानहरू राजस्व अनुसन्धान कार्यालय इटहरीले १ लाख २४ हजार रुपैयाँ धरौटीमा छाड्यो। कम धरौटीमै सामान छाडिएकोमा सशस्त्रले आपत्ति जनाएको छ।
सशस्त्रले पैसा माग्ने गरेको आरोप
भन्सार छली गरेको आरोपमा विराटनगरका कुन्दन मण्डल, छोटु मण्डल र ललन मण्डल पक्राउ परे। सामानका मालिक कुन्दन मण्डलले भन्सार एजेन्ट सौगात पोखरेलको लाइसेन्स प्रयोग गर्ने गरेका छन्। भन्सार छलीको सामान पक्राउ परेपछि पोखरेलसमेत कारबाहीमा परेका छन्। भन्सार एजेन्टको प्रमाणपत्र तत्काल प्रयोगमा ल्याउन नपाउने गरी प्रक्रिया अगाडि बढेको छ।
भन्सार छलीमा संलग्न तीनजना नै चोरी पैठारी कसुरमा प्रतिव्यक्ति ५ लाख २६ हजार २ सय ४३ रुपैयाँ गरी जम्मा १५ लाख ७८ हजार ७ सय २९ रुपैयाँ धरौटीमा छुटिसकेका छन्। भन्सारमा काम गर्दै आएका कुन्दन आफै भन्सार एजेन्ट भने होइनन्। भन्सार पास गराउने काममा लामो समयदेखि सक्रिय छन् उनी।
विराटनगरमा व्यवसायसमेत गर्दै आएका उनी सशस्त्र प्रहरीले प्रतिशोध राखेको बताउँछन्। भन्सार कार्यालयबाट भन्दापनि नाकाबाट खुलमखुला सामान तस्करी भइरहेको बताएका उनले पैसा नदिएको कारण सशस्त्रले पक्राउ गरेको आरोप लगाए। राजस्व र भन्सारमा कुनै मिलेमतो नभएको बताउँदै मण्डलले सशस्त्रले बारम्बार खर्च माग्दा नदिएको कारण आफूलाई टार्गेटमा पारेको दाबी गरे।
बिजनेस न्युज सँगको कुराकानीमा उनले भने, ‘अन्य एजेन्टले मासिकरूपमा पैसा पठाउने गरेका छन्। मलाईमात्र टार्गेट गरेर पक्राउ गरेको हो। ठूला तस्करको कुनैदिन पक्राउ परेको इतिहास छैन। गरिबको घर, कोठा र गोदाम छापा हान्ने तर पहुँचवालाले कन्टेनर नै छिराउँदा समेत केही नगर्ने कस्तो विभेद हो यो?’ म्यासेन्जरमा समेत म्यासेज गरेर सशस्त्र प्रहरीले पैसा माग्ने गरेको उनले आरोप लगाए।
सशस्त्रको फरक दाबी
गोप्य सूचनाको आधारमा सामान बरामद गरेको भन्दै बराह बाहिनी पकलीले ठूलो सफलता हातपारेको भन्दै रिपोर्टिङ गरेको छ।
विराटनगर भन्सार र राजस्व अनुसन्धान कार्यालय इटहरीको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी नदेखिएको आरोप सशस्त्रले लगाएको छ। माथिल्लो निकायमा पठाइएको पत्रमा समेत भन्सार कार्यालयको जाँच पासमा त्रुटि रहेको उल्लेख गरेको छ।
सशस्त्र प्रहरीले भन्सार चुहावट नियन्त्रणमा आफूहरूले प्रभावकारी काम गरिरहेको दाबी गरेको छ। सशस्त्र प्रहरीले बरामद गरेका सामानहरू राजस्व अनुसन्धानबाट न्यूनतम धरौटीमा छुट्ने गरेको बताइएको छ। पूर्वी नाकाबाट हुने तस्करी नियन्त्रणमा सशस्त्रले पूर्ण क्षमतामा काम गरिरहेको र अन्य निकायको सहयोग नपाएको आरोप लगाउँदै आएको छ।
सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका बाहिनीपति प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेले एकल प्रयासमा मात्र भन्सार चुहावट नियन्त्रण नहुने बताए। सबै पक्षको सहकार्य र समन्वयमा मात्र तस्करीको नियन्त्रण सहज हुने उनको भनाइ छ।
सशस्त्रले भन्सार चुहावट नियन्त्रणमा प्रभावकारी काम गरेको दाबी गरेपनि त्यस्तो सन्तोषजनक अवस्था देखिँदैन।
सीमावर्ती क्षेत्रबाट दिनहुँजसो हुने फलफूल, तरकारी तथा माछा र कुखुराको तस्करी नियन्त्रणमा सशस्त्रको भूमिका शंकास्पद रहँदै आएको छ। पूर्वी नाकाहरूबाट हुने गाँजा तस्करी रोक्नसमेत प्रहरीको भूमिका प्रभावकारी देखिएको छैन। पक्राउ परेको गाँजा नष्ट गर्ने प्रक्रियामा नै प्रश्न उठ्ने गरेको छ।
भन्सारको फरक दाबी
उता विराटनगर भन्सार कार्यालय प्रमुख श्रेष्ठले बाहिर गलत प्रचार भएको बताएका छन्।
अनुसन्धानकै क्रममा रहेको गाडीलाई बाहिरबाट भित्र छिरेको भन्दै प्रचार गरिएको उनको भनाइ छ। भन्सार चुहावट नियन्त्रणमा विराटनगर भन्सार कार्यालयले प्रभावकारी काम गरिरहेको उनको दाबी छ।
सशस्त्र, भन्सार कार्यालय, कुन्दन मण्डलको भनाइको आधारमा र राजस्व अनुसन्धानको भूमिकाको आधारमा तस्करीमा मिलेमतो भने देखिन्छ। मिलेमतो नभएको वा बार्गेनिङ नमिलेका सामानमात्र जफत हुने गरेको आशंका सम्बन्धित निकायमा वक्तव्यबाट पनि प्रष्ट हुन्छ।

.jpeg)