काठमाडौं- काठमाडौं महानगरपालिका-४ स्थित विशालनगरमा करिब ४ अर्ब रुपैयाँ लागतमा आधुनिक आवासीय अपार्टमेन्ट निर्माण प्रक्रिया अघि बढेको छ।
डी एल एफ गिन्स प्रालिले निर्माण गर्न लागेको अपार्टमेन्टका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले राय-सुझावका लागि सार्वजनिक गरेको छ।
परियोजनाका अनुसार १०/१० तले दुईवटा भवन निर्माण हुनेछ। जसमा प्रत्येक भवनमा २३/२३ वटा गरी कुल ४६ अपार्टमेन्ट इकाइ रहनेछन्। दुईवटै भवनमा दुईवटा भुइँतला रहने छन् भने ती भुइँतलामाथि थप १० तला उठाइनेछ।
२२ हजार ८ सय ३ वर्गमिटर क्षेत्रफलमा फैलिने यस संरचनामा दुईवटा बेसमेन्ट रहने छन्। जहाँ पार्किङ, इलेक्ट्रिक कोठा, शौचालय र प्यासेज जस्ता पूर्वाधार निर्माण गरिनेछ।
प्रस्तावित निर्माणस्थल कुल ७ रोपनी ११ आना क्षेत्रफलमा रहेकाले यसले विशालनगर क्षेत्रमा ठूला निजी आवासीय संरचनाको विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।
जग्गा खरिददेखि भवन निर्माणसम्मको कुल लागत ३ अर्ब ९२ करोड २२ लाख ८ हजार ८ सय १ रुपैयाँ रहने प्रारम्भिक अनुमान प्रतिवेदनमा उल्लेख छ। राय-सुझाव संकलनपछि परियोजना स्वीकृत प्रक्रियामा जानेछ।

.jpeg)