काठमाडौं- सिंगापुरका व्यवसायी तथा परोपकारी रोबर्ट कीले पोखरामा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउन तयारी गरेका छन्।
वृद्ध तथा विपन्न बालबालिकाको सहयोगमा लामो समयदेखि सक्रिय ‘अपरेशन होप फाउन्डेशन’ (ओएचएफ) का संस्थापक कीले कास्कीकोटस्थित 'हिमालयन हाइडअवे रिसोर्ट - द सेन्टारा कलेक्सन' आगामी डिसेम्बरदेखि सञ्चालनमा ल्याउन लागेका हुन्।
कीले होटललाई सामाजिक उद्यमको रूपमा सञ्चालन गर्ने योजना बनाएका छन्, जसको नाफाबाट प्राप्त रकम ओएचएफको परोपकारी कार्यका लागि कोष प्रदान गर्न प्रयोग गरिने जनाइएको छ। परोपकारका लागि रोजगारी प्रदान गर्ने र समुदायहरूलाई सहयोग गर्नेमा रिसोर्ट केन्द्रित रहने छ।
सिंगापुरको द स्ट्रेट्स टाइम्स अनलाइन संस्करणले प्रकाशित गरेको रिपोर्टअनुसार कीले ४२ कोठासहितको उच्चस्तरीय रिसोर्ट सञ्चालनमा ल्याउँदै छन्। स्काइलाइट, व्यक्तिगत बगैँचा, योग कक्षा, स्पालगायतका सुविधासहित तयार भएको सो रिसोर्ट कास्कीकोटको डाँडामा अवस्थित छ। 'रिसोर्टले डिसेम्बरदेखि पाहुनालाई सेवा दिन सुरू गर्नेछ,' रिपोर्टमा उल्लेख गरिएको छ।
रिसोर्टको व्यवस्थापन अनुभवी अन्तर्राष्ट्रिय होटेल चेन ‘द सेन्टारा कलेक्सन’लाई दिइएको छ, जसले एसिया तथा मध्यपूर्वका ९० भन्दा बढी होटल सञ्चालन गर्छ। उच्च गुणस्तरको सेवा प्रदान गर्ने लक्ष्यसहित रिसोर्ट स्थापना गरिएको छ। यसले नेपालको हाई-इन्ड पर्यटन विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
द स्ट्रेट्स टाइम्सका अनुसार रिसोर्ट विश्वभरका प्रिमियम यात्रुलाई लक्षित गरिएको छ। होटेलबाट प्राप्त नाफाको एक हिस्सा परोपकारी काममा लगानी गर्ने उद्देश्य संस्थापक कीको छ। 'रोजगारी सिर्जना नै उत्कृष्ट च्यारिटी हो,' कीको भनाइ उद्धृत गर्दै पत्रिकाले लेखेको छ।
रिसोर्टलाई सामाजिक उद्यम (सोसियल इन्टरप्राइज) का रूपमा सञ्चालन गरिनेछ। पूर्ण क्षमतामा सञ्चालन भएपछि करिब ८० जनाले स्थायी रोजगारी पाउनेछन्। रिसोर्ट परिसरमा निर्माण गरिएको गहिरो इनारमार्फत नजिकका बस्तीहरूमा खानेपानी पुर्याउने योजनासमेत समावेश गरिएको छ।
७७ वर्षीय रोबर्ट की ‘अपरेशन होप फाउन्डेशन’ (ओएचएफ) का संस्थापक तथा विनातलब पूर्णकालीन कार्यकारी अध्यक्ष हुन्। सन् १९९५ देखि कम्बोडिया, फिलिपिन्स र नेपालमा गरीबी निवारण, सामाजिक उद्यम र बाल संरक्षणसम्बन्धी विभिन्न परियोजनामा सक्रिय छन्। उद्यमी पृष्ठभूमिकासहित उनले सन् २००१ मा सिंगापुरमा ओएचएफ स्थापना गरेका थिए।
फाउन्डेशनले नेपालका विभिन्न स्थानीय गैरसरकारी संस्थासँग सहकार्य गर्दै बालगृह सञ्चालन, आवास निर्माण, सरसफाइ, जीविकोपार्जन तथा सामुदायिक विकासका थुप्रै कार्यक्रम सञ्चालन गर्दै आएको छ।

.jpeg)