काठमाडौं- नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाज खरिदमा लिएको ऋणको ब्याज र किस्ता समयमा नै बुझाउन सकेको छैन।
समयमा नै ऋणबापतको ब्याज र किस्ता तिर्न नसक्दा जहाज खरिदमा लिएको ऋण २०८२ असार मसान्तसम्ममा ५२ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। चिनियाँ जहाज र सरकारी ऋणसहित गरेर निगमको ऋण ५७ अर्ब ६३ करोड पुगेको छ। जसमा चिनियाँ जहाजको ३ अर्ब २८ करोड, सरकारी ऋण १ अर्ब २० करोड र ओभरड्रफ्ट ६९ करोड पुगेको छ।
निगमको सम्पतिभन्दा ऋण १० अर्ब बढी हो। २०७८ मा भएको सम्पत्ति मूल्यांकनमा निगमको सम्पति ५२ अर्ब हाराहारी रहेको थियो। अहिले उक्त सम्पति ५ अर्ब हाराहारीले घटेको छ।
निगमले दुईवटा वाइडबडी जहाज खरिदका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट १२/१२ अर्ब गरी २४ अर्ब रुपैयाँ ऋण २०७४ सालमा लिएको हो। तर ऋण लिएको ८ वर्षमा साँवा रकम घट्नु पर्नेमा बढेको बढ्यै छ।
पछिल्लो चार वर्षसम्म निगम नेतृत्वमा रहेका निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीको लापरबाहीका कारण ऋण बढेको हो। अधिकारीले चार वर्षे कार्यकालमा वाइडबडी जहाज खरिदमा लिएको ऋणको किस्ताबापतको रकम बुझाएनन्। उनले आंशिक रुपमा केही रकम मात्रै ब्याज बुझाएका थिए।
आम्दानी पनि घट्यो
लामो समयसम्म जहाज ग्राउन्डेड हुँदा पछिल्लो तीन वर्षदेखि निगमको आम्दानी घटेको घट्यै छ। निगम स्रोतबाट प्राप्त आर्थिक वर्ष २०८१/०८२ अनअडिडेड रिपोर्टअनुसार आर्थिक वर्ष २०८०/०८१ को तुलनामा पनि आम्दानी घटेको हो।
निगमले २०८१/०८२ मा जम्मा २० अर्ब ६७ करोड आम्दानी गरेको छ। आर्थिक वर्ष २०८०/०८१ मा २१ अर्ब ५ करोड आम्दानी गरेको थियो। आर्थिक वर्ष २०७९/०८० मा भने निगमको आम्दानी २३ अर्ब ८६ करोड रुपैयाँ थियो।
पछिल्लो दुई आर्थिक वर्षमा निगमको आम्दानी घट्नुमा न्यारोबडी जहाजको इन्जिन मर्मत र वाइडबडीको सी-चेकमा भएको लापरबाही नै हो। इन्जिन मर्मत र सी-चेकमा लापरबाही हुँदा लामो समयसम्म जहाज ग्राउन्डेड भएको थियो। जसको प्रत्यक्ष असर आम्दानीमा परेको हो।
सञ्चित नोक्सानी बढेर २० अर्बनजिक
निगम स्रोतका अनुसार हरेक वर्ष सञ्चित नोक्सानी पनि बढेको बढ्यै छ। बिजनेस न्युजलाई प्राप्त रिपोर्टअनुसार आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्मा सञ्चित नोक्सानी २० अर्ब नाघेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा सञ्चित नोक्सानी १५ अर्ब १८ करोड रुपैयाँ थियो। निवर्तमान अध्यक्ष अधिकारीका लापरबाहीका कारण आर्थिक वर्ष २०७९/०८० मा बढेर १५ अर्ब ५९ रुपैयाँ पुगेको थियो।
यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा २ अर्बले बढेर १७ अर्ब ४६ करोड भएको थियो तर आर्थिक वर्ष २०८१/८२ मा पनि साढे २ अर्बभन्दा बढीले सञ्चित नोक्सानी बढेर २० अर्ब नाघेको छ।
२५ प्रतिशत पुगेको बजार हिस्सा ११ प्रतिशतमा झर्यो
वायुसेवा निगमले पछिल्ला वर्षमा निरन्तर बजार हिस्सा गुमाउँदै आएको छ। सन् २०२० मा २५ प्रतिशतसम्म पुगेको निगमको बजार हिस्सा सन् २०२४ मा आइपुग्दा ११.२८ मा झरेको छ। निगमको बजार हिस्सा पाँच वर्षमा नै १३.७१ प्रतिशत बिन्दुले खस्किएको हो।
विमानस्थल कार्यालयका अनुसार सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ४९ लाख ६३ हजार ३ सय ६४ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। जसमा नेपाल एयरलाइन्समार्फत हवाई यात्रा गर्नेको संख्या ५ लाख ६० हजार १ सय ८ रहेको छ। यो संख्या कुल हवाई यात्रुको ११.२८ प्रतिशतमात्रै हो।
नेपाल एयरलाइन्सले सन् २०२४ मा ३ हजार १ सय ७८ वटा उडान तथा अवतरण गरेको छ। नेपाल एयरलाइन्स हुँदै विश्वका विभिन्न देश पुग्ने यात्रुको संख्या २ लाख ९१ हजार २ सय ४६ रहेको छ भने नेपाल भित्रिनेको संख्या २ लाख ६८ हजार ५ सय ६६ छ।
नेपाल एयरलाइन्सको बजार हिस्सा पछिल्लो तीन वर्षदेखि अस्वाभाविक रुपमा घटिरहेको छ। निगमको नेतृत्वमा निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारी आएसँगै उडान अस्तव्यस्त भएको थियो। जहाज उड्ने समयभन्दा ग्राउन्डेड समय बढी भएको छ।
२०२४ मा मात्रै निगमको दुईवटा वाइडबडी तीन-तिन महिनाभन्दा बढी लामो समय ग्राउन्डेड भएको थियो। समयमा नै जहाज मर्मतको काम नहुँदा उडान कम हुँदै आएको छ। जसका कारण बजार हिस्सा निरन्तररुपमा घटिरहेको छ।
निगमको बजार हिस्सा २०२० मा २५ प्रतिशत पुगेको थियो। त्यसपछि २०२१ मा पाँच प्रतिशतले घटेर २० प्रतिशतमा झरेको थियो। जुनबेला विश्वव्यापी कोरोना महामारीका कारण उडान नै हुन सकेको थिएन।
२०२० देखि भने हवाई यात्रुको संख्या बढिरहँदा नेपाल एयरलाइन्सको बजार हिस्सा भने घटेको घट्यै छ। निगमको बजार हिस्सा २०२२ मा १६.५६, २०२३ मा १४.२० प्रतिशतमा झरेको थियो। अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा दुई वर्षदेखि निरन्तर 'रेकर्ड ब्रेक' भइरहेको छ। यस्तोमा पछिल्लो सार्वजनिक तथ्यांकअनुसार नेपाल एयरलाइन्सको बजार हिस्सा भने २०२४ मा ११.२८ मा झरेको थियो।