विराटनगर- सुनसरीको एकम्बामा सञ्चालित हिमालय इँटा उद्योग बन्द भएको दुई वर्ष पूरा भयो। धरानका व्यवसायी शिवकुमार लिम्बुले सञ्चालनमा ल्याएको उद्योगले कोभिड महामारीपछि उत्पादन कम गर्न थालेकोमा अन्ततः बन्द गर्ने अवस्थामा पुगेको हो।
उत्पादन लागत बढ्दै गएको र बजारको लगानी (उदारो) फिर्ता नआएपछि समस्यामा परेको लिम्बुको अनुभव छ। कामदार पाउनै समस्या परिरहेको बेला बजारमा माग घटेको र ठूला निर्माण कम्पनीले पैसा भुक्तानी नगरेपछि लिम्बु समस्यामा परेका हुन्।
विगत दुई वर्षदेखि कामदारको अभावले इँटा उद्योगहरू धराशाही बन्दै गएका छन्। झापामा मात्र ४२ वटा उद्योगमध्ये हाल २५ वटामात्र सञ्चालनमा छन्। पाँच वर्षको अवधिमा उद्योगको बन्द हुने रफ्तार बढिरहेको छ। चलिरहेका उद्योगमा समेत कामदार नभएको कारण समस्या भइरहेको व्यवसायी राम बहादुर थापा बताउँछन्।
सरकारले माघ १ गतेदेखि मात्रै इँटा पकाउन पाउने निर्देशन जारी गरेको छ। अघिल्ला वर्षहरूमा कात्तिकदेखि सुरु हुने इँटाको उत्पादन चैतसम्म चल्ने गरेको थियो। सरकारले वातावरणमा प्रतिकूल प्रभाव परेको भन्दै उत्पादनको अवधि घटाएको हो।
पूर्वमा बलियो प्रभाव पारेको जयश्री इँटा उद्योग दुई वर्षदेखि बन्द अवस्थामा छ। मानव बस्तीको कारण दुई ठाउँमा स्थानान्तरण गरेपनि बजारको समस्याले उद्योग बन्द गर्नुपरेको बताउँछन् सञ्चालक श्याम लुइँटेल। कामदार नपाएर बारम्बार सास्ती भोग्नुपरेको बताउँदै उनले बजारमा फसेको पैसासमेत उठाउन नसकिएको बताए।
कामदार र मौसमको अनुकूलताको आधारमा उत्पादन गर्ने गरेका इँटा उद्योगहरू एकपछि अर्को बन्द हुँदै गएका छन्। मोरङ र सुनसरीमा रहेका ६५ उद्योगमध्ये हाल ३० वटामात्र सञ्चालनमा रहेको कोशी इँटा उद्योग व्यवसायी संघका महासचिव राजन तिम्सिना बताउँछन्। संघमा आबद्ध नभएका उद्योगहरू झनै धेरै बन्द भइसकेका उनले बताए।
‘इन्धनको रूपमा अमेरिकाबाट कोइला ल्याउनुपर्छ। डलरको भाउको कारण कोइलाको मूल्य बढिरहेको छ। जसले लागत बढ्दै गएको छ। बढ्दो लागतले गर्दा इँटाको भाउ पनि बढाउनुपर्ने अवस्था छ। तर अस्वस्थ प्रतिस्पर्धाले भाउ बढाउने र घटाउने खेल भएपछि बन्दको विकल्पमा उद्योगी पुगे,’ उनले भने।
पञ्चलक्ष्मी इँटा उद्योग प्रालिबाट कमल इँटा उत्पादन गर्दै आएका तिम्सिना वर्षमा ७० लाख उत्पादन क्षमता भए पनि आधामात्र उत्पादन गर्नुपर्ने अवस्था आएको बताउँछन्।
जयबाबा इँटा उद्योग प्रालिबाट जेबीबी इँटा उत्पादन गर्दै आएका खगेन्द्र श्रेष्ठले तीन वटामध्ये एउटामात्र प्लान्ट सञ्चालनमा ल्याएका छन्। तीनवटै प्लान्ट चलाउन चाहेपनि कामदार नभएको कारण उद्योग पूर्णक्षमतामा चलाउन नसकिएको उनको भनाइ छ।
कोशी इँटा उद्योग व्यवसायी संघका अध्यक्ष समेत रहेका श्रेष्ठ धेरै उद्योगीहरू पलायन भइसकेका र बाँकी उद्योगीसमेत उद्योग बन्द गर्ने अवस्थामा पुगेको सुनाउँछन्।
इँटा उद्योगमा नेपाली कामदार नपाइने र भए पनि दक्ष नभएकाले सबै कामदार भारतबाट ल्याउनुपर्ने अवस्था छ। भारतमा पनि कामदार ल्याउने ठेकेदारले पैसा लिएर जाने र कामदार नपठाउने गरिरहेका छन्। जसको कारण नेपाली उद्योगीको करोडौँ रुपैयाँ फसिरहेको श्रेष्ठले बताए।
स्टिल इँटा उद्योगमा सञ्चालक नवराज अर्याल बजारको माग र मूल्य बीचमा तालमेल नभएको सुनाउँछन्। १८ रुपैयाँ पर्ने इँटा २१ र २२ रुपैयाँमा बिक्री हुँदासमेत नाफा नहुने अवस्था आएको उनले बताए। पछिल्लो समय नयाँ प्रविधिको प्रयोग भइरहेपनि उत्पादन लागतमात्र बढ्ने तर नाफा नहुने उनको अनुभव छ।

.jpeg)