आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

भारतमा निर्यात ठप्प भएपछि भैरहवा सेजबाट पञ्चकन्या समूहको एसएस ट्यांक उद्योग बाहिरियो

बिहीबार , मंसिर ११ २०८२
भारतमा निर्यात ठप्प भएपछि भैरहवा सेजबाट पञ्चकन्या समूहको एसएस ट्यांक उद्योग बाहिरियो

२०७८ मा सेजमा स्थापना गरिएको उक्त उद्योगले केही महिनायता एसएस ट्यांकी निर्यात गर्न सकेको छैन। यसका लागि भारतीय नीति बाधक बनेको छ।

काठमाडौं- भारतीय बजारमा स्टेनलेस स्टिल (एसएस) ट्यांक निर्यात रोकिएपछि पञ्चकन्या समूहले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा सञ्चालन गर्दै आएको उद्योग त्यहाँबाट हटाउने भएको छ।

२०७८ सालमा सेजभित्र स्थापनापछि निर्यातमुखी उत्पादनमा रहेको पञ्चकन्या एसएस एक्स्पोर्ट प्रालिले केही महिनादेखि निर्यात अवरुद्ध भएपछि सेज प्राधिकरणलाई बाहिरिन अनुरोधसहित पत्राचार गरिसकेको छ।

कम्पनीका कार्यकारी निर्देशक उज्वल श्रेष्ठका अनुसार भारतले स्टिलजन्य वस्तुमा ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) प्रमाणपत्र अनिवार्य गरेपछि उद्योगले तयारी सामानमात्र होइन कच्चा पदार्थमै पनि आवश्यक कागजात जुटाउन नसक्दा निकासी पूर्णरूपमा रोकिएको छ।

२०७८ मा सेजमा स्थापना गरिएको उक्त उद्योगले केही महिनायता एसएस ट्यांकी निर्यात गर्न सकेको छैन। यसका लागि भारतीय नीति बाधक बनेको श्रेष्ठले बताए।

निर्यातबिना सेजभित्र उद्योग सञ्चालन गर्न नपाइने कानूनी संरचनाले गर्दा उद्योग स्थानान्तरणको निर्णय लिनुपरेको उनले बताए। ‘सेजमा उद्योग कायम राख्न उत्पादित वस्तु निर्यात गर्नुपर्ने हुन्छ तर भारत निर्यात गर्न अप्ठ्यारो आएपछि उद्योग नै सार्ने निर्णयमा पुगेका हौँ,’ उनले भने।

उद्योगले सामान्य अवस्थामा महिनामा तीन/चार गाडीबराबर तथा वार्षिक झण्डै दुई करोड रुपैयाँसम्मको एसएस ट्यांक भारत पठाउँदै आएको थियो। तर सिम्स (स्टिल इम्पोर्ट मनिटरिङ सिस्टम) मा नेपाल सूचीकृत गरिनु नपरेकाले र बीआईएसको कडाइ बढेपछि निर्यात बन्द छ। यही कारण सेजमा चार वर्ष पूरा गर्न लागेको कम्पनीले आन्तरिक बजारमै निर्भर रहन नपाउने देखेपछि बाहिरिने विकल्प रोजेको हो।

विशेष आर्थिक क्षेत्र नियमावलीअनुसार सेजमा उद्योग लगाएको तीन वर्षसम्म आन्तरिक बजारमा बिक्री गर्न पाउने र उद्योग लगाएको चौथो वर्षमा उत्पादनको ३० प्रतिशत वस्तु निकासी गर्नुपर्ने प्रावधान छ। तर उक्त उद्योगले नियमावलीअनुसार सामान निर्यात गर्न सकेको छैन।

पञ्चकन्या समूहले उद्योग बन्द नै गर्ने नभइ सेजबाहिर भैरहवा क्षेत्रमा नै उत्पादन सञ्चालन गर्ने तयारी अघि बढाएको जनाएको छ। सेज प्राधिकरणबाट स्वीकृति मिल्नासाथ उद्योग औपचारिक रूपमा सेजबाट बाहिरिनेछ।


प्रकाशित : बिहीबार , मंसिर ११ २०८२११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend