आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

सौराहामा 'हाइ-एन्ड' पर्यटकलक्षित रोयल टुलिप प्रिमियम रिसोर्ट, १ अर्ब ७० करोड रुपैयाँ लगानी

बुधबार, मंसिर १० २०८२
सौराहामा 'हाइ-एन्ड' पर्यटकलक्षित रोयल टुलिप प्रिमियम रिसोर्ट, १ अर्ब ७० करोड रुपैयाँ लगानी

सुपेरियर, डिलक्स, प्रिमियमदेखि पुल भिला, वाटर भिला र मचान प्रकारका विशेष सुइट रुमहरु उपलब्ध छन्। एक रातको शुल्क १७ हजारदेखि १ लाख रुपैयाँसम्म पर्छ।

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको पर्यटकीय केन्द्रका रूपमा सौराहा वर्षौँदेखि परिचित छ। तर सुविधायुक्त बसाइ खोज्ने हाइ-एन्ड पर्यटक भने सौराहामा नभइ मेघौली, अमलटारीजस्ता गन्तव्यतर्फ आकर्षित हुँदै आएका छन्।

सौराहामा पाँचतारे सेवासुविधासहितको ब्रान्डेड होटलको कमी हुँदा उच्च खर्च गर्ने पाहुनाको बसाइ अन्यत्र सरेको मानिँदै आएको छ। यही अभाव पूर्ति गर्न अन्तर्राष्ट्रिय चेन ब्रान्ड ‘रोयल टुलिप’ले सौराहामा प्रिमियम रिसोर्ट सञ्चालनमा ल्याएको छ।

करिब १ अर्ब ७० करोड रुपैयाँको लगानीमा तयार भएको ‘रोयल टुलिप चितवन’ केटीएम हस्पिटालिटीले लुभ्रे होटल्स समूहअन्तर्गत निर्माण गरेको हो। विश्वका करिब ७० देशमा १ हजार ७ सय ५० भन्दा बढी होटलहरू सञ्चालन गर्ने लुभ्रे ग्रुपलाई अन्तर्राष्ट्रियस्तरको अग्रणी होटल चेनमध्ये एक मानिन्छ।

चितवन राष्ट्रिय निकुञ्जको छेउमा अवस्थित पाँचतारे रिसोर्टले विलासिता, प्रकृति र साहसिक अनुभवको संयोजन प्रस्तुत गर्ने लक्ष्य राखेको छ। रिसोर्टमा ६५ कोठा तथा भिल्ला छन्। जहाँ सुपेरियर, डिलक्स, प्रिमियमदेखि पुल भिला, वाटर भिला र मचान प्रकारका विशेष सुइट रुमहरु उपलब्ध छन्। एक रातको शुल्क १७ हजारदेखि १ लाख रुपैयाँसम्म पर्छ।

royal tulip chitwan (2).jpg

रिसोर्टका अध्यक्ष रामेश्वर शाहका अनुसार राष्ट्रिय निकुञ्जभित्र रिसोर्ट सञ्चालनमा रोक लगाएपछि धेरै खर्च गर्ने पर्यटकको आगमन घटेको थियो। यो नीतिका कारण पर्यटन र निजी लगानीमा नकारात्मक असर परेको बताउँदै उनले रोयल टुलिप चितवनले ‘उच्चस्तरीय प्रकृतिनिर्भर पर्यटन’ पुनर्जीवित गर्ने लक्ष्य लिएको उल्लेख गरे।

परिसरमै दुई सयभन्दा बढी बिरुवा र वनस्पतिहरू राखिएको छ। व्यवस्थापनका लागि अत्याधुनिक एसटीपी प्लान्ट, तेल प्रशोधन प्रणाली, इन-हाउस बोटलिङ प्लान्ट र वातावरणमैत्री प्रणाली जडान गरिएको छ। शाहका अनुसार यसले फोहोर न्यूनीकरण र स्थानीय वातावरण संरक्षणमा योगदान पुर्‍याउने छ।

royal tulip chitwan (4).jpg

'रिसोर्टमा स्पा, जिम, स्विमिङ पुल, खुला जाकुजी, किड्स जोन, गेमिङ क्षेत्र, ब्याडमिन्टन कोर्ट, मिनी पुटिङ कोर्स, बोटिङ, फिसिङ र १.८ किलोमिटर लामो नेचर ट्रेललगायत सुविधाहरू छन्,' अध्यक्ष शाहले भने।

ठूला कार्यक्रम लक्षित गर्दै तीनवटा बैंक्वेट हल सञ्चालनमा ल्याइएका छन्, जसमा करिब ५ सय पाहुनासम्म बस्न सक्छन्। साथै हेलिप्याड र इभेन्ट म्यानेजमेन्ट सेवा पनि उपलब्ध छ।

थारू तथा नेपाली परिकारका साथ ग्रिल र आउटडोर बार्बेक्यु ‘फोरेस्ट फ्लेम’मार्फत पाइन्छ। स्पोर्ट्स बारमा ककटेल र लाइभ म्याच हेर्ने सुविधाका साथै स्थानीय कलाकारसहितको नियमित थारू सांस्कृतिक कार्यक्रम पनि आकर्षणको रुपमा राखिएको छ।

royal tulip chitwan (3).jpg

शाहका अनुसार रिसोर्टले छिटै क्यासिनो सञ्चालन गर्ने तयारी गरिरहेको छ, जसले फुर्सद मनाउने उच्चस्तरीय पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा छ।

चितवनमा अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेशले सेवामा गुणस्तर वृद्धि हुने र भारत तथा दक्षिणपूर्वी एसियातर्फ आकर्षित भइरहेका पर्यटकलाई नेपाल तान्न मद्दत गर्ने विश्वास शाहको छ।

royal tulip chitwan (5).jpg


प्रकाशित : बुधबार, मंसिर १० २०८२१६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend