आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

पाँचतारे होटल ‘हायात प्लेस बुटवल’ सञ्चालनमा, यशोदा फुड्सको साढे ३ अर्ब लगानी

बुधबार, मंसिर १० २०८२
पाँचतारे होटल ‘हायात प्लेस बुटवल’ सञ्चालनमा, यशोदा फुड्सको साढे ३ अर्ब लगानी

करेन्ट ब्रान्डमार्फत चाउचाउ र विभिन्न स्न्याक्स उत्पादन गर्दै आएको यशोदा फुड्स प्रालिले रुपन्देहीको बुटवलमा निर्माण गरेको पाँचतारे होटल ‘हायात प्लेस बुटवल’ मंगलबारदेखि औपचारिकरूपमा सञ्चालनमा आएको छ।

काठमाडौं- करेन्ट ब्रान्डमार्फत चाउचाउ र विभिन्न स्न्याक्स उत्पादन गर्दै आएको यशोदा फुड्स प्रालिले रुपन्देहीको बुटवलमा निर्माण गरेको पाँचतारे होटल ‘हायात प्लेस बुटवल’ मंगलबारदेखि औपचारिकरूपमा सञ्चालनमा आएको छ।

बुटवलको कुसुमपथस्थित सुक्खानगर क्षेत्रमा निर्माण गरिएको होटलले लुम्बिनी प्रदेशको पर्यटकीय तथा व्यावसायिक संरचना थप सुदृढ हुने अपेक्षा गरिएको छ। 

होटलका प्रमुख कार्यकारी अधिकृत नितेश मालपानीका अनुसार निर्माण सुरु भएको पाँच वर्षमै सञ्चालन चरणमा पुगेको हायात प्लेसमा करिब साढे ३ अर्ब रुपैयाँ लगानी गरिएको छ। सन् २०१९ मा सुरू गरिएको निर्माण कार्य बीचमै कोरोना महामारीका कारण केही ढिलाइ भए पनि निर्धारित समयमै काम पूरा भएको उनले बताए।

होटल आफै सञ्चालन गर्ने प्रारम्भिक योजना भए पनि सेवा-गुणस्तरलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन डेढ वर्षअघि हायातको व्यवस्थापन भित्र्याइएको मालपानीले जानकारी दिए।

hyat 3.jpg

‘लुम्बिनी आफैंमा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको, भारतीय पर्यटकबीच विवाह तथा अन्य पारिवारिक कार्यक्रमका लागि लोकप्रिय डेस्टिनेसनका रूपमा बुटवल-भैरहवा क्षेत्रका गतिविधि बढ्दै गएको छ’ मालमापानीले भने।  

बुटवल व्यापारिक केन्द्रको रूपमा विस्तार भइरहेको तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा आउने सम्भावनाले यो क्षेत्रमा पाँचतारे लगानी आकर्षक देखिएको समेत उनको भनाइ छ।

मालपानीले पछिल्लो केही वर्षमा विदेशी पर्यटक आगमन केही घटेको देखिए पनि आन्तरिक पर्यटक उल्लेखनीय रूपमा बढेको बताए। उनका अनुसार भारतीय पर्यटकको आगमन निरन्तर बढ्दो छ र भविष्यमा अन्य देशका पर्यटक आकर्षणमा वृद्धि हुने विश्वास रहेको छ।

२५ कट्ठा क्षेत्रफलमा बनेको ‘हायात प्लेस बुटवल’मा १०९ कोठा रहेका छन्। जसमा ८ कोठा स्वीट श्रेणीका छन्। कोठाको न्यूनतम दर १२ हजार रुपैयाँ तोकिएको छ। होटलमा आउटडोर स्विमिङ पुल, आधुनिक फिटनेस सेन्टर, ५० देखि ७ सय जनासम्म क्षमतायुक्त बहुउद्देश्यीय हल, स्पा, क्याटरिङ सेवा तथा अन्य आवश्यक सुविधाहरू उपलब्ध गराइएका छन्।

hyat new.jpg

लुम्बिनी प्रदेशका बुटवल, भैरहवा लगायतका क्षेत्रमा पछिल्ला वर्षमा घरेलु तथा अन्तर्राष्ट्रिय चेन होटलहरूको विस्तार तीव्रतर रूपमा जारी रहेको छ। हायात प्लेसको थपिँदा बुटवल-भैरहवा क्षेत्रमा पाँचतारे होटलको संख्या चार पुगेको छ। लुम्बिनी प्रदेशका १२ जिल्लामा साना-ठूला गरी करिब १ हजार २ सय होटल सञ्चालनमा छन्। तीमध्ये पाँचतारे चार, चारतारे सात र करिब १५० होटल पर्यटकीयस्तरका रहेका छन्।

hyat 2.jpg

यशोदा फुड्स प्रालि स्न्याक्स र तयारी चाउचाउ उत्पादनको लक्ष्यसहित सन् २०१७ मा स्थापना भएको हो। रूपन्देहीको तिलोत्तमा-१५ मा अवस्थित यस कम्पनीले करेन्ट ब्रान्डमार्फत चाउचाउ, क्यान चिजबल, स्न्याक्स तथा कप नुडल्स उत्पादन गर्दै आएको छ। कम्पनीको उत्पादन क्षमतामा वृद्धि हुँदै जाँदा यशोदा फुड्सले लामो समयदेखि नेपालको चाउचाउ बजारमा वर्चस्व जमाइरहेको सिजी फुड्सको वार्षिक कारोबारलाई चुनौती दिने स्थिति बनाएको प्रमाण सम्बन्धित कम्पनीहरूको क्रेडिट रेटिङ प्रतिवेदनबाट देखिएको छ।

स्न्याक्स उद्योगमा प्रवेश गरेको मात्र साढे आठ वर्षमै यशोदा समूहले पाँचतारे होटलजस्तो ठूलो लगानीको परियोजना सञ्चालनमा ल्याउन सफल भएको हो।

hyat 1.jpg


प्रकाशित : बुधबार, मंसिर १० २०८२०७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend