आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

एनपीएलमा आज दुई खेल, विराटनगर-जनकपुर र कर्णाली-सुदूरपश्चिम आमनेसामने

सोमबार, मंसिर ८ २०८२
एनपीएलमा आज दुई खेल, विराटनगर-जनकपुर र कर्णाली-सुदूरपश्चिम आमनेसामने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज कीर्तिपुरस्थित त्रिवि मैदानमा दुई खेल हुँदैछन्। पहिलो खेल पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे सुरु हुनेछन्।

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज कीर्तिपुरस्थित त्रिवि मैदानमा दुई खेल हुँदैछन्। पहिलो खेल पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे सुरु हुनेछन्।

पहिलो खेलमा अपराजित यात्रामा रहेको विराटनगर किंग्स जनकपुर बोल्ट्ससँग भिड्नेछ। प्रतियोगिताको तेस्रो खेल खेल्न लागेको विराटनगरले यसअघि पोखरा एभेन्जर्सलाई ५३ रनले र काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरिसकेको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर आज पनि जितको लय कायम राख्ने मनसायसहित मैदान उत्रिनेछ।

पहिलो खेलमा काठमान्डु गोर्खाजसँग पराजित जनकपुरका लागि भने आजको खेल पुनरागमनको मौका मानिएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आफ्नो दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। लगातार दुई खेल जितिसकेको सुदूरपश्चिम उच्च मनोबलका साथ मैदान उत्रँदैछ। सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको थियो। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको टिम प्रतियोगितामा विजयी यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ।

पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भए पनि कर्णालीले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गर्दै बलियो पुनरागमन गरेको छ। सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली आज तेस्रो खेलमा सुदूरपश्चिमलाई चुनौती दिने तयारीमा छ।

आजका दुवै खेलले प्रतियोगिताको तालिका तथा आगामी चरणको समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। 


प्रकाशित : सोमबार, मंसिर ८ २०८२०७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend