काठमाडौं- नेप्सेमा लगानी समूहअन्तर्गत सूचीकृत सात कम्पनीमध्ये चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सीइडीबी होल्डिङ्स र नागरिक लगानी कोषले मात्रै नाफा वृद्धि गरेका छन्। बाँकी पाँच कम्पनीको नाफा घटेको छ भने एक कम्पनी घाटामा छ। यसले लगानी समूह दबाबमा रहेको संकेत दिएको छ।
लगानी समूहभित्र सबैभन्दा ठूलो चुक्ता पुँजी हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को २४ अर्ब ५५ करोड रुपैयाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
चुक्ता पुँजी कम भएका कम्पनीहरूमा सेयर आपूर्ति न्यून हुने भएकाले माग बढेर मूल्य बढ्ने प्रवृत्ति देखिँदै आएको छ। यसै कारण सात कम्पनीमध्ये सीइडीबीको मात्रै सेयर मूल्य २ हजार रुपैयाँभन्दा माथि पुगेको छ। जब कि उच्च चुक्ता पुँजी भएका एचआइडीसीएल र निफ्राको मूल्य ३ सय रुपैयाँभन्दा तल नै छ।
रिजर्भ वृद्धि र नाफा विस्तार दुवैमा सीइडीबी होल्डिङ्स अग्रस्थानमा छ। एक वर्षअघिको पहिलो त्रैमासमा ४८ करोड ६० लाख रुपैयाँ रहेको रिजर्भ १ सय ३० प्रतिशतले बढ्दै १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। खुद नाफा पनि ७२.४६ प्रतिशतले बढेर १५ करोड ६५ लाख रुपैयाँ पुगेको छ।
नागरिक लगानी कोषको नाफा भने ४.४३ प्रतिशतले बढ्दै ३१ करोड ४३ लाख रुपैयाँ पुगेको छ र रिजर्भ १०.४० प्रतिशतले बढेर २० अर्ब २४ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
इमर्जिङ नेपाल, हाथवे इन्भेष्टमेन्ट नेपाल तथा एचआइडीसीएलको रिजर्भमा गिरावट आएको छ भने निफ्रा र एनआरएन इन्फ्रास्ट्रक्चरको रिजर्भ बढेको देखिन्छ।
नाफा घट्ने सूचीमा पाँच कम्पनी परेका छन्। इमर्जिङ नेपाल पहिलो त्रैमासमै १८ लाख ९४ हजार रुपैयाँ घाटामा पुगेको छ। एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा ८८.३१ प्रतिशतले घटेर ५० लाख ६६ हजार रुपैयाँमा झरेको छ।
हाथवे इन्भेष्टमेन्टको नाफा ८७.३६ प्रतिशतले घटेर ४४ लाख २३ हजार रुपैयाँमा सीमित छ। एचआइडीसीएलको नाफा २९.१५ प्रतिशतले घटेर १९ करोड ३९ लाख रुपैयाँमा आइपुगेको छ भने निफ्राको नाफा ४०.५७ प्रतिशतले घटेर २० करोड ७५ लाख रुपैयाँमा रोकिएको छ।
बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर अत्यन्तै न्यून बिन्दुमा झारेपछि एचआइडीसीएल र निफ्राजस्ता संस्थाको ब्याज आम्दानीमा प्रत्यक्ष असर परेको छ। एचआइडीसीएलले १५ अर्ब ५९ करोड रुपैयाँ टर्म डिपोजिटका रूपमा राखेको छ भने १ अर्ब १४ करोड रुपैयाँ बैंक मौज्दातमा छ। निफ्राको सीडी रेसियो पनि ६७.०९ प्रतिशतमै सीमित छ, जसले लगानी विस्तारमा चुनौती देखाएको छ।
प्रतिसेयर आम्दानी (ईपीएस) का आधारमा हेर्दा सीइडीबी शीर्षमा छ। यस त्रैमासमा कम्पनीले ६० रुपैयाँ ५५ पैसा ईपीएस सार्वजनिक गरेको छ।
नागरिक लगानी कोषको ईपीएस १९ रुपैयाँ ४० पैसा छ भने निफ्राको ३ रुपैयाँ ८६ पैसा, एचआइडीसीएलको ३ रुपैयाँ १६ पैसा, हातवेको ५६ पैसा र एनआरएनको १ रुपैयाँ ५८ पैसा रहेको छ। इमर्जिङ नेपालको ईपीएस भने ऋणात्मक १ रुपैयाँ ३६ पैसा रह्यो।
नेटवर्थमा भने नागरिक लगानी कोष अगाडि छ। कोषको नेटवर्थ ४१२.४० रुपैयाँ पुगेको छ भने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर २४१.९० रुपैयाँ छ। सीइडीबीको नेटवर्थ २०८.३९ रुपैयाँ, निफ्राको ११९.९७ रुपैयाँ, एचआइडीसीएलको ११५.५५ रुपैयाँ र हाथवेको ६६.६४ रुपैयाँ छ। हाथवेको अंकित मूल्य ५० रुपैयाँमात्रै भएकाले यसको नेटवर्थ तुलनात्मक रूपमा कम देखिएको हो।
लगानी समूहको समग्र अवस्थाले सीइडीबी र नागरिक लगानी कोषले यस त्रैमासमा स्थिरता देखाएको छ भने अन्य पाँच कम्पनी नाफा, रिजर्भ र आम्दानीका प्रमुख सूचकमा दबाबमा परेका छन्।
सीइडीबी होल्डिङ्स : सबै सूचकमा अगाडि
नाफा : १५ करोड ६५ लाख (गत वर्षभन्दा ७२.४६ प्रतिशत वृद्धि)
रिजर्भ : १ अर्ब १२ करोड (गत वर्षको ४८.६० करोडबाट १३० प्रतिशत वृद्धि)
इपीएस : ६० रुपैयाँ ५५ पैसा
नेटवर्थ : २०८.३९ रुपैयाँ
चुक्ता पुँजी : १ अर्ब ३ करोड
सेयर मूल्य : २ हजार रुपैयाँभन्दा माथि
नागरिक लगानी कोष : सुरक्षित र स्थिर
नाफा : ३१ करोड ४३ लाख (४.४३ प्रतिशत वृद्धि)
रिजर्भ : २० अर्ब २४ करोड ८८ लाख (१०.४० प्रतिशत वृद्धि)
इपीएस : १९ रुपैयाँ ४० पैसा
नेटवर्थ : ४१२.४० रुपैयाँ
चुक्ता पुँजी : ६ अर्ब ४८ करोड
निफ्रा : कम ब्याजदरको सीधा प्रभाव
नाफा : २० करोड ७५ लाख (४०.५७ प्रतिशत गिरावट)
रिजर्भ : वृद्धि
इपीएस : ३ रुपैयाँ ८६ पैसा
नेटवर्थ : ११९.९७ रुपैयाँ
चुक्ता पुँजी : २१ अर्ब ६० करोड
सीडी रेसियो : ६७.०९ प्रतिशत
एचआइडीसीएल : नाफा र रिजर्भ दुवैमा गिरावट
नाफा : १९ करोड ३९ लाख (२९.१५ प्रतिशत गिरावट)
रिजर्भ : गिरावट
इपीएस : ३ रुपैयाँ १६ पैसा
नेटवर्थ : ११५.५५ रुपैयाँ
चुक्ता पुँजी : २४ अर्ब ५५ करोड
टर्म डिपोजिट : १५ अर्ब ५९ करोड
बैंक मौज्दात : १ अर्ब १४ करोड
एनआरएन इन्फ्रास्ट्रक्चर : नाफा ८८ प्रतिशत ले घट्यो
नाफा : ५० लाख ६६ हजार (८८.३१ प्रतिशत गिरावट)
रिजर्भ : वृद्धिइपीएस : १ रुपैयाँ ५८ पैसा
नेटवर्थ : २४१.९० रुपैयाँ
चुक्ता पुँजी : १ अर्ब २८ करोड
हाथवे इन्भेष्टमेन्ट : नाफा ८७ प्रतिशत ले घट्यो
नाफा : ४४ लाख २३ हजार (८७.३६ प्रतिशत गिरावट)
रिजर्भ : गिरावट
इपीएस : ५६ पैसा
नेटवर्थ : ६६.६४ रुपैयाँ
चुक्ता पुँजी : १ अर्ब ५८ करोड
अंकित मूल्य : ५० रुपैयाँ
इमर्जिङ नेपाल : घाटामा
नाफा : १८ लाख ९४ हजार (घाटा)
रिजर्भ : गिरावट
इपीएस : १ रुपैयाँ ३६ पैसा
नेटवर्थ : (कम)
चुक्ता पुँजी : ५५ करोड ५६ लाख