विराटनगर- इटहरीको मुख्य चोकमा अवस्थित सेन्ट्रल प्लाजा आगलागीमा परेको सात महिना पूरा भएको छ। ६ घण्टापछि मात्र नियन्त्रणमा आएको आगलागीले इटहरीको सहरी पूर्वाधार र विपत् तयारीलाई गिज्याएको थियो। मानवीय क्षति नभएपनि इटहरीको सबैभन्दा ठूलो प्लाजाको आगलागीले व्यवसायी निराश भए।
आगलागीमा १६ करोड रुपैयाँबराबरको क्षति भयो भनिएको सेन्ट्रल प्लाजाको पुनर्निर्माणको काम धमाधम भइरहेको छ। नयाँ स्वरूपमा वरण्डा होटेलदेखि रेस्टुरेन्ट निर्माणमा सोही अनुपातमा लगानी हुने बताइएको छ।
यसअघि ९ तलामध्ये सातौँ तलादेखि सुरु भएको होटेलको सेवा विस्तार गरेर चौथो तलादेखि नै सुरु गर्न लागेको हो। छैटौँ तलामा रहेको होटेलको लबी, रेस्टुरेन्ट र हललाई चौथो तलामा सारिएको छ।
तेस्रो तलासम्म पुरानै अवस्थामा विभिन्न व्यवसाय सञ्चालनमा छन्। भुईँ तलामा रहेको ग्राउण्डस् क्याफे सबैभन्दा बढी चर्चामा छ। यसअघि भाडा लगाइएको क्याफे एरियामा प्लाजा मालिकले नै क्याफे सञ्चालन गरिरहेका छन्।
पाँचौँ तलाको क्युएफएक्स सिनेमा हल एक महिना अगाडिदेखि सञ्चालनमा आइसकेको छ। यसअघिको भन्दा व्यवस्थित र सुविधासम्पन्न हल निर्माण गरिएको प्लाजा सञ्चालक सिद्धार्थ श्रेष्ठले बताए। उनका अनुसार सिनेमा हलको लबीलाई समेत समयानुकूल नयाँपन दिइएको छ।
वरण्डा होटेलको लागि चौथो तलाको लबी र रेस्टुरेन्ट केही दिनमै सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको श्रेष्ठको भनाइ छ। छैटौँ तलामा केही रुमहरू नयाँ निर्माण गर्नुपर्ने भएकाले समय लागेको उनले जानकारी दिए।
३० वटा रुमसहित रेस्टुरेन्ट केही दिनमा सञ्चालनमा आउने भएका छन्। थप २८ वटा रुमको लागि केही हप्ता लाग्ने भएको छ। निर्माण सम्पन्न भएपश्चात् ५८ वटा रुमसहितको व्यवस्थित र सुविधासम्पन्न होटेल निर्माण हुने दाबी श्रेष्ठको छ।
आगलागीमा परेर लामो समय सञ्चालनमा रोकिएको प्लाजाको भित्री भागबाट सबै तलामा आगलागीबाट बचाउन पानी पुर्याइएको छ। प्रविधिको सहायताले आगलागी भएको केही समयमै पानी प्रवाह हुने भएकाले भित्र आगो फैलिन नपाउने गरी व्यवस्थित गरिएको हो। भित्री
बनावटमात्र होइन बाहिरी आवरणमा समेत परिवर्तन ल्याउन लागिएको प्लाजाले इटहरीको पहिचानलाई स्थापित गराउन सक्नेछ।
गतवर्ष चैत १३ गते प्लाजाको पाँचौँ तलाबाट सुरु भएको आगलागीको कारण क्युएफएक्स हल, रेस्टुरेन्ट, होटेल जलेर नष्ट भयो। एक दर्जन दमकल र सयौँ सुरक्षाकर्मीको सक्रियतामा ६ घण्टामा मात्र आगो नियन्त्रणमा आएको थियो। आगलागीमा फसेका कतिपयलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो।

.jpeg)