काठमाडौं- गएको साता समग्रमा ५२.८५ अंकले घटेको सेयर बजार यो साता आइतबार ५.१५ अंकले घटेकोमा सोमबार भने सामान्य उकालोतिर लागेकाे छ।
सोमबार ९.७८ अंकले बढेर बजार २५५०.३७ बिन्दुमा पुगेको छ। १६७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ। ७६ कम्पनीकाे मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य परिवर्तन भएको छैन।
गएको साता आइतबार ३०.०२ अंकले घटेको बजार सोमबार पनि ५.७९ अंकले घटेको थियो। मंगलबार ३.२१ अंकले बढेको बजार बुधबार पुन: २०.५६ अंकले घटेको थियो। बिहीबार भने बजार ०.३१ अंकले बढेर स्थिर देखिएकाे थियो।
गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको छ। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने विश्लेषकहरू बताउँछन्। बजारले नयाँ उचाइ भेट्न मुस्किल भइरहँदा केही लगानीकर्ता अतालिएका देखिन्छन् भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरिरहेका छन्।
आउँदो चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहे पनि बजारले सुधारको आधार देखाएको छैन। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा देखिन्छन्।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।