काठमाडौं- २०७७/७८ सालको पुषमा नेपालको वैदेशिक मुद्राको सञ्चिति १२ अर्ब ७७ करोड अमेरकी डलर पुगेको थियो। त्योभन्दा तीन वर्ष पहिलेमात्र वैदेशिक मुद्राको सञ्चिति खस्किएका कारण केही वस्तुको आयातमा रोक लगाउने अवस्थामा सरकार पुगेको थियो। ढोका बन्द गरेर सरकारले नै सञ्चिति बढाएर त्यो बिन्दुमा पुर्याएको थियो।
त्यसपछि फेरि सञ्चिति २०७८/७९ को बैशाखमा ९ अर्ब २५ करोड अमेरिकी डलरमा झर्यो। जम्मा ६ महिनाको वस्तु तथा सेवाको आयात धान्नका लागि यो सञ्चिति पर्याप्त थियो। त्यसपछि सरकारले आयातमा रोक लगाउनेसँगै आन्तरिक मौद्रिक नीतिमा गरिएको कडाइले गर्दा आयात खुम्चिँदै गयो। यी नीतिगत कारणले गर्दा आयात खुम्चिँदा सञ्चिति फेरि उकालो लाग्यो २०७९/८० को सुरुवातदेखि नै।
२०७९/८० को साउनमा नेपालसँग वैदेशिक मुद्राको सञ्चिति ९ अर्ब ३९ करोड ९७ लाख अमेरिकी डलर थियो। त्यसपछिका तीन वर्षमा तीन महिनामा सञ्चिति दोबरभन्दा धेरैले बढिसकेको छ। चालु आर्थिक वर्षको तीन महिनासम्मको अवधिमा सञ्चिति २१ अर्ब २० करोड ५० लाख डलर पुगेको छ। गएको तीन वर्षमा सञ्चिति ११ अर्ब ८० करोड ७७ लाख डलर थपिएको छ।
चालु आर्थिक वर्षकै तीन महिनामा मात्र सञ्चितिमा १ अर्ब ७० करोड अमेरिकी डलर थपिएको छ। रेमिट्यान्समा देखिएको उछाल तथा मागमा अपेक्षित वृद्धि नहुँदा, आयातमा उल्लेख्य सुधार नहुँदा सञ्चिति थप बलियो हुँदै आएको छ।
विदेशी मुद्राको सञ्चितिमात्र होइन पछिल्लो दुई आर्थिक वर्षदेखि चालु खाता निरन्तर नाफामा रहेको छ। चालु वर्षको तीन महिनामै आर्थिक वर्ष २०८०/८१ को भन्दा बढीले चालु खाता नाफामा रहेको छ। चालु वर्षको तीन महिनामै मुलुकको चालु खाता २ खर्ब ३७ अर्बले बचतमा रहेको छ। गत वर्षको चालु खाता ४ खर्ब ९ अर्बले बचतमा थियो।
त्यस्तै पछिल्लो तीन वर्षदेखि शोधनान्तर अवस्था पनि तीन वर्षदेखि बचतमा रहेको छ। गत वर्ष ५ खर्ब ९४ अर्बले बचतमा रहेको शोधनान्तर अवस्था यो वर्षको तीन महिनामै २ खर्ब ६४ अर्बले बचतमा छ।
वस्तु व्यापारको घाटा ३ खर्ब ४९ अर्ब र सेवाको घाटा ३२ अर्बले हुँदा पनि तीन महिनामै ५ खर्ब ५३ अर्ब रेमिट्यान्स आउँदा शोधनान्तर बचतमा देखिएको हो।
अर्थतन्त्रको बाह्य अवस्थामा व्यापार घाटा उच्च भएपनि न्यून आयातका कारण घाटाको विस्तार फराकिलो भएको छैन। त्यस्तैले पछिल्लो तीन वर्षदेखि बाह्य क्षेत्र सुविधाजनकदेखि अधिक सुविधाजनक अववस्थामा पुगेको छ।
बाह्य अवस्था यति धेरै सुविधाजनक अवस्थामा पुगिसकेको छ कि यसको परिचालन गरी आन्तरिक बजारलई चलायमान बनाउन भने सरकार असफल रहँदै आएको छ। बाह्य क्षेत्र संकटमा हुँदा श्रीलंकाको डर फैलाइएपनि सुविधाजनक अवस्थामा हुँदा सदुपयोग गर्न राज्य चुकिरहेको छ।
ठूला पूर्वाधार निर्माण, पुँजीगत वस्तुको आयात तथा खपतका लागि प्रेरणा दिने कार्यक्रम तथा नीति ल्याउन सरकारले नसक्दा सुविधा धेरै हुँदा बोझ बन्ने जोखिम बढेको छ।
सबै अवस्थाको अनुकूल हुँदाहुँदै पनि सरकारले यसको सदुपयोग गर्न सकिरहेको छैन।
गएको भदौको युवा विद्रोहपछि बनेको अहिलेको सरकार निर्वाचन गराउने तथा अर्थतन्त्रलाई सामान्य लयमै ल्याउनका लागि प्रयासरत भएकाले तत्काल यो अनुकूल अवस्थाको सदुपयोग हुनेन सम्भावना न्यून छ। यद्यपि छिटै निर्वाचन भएमा त्यसले माग बढाउने र यही कारणले गर्दा बजार चलायमान हुने विश्वास अधिकारीहरुको छ।