सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

उत्पादकको दायित्व उपभोक्तामा थोपरेर बीमा कम्पनी र बीवाईडीको व्यापार बढाइदिँदै प्राधिकरण

प्राधिकरणकै कर्मचारी भन्छन् - यो हामीले नै बुझ्न सकेका छैनौँ

बुधबार, मंसिर ३ २०८२
उत्पादकको दायित्व उपभोक्तामा थोपरेर बीमा कम्पनी र बीवाईडीको व्यापार बढाइदिँदै प्राधिकरण

प्राधिकरणले बीमा पोलिसीको कुनै विश्लेषण नै नगरी बीमा कम्पनी र नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइसमेक्स इंकको व्यापार बढाउन आँखा चिम्लिएको हो।

काठमाडौं- नेपाल बीमा प्राधिकरणले पहिलोपटक मोटर भेहिकलमा एस्क्टेन्डेड बीमा नीतिको निवेदन स्वीकृत गरेको छ। बीमा प्राधिकरणले बीमा लेखबाट पर्ने दायित्वको कुनै व्याख्या विश्लेषण नै नगरी कम्पनीले पेस गरेको निवेदन जस्ताको तस्तै स्वीकृत गरेको हो। 

उपभोक्तालाई दायित्व थोपर्ने गरी बीमा कम्पनी र एउटा सवारी आयातकर्ताले बनाएको बीमा लेख प्राधिकरणले केही समयअघिमात्र स्वीकृत गरेको थियो। बीमा प्राधिकरणको उक्त स्वीकृतिले सवारी किन्ने उपभोक्तालाई उत्पादक कम्पनीले बेहोर्नुपर्ने दायित्व १० वर्षसम्मको अनिवार्य बीमा गर्नुपर्ने बनाइएको छ। 

प्राधिकरणले बीमा पोलिसीको कुनै विश्लेषण नै नगरी बीमा कम्पनी र नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइसमेक्स इंकको व्यापार बढाउन आँखा चिम्लिएको हो। 

साइमेक्सले गएको बैशाखमा बीवाईडीका कारमा १० वर्ष वारेन्टीको घोषणा गरेको थियो। उक्त वारेन्टी उत्पादक कम्पनी (ओईएम)ले दिएको नभइ बीमाबाट गराएको पाइएको हो।

ओईएमबाट ८ वर्षको मात्र वारेन्टी रहेको र बाँकी दुई वर्ष बीमाबाट कभर हुने व्यवस्था गरिएकोबारे बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो।

करछली, उपभोक्ताबाट चर्को सर्भिस शुल्क असुल्ने, अवैध रुपमा चीनबाट सिम कार्ड आयात गर्ने लगायतका गैरकानूनी काम संलग्न साइमेक्स इंक प्रालिले अनिवार्य बीमाबाट दिइएको दुई वर्षे वारेन्टीबारे उपभोक्तालाई जानकारी नै नदिइ ‘बीवाईडीका गाडीमा १० वर्ष वारेन्टी’को स्किम घोषणा गरेको थियो। 

साइमेक्सले उपभोक्तालाई बीवाईडीका कार किन्दा १० वर्ष वारेन्टी पाइनेमात्र बताएर गाडी बिक्री गर्दै आएको छ। योभन्दा चाखलाग्दो कुरा के छ भने बीवाईडी बिक्रेता साइमेक्सले बैशाखमा 'कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी स्किम' ल्याएको र बीवाईडीका गाडीमा यस्तो पोलिसी जारी गरेको बीमा कम्पनीले गएको भदौ अन्तिममा मात्र बीमा प्राधिकरणबाट स्वीकृति पाएको खुलेको छ। 

बीमासम्बन्धी कुनै पनि पोलिसी जारी गर्नुपूर्व प्राधिकरणबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ। तर बीवाईडी बिक्रेता साइमेक्सको बदमासी र १० वर्षसम्मको ‘व्यापार’ सुनिश्चित हुने भएपछि बीमा कम्पनीले आँखा चिम्लिएर साइमेक्ससँग सम्झौता गरेको थियो।

बीमा कम्पनी र साइमेक्स इंकबीच भएको यस्तो सम्झौताबारे बीमा प्रधिकरणले स्वीकृति पाइसकेको बताएर पन्छिन खोजेको छ। एक्सटेन्डेड वारेन्टीका नाममा सवारी उत्पादक र बिक्रेताको दायित्व उपभोक्ताको काँधमा थमाएर यी कम्पनीले नै बनाएको नीति बीमा प्राधिकरणले आँखा चिम्लिएर स्वीकृत गर्नु गम्भीर विषय भएको एक बीमा जानकारले बताए। 

‘मोटर भेहिकल बीमामा वारेन्टीको भार उपभोक्तालाई मात्र पर्ने गरी बीमाबाट कभर हुने पोलिसी कहीँ कतै जारी भएको पाइँदैन,’ तीनले भने, ‘बीमा कम्पनी र गाडी बेच्ने कम्पनीले निवदनमा जे लेखेर ल्यायो त्यही बीमा प्राधिकरणले स्वीकृत गर्नुले प्राधिकरणमाथि नै प्रश्न तेर्सिएको छ।’

यस्तो एक्सटेन्डेड वारेन्टीमा गाडी बेच्ने पनि एउटै र बीमा गर्ने कम्पनी पनि एउटा मात्रै छ। नेपालमा सवारी आयात गर्ने करिब आधा दर्जन कम्पनीले एक्सटेन्डेड वारेन्टीबारे छलफल र प्रक्रिया अघि बढाएका छन् तर एउटा कम्पनीले मात्र नाटकीय रुपमा स्वीकृति पाएको छ। 

स्वीकृति नपाइ एक्सटेन्डेड वारेन्टी दिएको बीवाईडी बिक्रेता साइमेक्स इंकले उपभोक्तालाई अनिवार्य बीमा दायित्वबाट दुई वर्ष एक्सटेन्डेड वारेन्टी दिइएकोबारे कुनै जानकारी गराएको छैन। बीमाबाट कभर हुने एक्सटेन्डेड वारेन्टीबारे उपभोक्तालाई अनिवार्यरुपमा जानकारी दिनु पर्ने व्यवस्था रहेको बीमा प्राधिकरणले जनाएको छ। यसमा बीमा गर्ने कम्पनीसमेत मौन देखिएको छ। १० वर्षसम्म ‘व्यापार निश्चित’ भएपछि बीमा कम्पनीले साइमेक्सको मानोमानीमा साथ दिएको हो। 

प्राधिकरणकै कर्मचारी भन्छन् - यो हामीले नै बुझ्न सकेका छैनौँ 

उपभोक्तामाथि दायित्व थप्दै बीमा कम्पनी र गाडी बेच्ने कम्पनीको व्यापार बढाउने गरी आएको एक्सटेन्डेड वारेन्टीबारे बीमा प्राधिकरणकै कर्मचारी अनभिज्ञ छन्।

नेपालमा विगत ८/१० वर्षअघि पनि यो एक्सटेन्डेड वारेन्टीबारे छलफल र विमर्श भएको थियो। तर त्यतिबेला यो पोलिसीले उपभोक्तालाई मात्र दायित्व थप्ने निष्कर्षपछि तत्कालीन बीमा समितिले यसलाई अस्वीकृत गरेको थियो। 

त्यतिबेला धेरै कम्पनीले एक्सटेन्डेड वारेन्टी पोलिसी जारी गरिदिन बीमा समितिमा भनेको र पटकपटक छलफल पनि भएको उक्त प्रक्रियामा सहभागी एक व्यवसायीले बताए।

‘त्यतिबेला हामीले बीमा समितिलाई दुई/तीन प्रकारको पोलिसीको खाका पनि दिएका थियौँ। तर जसरी पनि उत्पादक वा आधिकारिक बिक्रेताले बोक्नुपर्ने दायित्व बीमाका नाममा उपभोक्तालाई बोकाउने खालको भयो भनेर बीमा समितिले अस्वीकृत गरेको थियो,’ यी व्यवसायीले भने, ‘अहिले त बीमा प्राधिकरणले सवारी बिक्रेताको सल्लाहमा बीमा कम्पनीले ल्याएको पोलिसी पनि स्पष्ट नपारीएको निवेदन सदर गरेर उपभोक्तामा मात्र दायित्व पर्ने एक्सटेन्डेड वारेन्टी लागु गर्ने अनुमति दिएको देखिएको छ।’ 

यता बीमा प्राधिकरणका सहायक निर्देशक केशवराज भण्डारीले विभिन्न देशमा भएको पोलिसीलाई हेरेर नेपालमा पनि एक्सटेन्डेड वारेन्टीको पोलिसीलाई अनुमति दिइएको बताए। ‘यसबारेमा हामीले अध्ययन गरेर पोलिसी स्वीकृत गरेका हौँ,’ उनले भने, ‘एक्सटेन्डेड वारेन्टीको पोलिसी हुने नै यस्तै हो।’ एक्सटेन्डेड वारेन्टीको पोलिसी अलिक जटिल नै भएकाले बुझ्न कठीन नै हुने उनको भनाइ छ।  

साइमेक्सले उपभोक्तालाई दोस्रो वर्षदेखि एक्सटेन्डेड वारेन्टीबापतको प्रिमियम उनीहरुले नै तिर्नुपर्ने कुरासमेत बताएको छैन। ८ वर्षसम्मको वारेन्टी उत्पादकले दिने र त्यसपछिको दुई वर्षको एक्सटेन्डेड वारेन्टीका लागि पहिलो वर्ष साइसेक्सले केही प्रिमियम रकम बीमा कम्पनीलाई दिने दुई कम्पनीबीच समहति भएको छ। 

८ वर्षपछिको अन्तिमको दुई वर्षको एक्सटेन्डेड वारेन्टी पाउनका लागि हरेक उपभोक्ताले १० वर्षसम्म तोकिएकै बीमा कम्पनीमा गाडीको पूर्ण बीमा गराउनु पर्ने सर्त राखिएको छ। यसका साथै उपभोक्ताले १० वर्षसम्मै साइमेक्सकै सर्भिस सेन्टरमा सर्भिसिङ गराउनु पर्ने छ। उपभोक्ताले गाडी बिक्री गरेपछि किन्ने दोस्रो व्यक्तिले त्यस्तो वारेन्टी पाउने नपाउने टुंगो छैन। यसमा अन्य धेरै सर्तहरु अघिसारिएको छ जो मोटर बीमामा पूरा गर्न कठिन छ। 

पहिलो वर्ष साइमेसले तिर्ने प्रिमियमका लागि कम्पनी र बीमा कम्पनीबीच सहमति भएको छ। त्यसअन्तर्गत ८ वर्षपछिको दुई वर्षे एक्सटेन्डेड वारेन्टीले कभर गर्ने कम्पोनेन्ट (ब्याट्री, मोटर, कन्ट्रोलरलगायत)को अहिलेको मूल्यअनुसार त्यसको ०.१ प्रतिशत प्रिमियम साइमेक्स इंकले बीमा कम्पनीलाई सुरुमै भुक्तानी गर्नेगरी दुई पक्षले सहमति गरेका हुन्। 

बीमा प्राधिकरणले बीमाबाट पर्ने दायित्वको विश्लेषण नै नगरी निवेदनकै भरमा एक्सटेन्डेड वारेन्टी पोलिसी जारी गर्न दिँदा यसको मार उपभोक्तामा परेको छ। आयातकर्ता र बीमा कम्पनीको मात्र लाभ हुने पोलिसीको अनुमति दिँदा प्राधिकरणकै काममा गम्भीर प्रश्न उठेको छ।

एउटा मात्रै बीमा कम्पनीले यस्तो पोलिसी जारी गर्नु र एउटामात्र सवारी बिक्रेता कम्पनीले यो पोलिसी देखाएर उपभोक्ता झुक्याउनुले पनि उक्त प्रश्नलाई थप पेचिलो बनाएको छ। विगतमा पनि र अहिले पनि अन्य सवारी बिक्रेता कम्पनीहरु एक्सटेन्डेड वारेन्टी जारी गर्न खोजिरहेका छन् तर प्राधिकरणको व्यवहार प्रष्ट नहुँदा उनीहरुले यो स्किम ल्याएका छैनन्। 

उपभोक्ता झुक्याउँदै बीवाईडी बिक्रेता साइमेक्स : १० वर्ष वारेन्टी उत्पादकले नभइ अनिवार्य बीमाबाट उपभोक्ता झुक्याउँदै बीवाईडी बिक्रेता साइमेक्स : १० वर्ष वारेन्टी उत्पादकले नभइ अनिवार्य बीमाबाट


प्रकाशित : बुधबार, मंसिर ३ २०८२१६:४१
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend