बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

ब्याजदर घटेसँगै सिमेन्ट उद्योगहरूको नाफा बढ्दै, वित्तीय विवरण हेर्दा उद्योग लयमा फर्किएको संकेत

सोमबार, मंसिर १ २०८२
ब्याजदर घटेसँगै सिमेन्ट उद्योगहरूको नाफा बढ्दै, वित्तीय विवरण हेर्दा उद्योग लयमा फर्किएको संकेत

चारै कम्पनीको विवरणले वित्तीय खर्चमा नियन्त्रण, सञ्चालन लागतमा सुधार र मार्जिन वृद्धि देखाएका छन्। विशेषगरी ब्याजदर घटेसँगै वित्तीय भार कम हुँदा उद्योगहरूको नाफा सिधै उकासिएको छ।

काठमाडौं- ब्याजदर घट्दै गएको प्रभाव नेप्सेमा सूचीकृत सिमेन्ट उद्योगमा स्पष्ट देखिएको छ। चार प्रमुख सिमेन्ट कम्पनीको त्रैमासिक विवरण हेर्दा उद्योग क्षेत्र पुनर्जीवनको दिशातर्फ अघि बढिरहेको संकेत दिएको छ। बजारमा माग केही बढाएको आँकलन गरिएको छ। 

चारै कम्पनीको विवरणले वित्तीय खर्चमा नियन्त्रण, सञ्चालन लागतमा सुधार र मार्जिन वृद्धि देखाएका छन्। विशेषगरी ब्याजदर घटेसँगै वित्तीय भार कम हुँदा उद्योगहरूको नाफा सिधै उकासिएको छ।

सोनापुर मिनरल्स एण्ड आयल, सर्वोत्तम सिमेन्ट र शिवम् सिमेन्ट्सले गत वर्षकाे सामान्य नाफाबाट यस वर्ष ठूला नाफातर्फ फड्को मारेका छन्। घोराही सिमेन्टले पनि घाटा धेरै हदसम्म घटाएको छ।

गत वर्ष निर्माण गतिविधि सुस्त रहे पनि यस वर्ष बजार बिस्तारै पुनः गतिमा फर्किएको र त्यसमाथि कर्जाको लागत घटेपछि उत्पादन उद्योग विशेष लाभान्वित भएको देखिन्छ।

सोनापुर मिनरल्स एण्ड आयल : घाटाबाट ४ करोड ३६ लाख नाफामा

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले गत वर्ष असोजसम्म ८ करोड ५५ लाख रुपैयाँ घाटा खेपेको थियो। तर चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ४ करोड ३६ लाख रुपैयाँ नाफामा फर्किएको छ।

समीक्षा अवधिमा बिक्री आम्दानी ९५.३० प्रतिशतले वृद्धि भएको छ भने कुल नाफा ७८८.९१ प्रतिशतले उचालिएको छ। त्यस्तै, वित्तीय खर्च ५८.१६ प्रतिशतले सञ्चालन मुनाफा ऋणात्मकबाट १ करोड ३४ लाख रुपैयाँ धनात्मकमा  पुगेको छ।

असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६८ पैसा, प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ९१ पैसा र पी/ई रेसियो ७१.३० गुणा छ। ३ अर्ब ७ करोड ५० लाख चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष २ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।

सर्वोत्तम सिमेन्ट : २ करोड घाटाबाट ३२ करोड नाफातर्फ

सर्वोत्तम सिमेन्ट लिमिटेडले पनि घाटाबाट नाफामा उल्लेखनीय फड्को मारेको छ। गत वर्ष असोजसम्म २ करोड २५ लाख घाटामा रहेको कम्पनी यस वर्ष सोही अवधिसम्ममा ३२ करोड ४२ लाख रुपैयाँ नाफामा पुगेको छ।

समीक्षा अवधिमा बिक्री आम्दानी ३५.७७ प्रतिशत र कुल नाफा ४०८.८१ प्रतिशत बढेको छ। वित्तीय खर्च १५.९१ प्रतिशतले घटेको छ, भने कुल खर्च भने ८१.८९ प्रतिशतले बढेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७ पैसा, नेटवर्थ २०८ रुपैयाँ ११ पैसा र पीई रेसियो ३१.९१ गुणा रहेको छ। ४ अर्ब ९७ करोड ५५ लाख चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ५ अर्ब ३७ करोड रुपैयाँ छ।

शिवम् सिमेन्ट्स : नाफामा १,५३८ प्रतिशतको उछाल

शिवम् सिमेन्ट्स लिमिटेडले यस त्रैमासमा सबैभन्दा ठूलो नाफा वृद्धि देखाएको छ। गत वर्ष १ करोड २७ लाख नाफा कमाएको कम्पनीले यस वर्ष सोही अवधिसम्म २० करोड ९६ लाख रुपैयाँ नाफा कमाउँदै १,५३८ प्रतिशत वृद्धि गरेको हो।

विक्री आम्दानी ९.०३ प्रतिशत मात्र बढेको भए पनि उत्पादन लागत नियन्त्रण, सञ्चालन क्षमता सुधार र वित्तीय अनुशासनले कम्पनीलाई यस्तो छलाङ दिलाएको विश्लेषण छ।

कम्पनीको प्रतिसेयर १५ रुपैयाँ ३७ पैसा, प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ १८ पैसा र पीइ रेसियो ३६.४२ गुणा रहेको छ। ५ अर्ब ४५ करोड ६८ लाख चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

घोराही सिमेन्ट : ठूलो घाटाबाट कम घाटातर्फ

घोराही सिमेन्ट इन्डस्ट्रीजले भने अझै घाटा नै व्यहोरेको छ, तर अघिल्लो वर्षको तुलनामा घाटा उल्लेखनीय रूपमा घटाएको छ।

गत वर्ष असोजसम्म ५१ करोड ३७ लाख घाटा खेपेको कम्पनीले यस वर्ष सोही अवधिसम्ममा घाटा १२ करोड ८० लाख रुपैयाँमा सीमित गरेको छ। सञ्चालन मुनाफा अघिल्लो वर्ष -२६ करोड १३ लाखबाट यस वर्ष १ करोड ४४ लाख रुपैयाँ धनात्मकमा पुगेको छ।

उत्पादन-बिक्री आम्दानी ३५.५४ प्रतिशतले बढेर ९० करोड ६० लाख रुपैयाँ पुगेको छ। ४ अर्ब ५६ करोड ७६ लाख चुक्ता पुँजी भएको कम्पनीको प्रतिसेयर आम्दानी -२.८० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८६.३८ रुपैयाँ छ।


प्रकाशित : सोमबार, मंसिर १ २०८२०७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend