काठमाडौं- गएको असोज महिनामा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। जुन एकै महिनामा हालसम्म आएको सबैभन्दा धेरै रेमिट्यान्स हो। नेपाली रुपैयाँमा ३५.४ प्रतिशतले र अमेरिकी डलरमा २९.२ प्रतिशतले रेमिट्यान्स बढेको छ।
यसअघि एकै महिनामा उच्च रेमिट्यान्स गएको असारमा १ खर्ब ८९ अर्ब रुपैयाँ भित्रिएको थियो। गएको महिना भदौमा भने १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भइ ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा ११.९ प्रतिशतले बढेको थियो।
२०८१ असोज महिनामा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
गएको असोज महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १ लाख २३ हजार ४ सय ५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २ सय ५७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १० हजार ६ सय ५४ र ५९ हजार ९ सय ३९ रहेको थियो।
अर्थतन्त्रको आकारको तुलनामा उच्च रेमिट्यान्स भित्र्याउने संसारका मुलुकमा शीर्ष १० मा नेपाल पर्दै आएको छ। अर्थतन्त्रको आकारको तुलनामा रेमिट्यान्स आउने क्रम फेरि बढेर विगतको उच्च बिन्दु पार गरेको छ।
एक त अर्थतन्त्रको विस्तार पछिल्लो पाँच वर्षमा सुस्त भयो, अर्कोतिर विदेश काम गर्न जाने नेपालीको संख्या वृद्धि भएको छ। रेमिट्यान्स नेपालका लागि यस्तो उपकरण हो जसको बलमा अहिले विदेशी मुद्राको सञ्चिति २१ अर्ब डलरभन्दा धेरै छ।