काठमाडौं- नेपालको पछिल्लो आर्थिक तथ्यांकले देशको समष्टिगत अवस्थामा सुधारको संकेत गरेको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति १.४७ प्रतिशतमा झरेसँगै मूल्य स्थिर रहेको छ।
विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ। जुन अमेरिकी डलरमा २१ अर्ब २१ करोडबराबर हुन्छ। यस्तो सञ्चिति १६.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड बचतमा रहेर बाह्य क्षेत्रमा सन्तुलन देखिएको छ। वैदेशिक आयको प्रमुख स्रोत मानिने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५.४ प्रतिशत र अमेरिकी डलरमा २९.२ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्र २ खर्ब १ अर्ब २२ करोड विप्रेषण भित्रिएको छ।
व्यापार क्षेत्रमा समेत सुधार देखिँदैछ। निर्यात ८९.६ प्रतिशतले र आयात १९.८ प्रतिशतले बढेका छन्। नेपाल सरकारको कुल खर्च ३ खर्ब ६४ अर्ब ५९ करोड पुगेको छ भने राजस्व संकलन र २ खर्ब ४९ अर्ब ५ करोडमा सीमित छ।
मुद्राप्रदाय ३.२ प्रतिशतले विस्तार भएको छ भने वार्षिक बिन्दुगत आधारमा यो वृद्धि १२.२ प्रतिशत पुगेको छ। बैंक तथा वित्तीय संस्थाका निक्षेप ३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाह भएको कर्जा १.५ प्रतिशतले बढेका छन्। वार्षिक बिन्दुगत निक्षेप वृद्धिदर १३ प्रतिशत र कर्जा वृद्धिदर ७.३ प्रतिशत रहेको छ।
अन्तरबैंक बजारमा कारोबार हुने ब्याजदर २.५८ प्रतिशत कायम छ। ९१ दिने अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.९१ प्रतिशत पुगेको छ। वाणिज्य बैंकहरूको निक्षेपमा भारित औसत ब्याजदर ३.८५ प्रतिशत र कर्जामा ७.५० प्रतिशत रहेको छ।